१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)
अ अ+ अ-

काठमाडौँ, १७ असोजः जलवायु परिवर्तनको असरले आक्रान्त पीडितहरूले सरकारले निर्माण गरिरहेको नयाँ जलवायु नीतिमा ‘जलवायु न्याय’लाई प्राथमिकता दिन माग गरेका छन् ।

कार्बन उत्सर्जनमा नेपालको भुमिका शुन्यप्रायः रहे पनि जलवायु प्रकोपका कारण भोटेकोशी लगायतका क्षेत्रमा भोग्नुपरेको अपूरणीय क्षतिविरुद्ध उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग उत्तरदायित्व र क्षतिपूर्तिको आवाज उठाएका हुन् । नेपालमा बढ्दो जलवायु संकट र त्यसको असर न्युनिकरणका लागि ‘जलवायु न्याय’ को अवधारणालाई राष्ट्रिय नीतिको केन्द्रमा राख्नुपर्ने उनीहरुको माग छ ।

अभियन्ता सुजिता माथेमाले सरकारले तयार गरिरहेको नयाँ जलवायु नीतिमा पीडितको न्याय, वित्त पहुँच र उत्तरदायित्वको सुनिश्चितता हुनुपर्ने बताउनु भयो । नेपालको जलवायु परिवर्तनमा नगण्य योगदान रहेपनि अहिले जलवायुजन्य विपद्को चर्को मूल्य चुकाइरहेको बताउनु भयो । भोटेकोशीमा गत भदौ १० गते आएको संकटलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै अभियन्ता माथेमाले कार्बन उत्सर्जनमा शुन्यप्रायः योगदान रहे पनि नेपालले बढी क्षति व्यहोरिरहेको बताउनु भयो ।

अभियन्ता माथेमाले सरकारले २०८३ सालको जलवायु परिवर्तन नीति ल्याउने तयारी गरिरहँदा त्यसको केन्द्रमा ‘जलवायु न्याय’ लाई राख्न माग गर्नुभयो । जलवायुजन्य विपद्बाट प्रभावित समुदाय र सर्भाइभरहरूको न्याय, अन्तर्राष्ट्रिय ‘ग्रीन क्लाइमेट फण्ड’ को रकम प्रवाहमा भइरहेको ढिलाइ र प्रशासनिक जटिलताको अन्त्य गर्न उहाँले जोड दिनुभयो ।

नेपालमा रहेका २० वटा उच्च जोखिमयुक्त हिमताल विस्फोटको खतराका बीच आठ वर्षको अवधिमा जम्मा २६ प्रतिशत मात्रै जलवायु कोषको सहयोग प्राप्त हुनु चिन्ताजनक रहेको उहाँको भनाइ छ । ‘पोल्युटर मस्ट पे’ (प्रदूषण गर्नेले नै क्षतिपूर्ति तिर्नुपर्ने) को सिद्धान्त लागू गर्दै प्रमुख प्रदूषक मुलुकहरूलाई उत्तरदायी बनाउनु आवश्यक रहेको माथेमाले बताउनु भयो । अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको कुरा उठ्दै आए पनि कार्यान्वयन तहमा देखिएको सुस्तताले नेपालजस्ता मुलुकहरू जोखिममा परेका छन् । त्यसैले, नयाँ नीति निर्माण गर्दा पीडितको आवाजलाई प्राथमिकतामा राखेर मात्र प्रभावकारी जलवायु रणनीति बन्न सक्ने सरोकारवालाहरूको भनाइ छ ।

माथेमाले भन्नुभयो, ‘जलवायु न्याय किन महत्वपूर्ण छ भन्नेकुरा हामीले सार्वजनिक बहसमा ल्याएका छौँ । भोटेकोशीमा देखिएको संकट यसको एउटा उदाहरण हो । जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भएपनि यसको मूल्य हामीले ठूलो रूपमा चुकाइरहेका छौँ । त्यसैले जलवायु न्यायको केन्द्रमा वित्तको सवाल पनि जोडिन्छ । अहिले हामी तीनवटा मुख्य माग अघि सारेका छौँ । पहिलो, जलवायुजन्य विपद्का प्रभावित तथा अग्रमोर्चाका समुदाय र बाँचेकाहरूका लागि न्याय । दोस्रो, जलवायु वित्त सहज र शिघ्र रूपमा नेपालमा पुग्नुपर्ने । ग्रीन क्लाइमेट फन्डबाट हालसम्म करिव २६ प्रतिशत मात्र रकम नेपालमा आएको र त्यो पनि ग्लेसियर लेक आउटबस्र्ट फ्लडसँग सम्बन्धित रहेको अवस्थामा प्रक्रिया थप प्रभावकारी बनाउन आवश्यक छ । तेस्रो, प्रदूषकहरूलाई उत्तरदायी बनाउँदै पोल्युटर पेजको सिद्धान्तअनुसार क्षति र नोक्शानीको जिम्मेवारी लिन लगाउनुपर्ने । सरकारले २०८३ मा जलवायु परिवर्तनसम्बन्धी नीति ल्याउने तयारी गरिरहेको सन्दर्भमा, यी तीनवटै विषयलाई केन्द्रमा राखेर जलवायु न्याय सुनिश्चित गर्ने नीति आवश्यक छ । यही कुरा आम जनतासम्म पु¥याउन हामीले यो विषय सार्वजनिक बहसमा ल्याएका हौँ ।’

विपद्ले घरबार र आफन्त गुमाएका पीडितहरूले आफूहरूलाई दया नभई न्यायको खाँचो रहेको बताए । रसुवाकी सोनिया स्याङ्बोले राज्यको दायित्व र नागरिकको सुरक्षाको प्रश्न उठाउँदै ज्येष्ठ नागरिक र टुहुरा बालबालिकाहरूका लागि विशेष सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले राज्यका तर्फबाट असहाय र जोखिममा रहेका वर्गको जीवनस्तर उकास्न तत्काल ठोस पहल हुनुपर्नेमा जोड दिनुभयो । समाजका अति संवेदनशील मानिने ज्येष्ठ नागरिक र टुहुरा बालबालिकाहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्याङ्बोले आमाबुवा समान ज्येष्ठ नागरिक र संरक्षणविहीन टुहुरा बालबालिकाहरूको उचित हेरचाह राज्यको प्रमुख कर्तव्य भएको बताउँदै उनीहरूको हकहितका लागि सरकारले अग्रसरता देखाउन आवश्यक रहेको बताउनु भयो ।

नेपालको संविधानले पनि सामाजिक न्याय र सुरक्षाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । यद्यपि, व्यवहारमा अझै पनि धेरै ज्येष्ठ नागरिकहरू आधारभूत सेवाबाट वञ्चित छन् भने टुहुरा बालबालिकाहरूले उचित संरक्षण र शिक्षाको अवसर पाउन सकेका छैनन् । दुर्गम क्षेत्रमा बस्ने ज्येष्ठ नागरिक र सहाराविहीन बालबालिकाको अवस्था झन् दयनीय रहेको छ । स्थानीय सरकार र केन्द्र सरकारबीचको समन्वयमा उनीहरूका लागि आवास, स्वास्थ्य उपचार र शिक्षाको समुचित व्यवस्था गर्नसके मात्रै लोककल्याणकारी राज्यको अवधारणा सार्थक हुने सरोकारवालाहरू बताउँछन् ।
उहाँले भन्नुभयो, ‘वृद्धवृद्धा आमाबुवाका लागि राज्यले आवश्यक सहयोग र संरक्षणको व्यवस्था गरिदिनुपर्छ । साथै, बुबाआमा दुवै गुमाएका टुहुरा बालबालिकाको संरक्षण, शिक्षा र भविष्य सुनिश्चित गर्न सरकारले विशेष पहल गर्नुपर्छ ।’

धादिङकी प्रतिमा घलानले विश्वव्यापी जलवायु परिवर्तनको असरका कारण नेपालले भोग्नुपरेको विनाशकारी बाढी र विपद्को जिम्मेवार को भन्ने प्रश्न गर्नुभयो । कार्बन उत्सर्जनमा नेपालको भुमिका १ प्रतिशतभन्दा कम रहेपनि जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परिरहेको बताउनु भयो । बाढीका कारण आफ्नो परिवार र प्रियजन गुमाएका पीडितहरूको पक्षमा उभिँदै उहाँले नेपालजस्ता मुलुकहरूले जलवायु परिवर्तनको विनाशकारी परिणाम भोगिरहेका तर यसको मुख्य कारक औद्योगिक र विकसित राष्ट्रहरू भएको बताउनु भयो । विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले उनीहरूको आत्माले आज ‘जलवायु न्याय’ मागिरहेको बताउनु भयो ।

उहाँले जलवायु न्यायको माग गर्दै उपस्थित सरोकारवाला र विश्वभरका नीति निर्माताहरूलाई गम्भीर भएर सोच्न आग्रह गर्नुभयो । नेपालले जलवायु परिवर्तनको असर न्युनिकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै आएपनि स्थानीय स्तरमा पीडितले भोग्नुपरेको क्षति र अन्यायका बारेमा यस्ता आवाजले थप गम्भीर बहसको खाँचो रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनका कारण आएको यो विनाशकारी बाढीमा हाम्रो कुनै भुमिका छैन, हामीले यसका लागि केही गरेका छैनौँ । कार्बन उत्सर्जनमा हाम्रो योगदान १ प्रतिशतभन्दा पनि कम छ, तर यसको सबैभन्दा ठूलो मूल्य हामीले किन चुकाउनुपरिरहेको छ ? यसको जवाफ हामी चाहन्छौँ । यहाँ जलवायु न्यायका लागि उपस्थित सम्पूर्ण महानुभावहरू र हामी सबैका लागि जलवायु न्याय आवश्यक छ । आफ्ना प्रियजन गुमाउनुभएकाहरूको पीडा र उहाँहरूको आत्माले आज न्याय मागिरहेको छ । त्यसैले हामी जलवायु न्यायको माग गर्छौं ।’

जलवायु परिवर्तनको असरले आक्रान्त नेपालको प्रतिनिधित्व गर्दै अभियन्ता विष्णु खनालले विश्व समुदायसामु न्यायको माग गर्नुभयो । कविता प्रश्तुत गर्दै खनालले प्रकृति दोहनबाट हुने समृद्धिको लाभ शक्तिशाली राष्ट्रहरूले लिइरहँदा त्यसको मूल्य गरिब राष्ट्र र समुदायले चुकाउनुपरेको भन्दै उहाँले जलवायु न्यायको पक्षमा सशक्त आवाज उठाउन आवश्यक रहेको बताउनु भयो । जलवायु परिवर्तनका कारण नदीले घर बगाएका, पहिरोले खेत पुरिएका र भविष्य खोसिएका प्रभावितहरूको पीडा अब तथ्याङ्कमा सिमित हुनु नहुने खनालको जोड छ । उहाँले दया र आँशुले समस्याको समाधान नदिने बताउँदै यो केवल मानवीय सहायताको प्रश्न नभई जिम्मेवारीको मुद्दा भएको स्पष्ट पार्नुभयो । औद्योगिक राष्ट्रहरूको समृद्धि र त्यसबाट सिर्जित प्रदूषणको भार गरिब मुलुकहरूले बोक्नु परिरहेको भन्दै उहाँले हानि र नोक्शानीको वित्तको अवधारणालाई कृपाका रूपमा नभई दायित्वका रूपमा हेर्नुपर्ने बताउनु भयो ।

‘धुवाँ कहाँबाट उठ्यो ? लाभ कहाँ थुप्रियो ? र मूल्य कहाँ तिरियो ? भन्दै खनालले इतिहासले यि प्रश्नहरु सोध्ने बताउनु भयो । आजको विकसित विश्वले यि प्रश्नहरु पन्छाउन खोजिरहेको उहाँको आरोप छ । उहाँकाअनुसार यदि पृथ्वी साझा हो भने यसको संरक्षण र यसबाट सिर्जित घाउको उपचार पनि साझा जिम्मेवारी हुनुपर्छ । 

अभियन्ता विष्णु खनालको कविता छ, ‘हामीलाई दया होइन, न्याय चाहिएको छ । दया क्षणभरको छाया हो, तर न्यायले घाउमा मलम लगाउँछ । जसको घर नदीले लग्यो, जसको खेत पहिरोले पु¥यो, जसले आफ्ना प्रियजन गुमाए, उनीहरूको पीडा तथ्याङ्क होइन । उनीहरूको आँशु कुनै सम्मेलनको फुटनोट होइन । जलवायु परिवर्तनमा हाम्रो योगदान नगण्य छ तर यसको मूल्य हामीले ठूलो रूपमा चुकाइरहेका छौँ । हिमाल पग्लिरहेको छ, नदी उर्लिरहेको छ, बस्ती र जीवन बगिरहेको छ । त्यसैले हाम्रो प्रश्न स्पष्ट छ,धुवाँ कहाँबाट उठ्यो, लाभ कसले लियो र मूल्य कसले तिरिरहेको छ ? हामी प्रतिशोध होइन, उत्तरदायित्व मागिरहेका छौँ । हानि भयो भने सहारा, घर ढल्यो भने पुनर्निर्माण र भविष्य संकटमा प¥यो भने त्यसलाई उठाउने स्रोत चाहिन्छ । हानि र नोक्शानीको वित्त कृपा होइन, न्याय र उत्तरदायित्वको प्रश्न हो । नेपाल सानो होला, तर हाम्रो पीडा सानो छैन । त्यसैले आजको हाम्रो आवाज एउटै छ,हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ ।’

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले एकै क्षणमा जनजीवन अस्तव्यस्त बनायो । एक्कासी आएको बाढीले घरबारी बगाउँदा सिर्जित त्रासदी र आफ्ना गुमाउनुको पीडा एञ्जल विश्वकर्मालाई सैतानको रुप लागेको छ । भोटेकोशीको बहावसँगै आएको विपत्तिले स्थानीय बासिन्दाको खुशी र सपनालाई एकै पलमा खरानी बनाइदियो । एकाएक उर्लिएर आएको बाढीले न त सम्हालिने मौका दियो, न त सुरक्षित स्थानमा सर्ने समय नै । बाढीका कारण आफ्नो सर्वस्व गुमाएका पीडितहरूका लागि यो एउटा नसोचेको त्रासदी बनेको छ । भोटेकोशीको सुस्केरामा अझै पनि हराएका आफन्तका सम्झनाहरू अल्झिरहेका छन् । जसले पीडित परिवारमा गहिरो घाउ दिएको छ । तत्कालका लागि आँशु नथामिए पनि भोलिको नयाँ बिहानीसम्म सिङ्गो शहर र समुदाय पीडितहरूको साथमा रहेको उहाँले बताउनु भयो ।

एक्कासी आएको बाढीले घरबारी बगाउँदा सिर्जित त्रासदी र आफ्ना गुमाउनुको पीडालाई एञ्जल विश्वकर्माले कवितामार्फत प्रश्तुत गर्नुभयो ।
एञ्जल विश्वकर्माको कविता छ–‘ त्यो यसरी आयो–बगेर होइन, उडेर आयो । 

एकै पलमा सास थुन्ने गरी आयो ।
न आफ्नो बारी सोच्ने मौका दियो,
न आफ्नाको–यसरी आयो, सैतानझैँ आयो ।
त्यो अँध्यारो दिन, त्यो ठूलो गर्जन,
शुन्यता र बिदाइका शब्दबिनाको बिछोड ।
आँगन रित्तो छ, मन भत्केको छ,
भोटेकोशीको सुस्केरामा अझै अल्झिएको छ सम्झना ।
लाग्छ, अब सबै सिद्धियो ।
तर हेर, यो दियोको मधुरो प्रकाश–
तिमी एक्लो छैनौ ।
आँशु अहिले थामिने छैन,
तर भोलिको नयाँ बिहानीसम्म
यो शहर तिम्रो साथमा छ ।’

सरोकारवालाहरूले ‘प्रदूषकले तिर्नुपर्छ’ को मान्यतालाई कार्यान्वयन गर्दै जलवायु नीतिलाई स्थानीय पीडितमैत्री बनाउन सरकारसँग आग्रह गरेका छन् । –न्युज एजेन्सी नेपाल