काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका–१३ सिउनास्थित हेर्ने भिरको ओडारबाट प्रहरीले ३ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
बिहीबार बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय रग्दा, जाजरकोटबाट खटिएको प्रहरी टोलीले ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार बरामद भएका बन्दुकमध्ये दुई थान साबुत अवस्थामा छन् भने एक थानको बट र नाल छुट्टिएको अवस्थामा फेला परेको छ।
बरामद बन्दुकहरूलाई रीतपूर्वक नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रग्दामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








