काठमाडौँ। काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म कार्ययोजना तयार गर्ने भएको छ ।
विगतका वर्षमा महानगरपालिकाले स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाट सञ्चालन हुने खोप कार्यक्रमको मात्र सुक्ष्म कार्ययोजना तयार गर्ने गरेको थियो ।
जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका स्थानीय स्रोत व्यक्ति मैयाँ सैँजुका अनुसार यस वर्षदेखि भने महानगरपालिका आफैँले नियमित खोप कार्यक्रम तथा खोपबाट बचाउन सकिने रोग खोज्ने र समीक्षा गर्दै नयाँ खोप तथा रोगका बारेमा जानकारी, सरसफाइ प्रवर्द्धन तथा सुक्ष्म कार्ययोजना अद्यावधिक गर्ने छ ।
कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ । कार्यक्रम मङ्गलबारदेखि महानगरपालिकाभित्र सञ्चालित खोप प्रदायक संस्थाका खोपकर्तालाई सहभागी गराएर कार्यक्रम सुरु गरिएको छ । नियमित खोप सेवाको पहुँच बढाउँदै खोपबाट छुटेका तथा पूर्ण खोप नपाएका बालबालिकाको पहिचान गर्ने सेवा सुनिश्चित गर्ने कार्यशालाको उद्देश्य हो । कार्यशालाबाट स्वास्थ्य संस्थाबाट प्रदान गरिने खोपसम्बन्धी तथ्याङ्क, खोप कभरेज, ड्रपआउट, खोप खेर जाने दर सेवा पहुँचको अवस्थालाई विश्लेषण गरी वडादेखि महानगरस्तरीय योजना तयार पारिनेछ ।
आव २०८२/८३ को खोप तथ्याङ्कअनुसार महानगरपालिकामा अधिकांश खोपको कभरेज लक्षित जनसङ्ख्याको तुलनामा १०० प्रतिशतभन्दा माथि देखिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका जनस्वास्थ्य अधिकृत प्रविना कर्माचार्यका अनुसार महानगरपालिकामा बिसिजीको कभरेज ३१८.९६ प्रतिशत, डिपिटी–हेपबी–हिब पहिलो मात्रा १३२.७५ प्रतिशत र तेस्रो मात्रा १३३.०२ प्रतिशत देखिएको छ ।
पोलियो पहिलो मात्रा १३३.०२ प्रतिशत, पिसिभी पहिलो मात्रा १३२.८८ प्रतिशत, एमआर पहिलो मात्रा ११४.२७ प्रतिशत एमआर दोस्रो मात्रा ११०.९४ प्रतिशत छ । यही तथ्याङ्कमा पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको अनुपात ७२.०८ प्रतिशत मात्र देखिएको छ । यसले लक्षित जनसंख्या निर्धारण, सेवाको उपयोग, अभिलेख तथा रिपोर्टिङ र वास्तविक रूपमा पूर्ण खोप पाएका बालबालिकाको अवस्थालाई थप सुक्ष्म रुपले विश्लेषण गर्नुपर्ने देखाएको छ ।
कार्यक्रमको विश्लेषणमा कभरेजसँगै ड्रपआउट, खोप नपाएका बालबालिकाको सङ्ख्या, खोप खेर जाने दर, पहुँच र उपयोगलाई प्रमुख सूचकका रूपमा लिनुपर्ने स्रोत व्यक्ति सैँजुले बताउनुभयो ।
कार्यक्रमले कुन बालबालिका छुटे, किन छुटे, कुन क्षेत्रमा पहुँच कमजोर छ पहिलो मात्रा लिएपछि किन पछिल्ला मात्रा लिन आएनन् तथ्यमा आधारित उत्तर खोज्नुपर्नेमा जोड रहने छ । रासस








