१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती
फाइल फोटो
अ अ+ अ-

हङकङ। अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सोमबार सार्वजनिक गरेका छन् । यसले दुई देशबीचको व्यापारिक सम्बन्ध सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको केही दिनपछि यो विवरण सार्वजनिक भएको हो । गत वर्ष कुनै समय चीनबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार दर १४५ प्रतिशतसम्म पुगेको थियो । पछिल्लो समय दुई देशबीचको तनाव कम हुँदै गएपछि अमेरिकाले चीनमाथिको केही भन्सार दर घटाइसकेको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग सुदृढ गर्न सहयोग पुग्ने जनाएको छ । चीनले अमेरिकाबाट आयात गर्ने एक हजार ६१९ प्रकारका वस्तु सूचीमा समेटिएका छन् । तीमध्ये कृषि उपज, व्यक्तिगत स्याहारका सामग्री, काठ, चिकित्सा उपकरण र कोइलालगायत छन् ।

त्यस्तै, अमेरिकाले चीनबाट आयात गर्ने ७७ वर्गका वस्तुमा भन्सार कटौती गरिनेछ । यसमा आतिशबाजी, भान्साका भाँडाकुँडा, सिसा तथा काठका क्रिसमस सजावटका सामग्री र फुटबललगायत छन् ।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार ९० प्रतिशतभन्दा बढी वस्तुमा ‘मोस्ट फेभर्ड नेसन’ अर्थात् सबैभन्दा प्राथमिकता प्राप्त राष्ट्रको स्तरको भन्सार दर कायम गरिनेछ । यसले सम्बन्धित देशका लागि लगाइएका अतिरिक्त भन्सार दर अधिकांशतः हट्ने जनाइएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सूचीमा दुवै पक्षका गैरसंवेदनशील वस्तु समेटिएको बताउनुभयो । उहाँका अनुसार नयाँ व्यवस्थाबाट अमेरिकी किसान, उत्पादक, व्यवसायी र श्रमिकले चीनको बजारमा थप पहुँच पाउन सक्नेछन् ।

दुवै देशले आवश्यकताअनुसार सूचीमा संशोधन गर्न सकिने सहमति गरेका छन् । तर यस्तो संशोधन बढीमा वर्षमा एकपटक मात्र हुने सम्भावना रहेको बताइएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार कृषि क्षेत्रमा थप सहकार्यका लागि दुवै देश सहमत भएका छन् । तर चिप, विद्युतीय सवारीसाधन र ब्याट्रीजस्ता रणनीतिक महत्वका क्षेत्र भने सम्झौतामा समेटिएका छैनन् ।

द्विपक्षीय व्यापार बढ्ने अपेक्षा

आइएनजी बैंकका ग्रेटर चाइना क्षेत्रका प्रमुख अर्थशास्त्री लिन सङले भन्सार कटौतीले दुई देशबीचको व्यापारमा उल्लेखनीय वृद्धि हुन सक्ने बताउनुभयो । चीनबाट अमेरिका निर्यात हुने उपभोक्ता सामग्रीमा बढी ध्यान दिइएकाले अमेरिकी उपभोक्तालाई पनि लाभ पुग्न सक्ने विश्लेषकको भनाइ छ ।

फ्रान्सेली बैंक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीका अनुसार चीनबाट आयात हुने उपभोक्ता सामग्रीमा भन्सार घट्दा अमेरिकी मुद्रास्फीति नियन्त्रणमा समेत सहयोग पुग्न सक्छ । यसबाट चिनियाँ कम्पनीलाई अतिरिक्त उत्पादन निर्यात गर्ने अवसर पनि बढ्न सक्छ ।

यद्यपि, केही विश्लेषकले दुवैतर्फ करिब ३० अर्ब डलर बराबरको कारोबार समेटिएको भए पनि यसको समग्र आर्थिक प्रभाव सीमित हुन सक्ने बताएका छन् ।

बीएनपी पारिबास वेल्थ म्यानेजमेन्टका एसियाली क्षेत्रका प्रमुख लगानी अधिकृत प्रशान्त भयानीका अनुसार यस वर्षको पहिलो सात महिनामा अमेरिकाबाट चीनतर्फ करिब ६८ अर्ब डलर बराबरका वस्तु निर्यात भएका छन् । पहिलो आठ महिनामा चीनबाट अमेरिकातर्फको निर्यात करिब २७० अर्ब डलर पुगेको छ ।

चीनको व्यापार बचत उच्च रहने अपेक्षा

गत वर्ष चीनको व्यापार बचत कीर्तिमानी एक दशमलव दुई ट्रिलियन डलर पुगेको थियो । यस वर्ष अगस्टसम्ममा यस्तो बचत करिब ८०० अर्ब डलर पुगेको विश्लेषकहरूले बताएका छन् ।

अमेरिकाले औद्योगिक क्षमताको अधिकतासम्बन्धी अनुसन्धानअन्तर्गत चीनसहित १६ व्यापारिक साझेदारमाथि छानबिन गरिरहेको छ । अनुसन्धानपछि चीनमाथि थप भन्सार लगाउन सक्ने सम्भावना पनि रहेको छ ।

यसैबीच, अमेरिका र चीनले गत साता व्यापक व्यापार युद्धविरामको अवधि थप दुई महिना लम्ब्याउने सहमति गरेका थिए । आगामी नोभेम्बरमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलन र डिसेम्बरमा जी–२० शिखर सम्मेलनमा ट्रम्प र सीबीच थप भेटवार्ता हुने अपेक्षा गरिएको छ ।

दक्षिण चीनमा क्रिसमस सजावटका सामग्री उत्पादन गरी अमेरिका निर्यात गर्ने केही चिनियाँ व्यवसायीले नयाँ भन्सार व्यवस्थाको स्वागत गरेका छन् । यद्यपि, यस वर्षका अधिकांश क्रिसमस सामग्री मुख्य सिजनअघि नै ढुवानी भइसकेकाले तत्काल यसको प्रभाव सीमित हुन सक्ने उनीहरूको भनाइ छ ।  (रासस\एपी)