१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

भ्रूणहत्या रोक्न कस्सिए छोरीका आमाहरू

भ्रूणहत्या रोक्न कस्सिए छोरीका आमाहरू
अ अ+ अ-

देउखुरी । घोराही–१५ की एक महिलाका तीन छोरी छन् । पहिलो छोरी जन्मिँदासम्म घरपरिवार  लक्ष्मीको आगमन भएको भनेर खुशी भए । दुई वर्षका फरकमा अर्की छोरीको जन्म भयो, त्यसपछि उहाँलाई घरपरिवार र छरछिमेकीले फेरि पनि छोरी पाई भनेर अलि फरक व्यवहार गर्न थाले ।

अर्को दुई वर्षपछि उहाँको पुनः गर्भ रह्यो । सन्तान पेटमा आएपछि उहाँले जन्माउने विचार गर्नुभयो तर घरपरिवारले गर्भ हेरेर छोरी भए फाल्ने र छोरा भए राख्ने सल्लाह दिए तर उहाँले छोरा, छोरी जे भए पनि जन्माउने विचार गर्नुभयो, छोरी नै जन्मिन् ।  तेस्रो सन्तान छोरी जन्मिँदा उहाँलाई सासूससुराले विभिन्न लाञ्छना लगाएको उहाँलाई ताजैजस्तो लाग्छ । “श्रीमान्ले कहिल्यै नराम्रो गर्नुभएन”, उहाँले भन्नुभयो, “घोराहीमा स्थापना भएको ‘सामाजिक रुपान्तरणका लागि महिला मञ्च’ मा आबद्ध भएपछि घरपरिवारले गर्ने व्यवहार नै फरक पाएँ ।” आफ्नो वंश नाश हुने जनाउँदै दोस्रो बिहे गर्न दबाब दिने सासूससुराको धारणामा पनि परिवर्तन आएको उहाँ बताउनुहुन्छ । अहिले उहाँकी जेठी छोरी अमेरिकामा छिन् भने माहिली छोरी दाङमै नर्सिङ अध्ययन गर्दैछिन् । कान्छी १० मा पढ्दैछिन् । छोरा र छोरीबीच विभेद नगरी समान अवसर दिइएकाले छोरीहरु अगाडि बढ्न सकेको उहाँ बताउनुहुन्छ ।
    
घोराही उपमहानगरपालिका–६ की २५ वर्षीया सुशीला चौधरीले चार पटक  गर्भपतन गराउनभयो । दुई छोरी पाएपछि अर्को पनि छोरी हुने डरले गत मङ्सिरमा उहाँ मेरी स्टोप्स सेन्टरमा गर्भपतन गराएर फर्किनुभयो । दुई छोरी जन्माइसक्नुभएका सुशीलाले अर्को सन्तान पनि छोरी हुने डरले यसो गरिएको बताउनुभयो । पहिलो पटक गर्भपतन गर्दा खासै असर नभए पनि दोस्रो पटकमा भने गर्भपतनपछि अत्यधिक रक्तस्राव भएको थियो ।

“हामीलाई(छावा)छोरा चाहिएको थियो, बजार गएर मेसिनमा हेर्‍यौँ, (छाइ) छोरी  रैछ, फालेर आयौँ” उहाँले भन्नुभयो । श्रीमान्सँगै स्वास्थ्य संस्था पुग्नुभएका चौधरीले श्रीमान्को सहमतिमा गर्भपतन गराइएको बताउनुभयो । श्रीमान् घरको एक्लो छोरा भएको र उहाँले जसरी भए पनि छोरा चाहिन्छ भनेर कर गरेकाले पटकपटक गर्भ परीक्षण गर्दै छोरी देखिएपछि गर्भपतन गराइएको उहाँले स्विकार्नुभयो । गर्भपतनबाट सुशीलाको शरीर कमजोर भइसकेको छ, जिउमा हाड र छाला मात्र बाँकी छ तर पनि श्रीमान्ले छोरा जन्माउने आशा अझै मारेका छैनन् ।  
    
घोराही –१४  २६ वर्षीया अर्की महिलाले गत वर्ष भारतको लखनौमा गएर आफ्नो गर्भपतन गराउनुभयो । पहिलो सन्तान छोरी थियो । गर्भमा छोरी भएको जानकारी पाएपछि उहाँसँंग उहाँकी आमाले साथमै लगेर  गर्भपतन गराउनुभएको थियो । आमाले नातिको चाहना गर्नुभएकाले उहाँको मनको इच्छा पूरा गर्न गर्भमा छोरी छ भन्ने थाहा पाएपछि गर्भपतन गराइएको उहाँले बताउनुभयो । “हामी चार दिदीबहिनीका छोरी मात्रै छन् । त्यसैले आमाले गर्भपतन गरेर भए पनि नाति चाहिन्छ भनेकाले उहाँको इच्छा पूरा गर्न यसो गरिएको हो । “छोरो पाउने आशा गरेका थियौँ, डाक्टरले छोरी छ भन्यो, अनि फाल्यौँ” उहाँले भन्नुभयो ।
    
दाङलगायत नजिकका जिल्लामा छोरो पाउने आशमा अधिकांश महिलाले गर्भमै छोरीको हत्या गर्न थालेका छन् । आफू मरेपछि किरिया गर्ने, आफ्नो वंश धान्ने र अंश खाने बुढेसकालको सहारा छोरो हो भन्ने जनाउँदै मानिसमा भ्रूण हत्या गर्ने चलन निकै बढेको अधिकारकर्मी सुशीला आचार्यले बताउनुभयो । पछिल्लो समय “छोरी पराइ घर जान्छे, छोरो बुढेसकालको सहारा बन्छ” भन्ने जस्ता सोच र  मान्यता राखेर परिवारको दबाबमा वा आफूखुशी आमाहरूले गर्भमै लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गराउने गरेको उहाँको भनाइ छ । प्रायः दुई वा सोभन्दा धेरै छोरी भएका महिलाले गर्भको पहिचान गर्ने र छोरी भए जन्माउन नचाहने गरेका छन् ।
    
अवसर पाए छोरीहरू छोरा जस्तै काम गर्न सक्छन् र उनीहरू पनि समाजका लागि उत्तिकै जिम्मेवार हुन सक्छन् भनेर सचेतना जगाई भ्रूणहत्या रोक्न दाङमा चार वर्षअघि छोरीका आमाहरूको समूह नै गठन भएको छ । छोरी पाएकै कारण समाजमा आउने विभिन्न लाञ्छना र विभेदविरुद्ध आवाज उठाउन ‘सामाजिक रुपान्तरणका लागि महिला मञ्च’ नामको संस्था ३२ आमाको संलग्नतामा खोलिएको हो । छोरीका आमाहरूको आत्मबल बढाउन र छोरीको महत्वका बारेमा छलफल गर्नका लागि समूह खोलिएको संस्थाका संस्थापक अध्यक्ष गोमा महराले जानकारी दिनुभयो ।
    
छोरी मात्रै जन्माएका आमा सङ्गठित भएमा परिवार र समाजबाट आउने दबाबविरुद्ध आवाज उठाउन सजिलो हुने हुनाले  समूह गठन गरिएको दुई छोरीका आमा महराले बताउनुभयो । मञ्चमा प्रत्येक महिना बैठक बसेर आमाहरूका गुनासा र समस्याका बोरमा छलफल हुन्छ । छोरी छोराभन्दा कम छैनन् र सन्तान बराबरी हुन् भन्ने सन्देश दिइने र  लिङ्ग पहिचान गरेर गर्भपतन गर्नुहुँदैन भन्नेबारेमा छलफल हुने गरेको अधिवक्ता महराले बताउनुभयो । “आमाहरू नै सक्रिय भएर छोराछोरीमा  विभेद गर्नुहुँदैन भन्ने ज्ञान बाँड्न थालेका छौँ”, उहाँले भन्नुभयो ।  पढेलेखेकाहरुले पनि छोरा र छोरीमाथि विभेद गर्दा छोरीहरू जन्मिन नपाउँदै गर्भमा मर्ने गरेको अवस्था थियो । गर्भमा भ्रूण राख्ने आमाहरू अब परिवार वा समाजमा आउने विभिन्न खालका आरोप र अपमान सामना गर्न सक्ने भएका छन् ।
    
छोरी मात्रै भएका परिवारलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकाले सङ्गठित रुपमा आवाज उठाउँदा सुनुवाइ हुने देखेर  मञ्च स्थापना गरिएको संस्थाका सचिव सुविता आचार्यले बताउनुभयो । संस्थाको स्थापनापछि कुनै सदस्यलाई समस्या परेका बेला सबै मिलेर आआफ्ना क्षेत्रबाट सहयोग गर्ने गरेको र लैङ्गिक समानताका विषयमा बेलाबेलामा कक्षा पनि सञ्चालन गर्ने गरिएको दुई छोरीकी आमा उहाँले बताउनुभयो ।   
    
वरिष्ठ स्टाफ नर्स राधा पौडेल भन्नुहुन्छ, “छोराको चाहनामा पटकपटक गर्भपतन  गर्ने महिलाको सङ्ख्या दिनदिनै बढेको छ, पटकपटक गर्भपतन गर्दा महिलाको स्वास्थ्यमा गम्भीर असर देखिएको छ । पाठेघरमा घाउ हुने, अत्यधिक रक्तश्राव हुने र पाठेघर पातलो भएर तल झर्ने जस्ता गम्भीर समस्या लिएर महिलाहरू स्वास्थ्य संस्थामा आउने गरेका छन् । धेरै महिलाले आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर परिवारको दबाबमा परी गर्भपतन गराउने गरेका छन् ।” छोरालाई प्राथमिकता दिँदा छोरीहरू गर्भमै मारिने गरेकामा पौडेलले चिन्ता व्यक्त गर्नुभयो । “महिलाहरू आफ्नो स्वास्थ्य जोखिममा राखेर जीवनमरणको अवस्थामा पुग्ने गरेका छन्”, पौडेलले भन्नुभयो ।
    
एक ठाउँमा भिडियो एक्सरे गर्ने र अर्का ठाउँमा गएर गर्भपतन गर्ने गरेको नेपाल परिवार नियोजन सङ्घ दाङका डा अमित लामगादे बताउनुहुन्छ । सङ्घमा सेवा लिन आउनेहरुले गर्भपहिचान गरेको कुरा लुकाउने गरेको उहाँको भनाइ छ। अनिच्छित गर्भ रहेमा आफूखुशी औषधि किनेर खाँदा सन्तान आधा निस्कने र आधा भित्रै रहेर रगतका धारा बगाउँदै अवस्थामा सङ्घमा आउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार पटकपटक गर्भपतन गर्दा पाठेघरमा घाउ हुने, सङ्क्रमण हुने  र निरन्तर रक्तश्राव हुने जस्ता जोखिम लिएर परिवार नियोजन कार्यालयमा महिलाहरू आउने गरेका छन् ।
    
घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देलले गर्भमा भएको सन्तानको लिङ्ग पहिचान गरेर गर्भपतन गरेको कुनै पनि घटनाको उजुरी आफूकहाँ नपरेको जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिगत गोपनीयता हो या कुन कारण हो, यस्ता घटना समितिमा आएको छैन । उपमहानगरपालिकामा रहेका टोल समिति र आमा समूहलाई लैङ्गिक समानतासम्बन्धी तालिम दिने गरिएको उहाँले बताउनुभयो । “छोरा र छोरीका बीचमा विभेद गर्नुहुँदैन र छोरीलाई पनि छोरासरह समान अवसर दिनुपर्छ भन्ने सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौंँ”,  न्यायिक समितिका संयोजक सिग्देलले भन्नुभयो  । आफू उपप्रमुख भएको चार वर्षमा लिङ्ग पहिचान गरेर गर्भपतन गरेको घटना समितिमा दर्ता नभएका कारण यससम्बन्धी कुनै नीति कार्यक्रम र योजना नबनाइएको उहाँको भनाइ छ ।
    
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन, २०७५ ले गर्भवतीलाई गर्भको लिङ्ग पहिचान गर्न त्रास देखाई वा करकाप गरी, धम्की दिई वा ललाइफकाई  प्रलोभन वा  अनुचित प्रभाव र झुक्यानमा पारी, जोरजुलुम गरेर दबाबमा पार्न नहुने व्यवस्था गरेको छ । यदि यस्तो गरेमा मुलुकी अपराधसंहिता २०७४ ले गर्भको अवधिअनुसार एक वर्षदेखि पाँच वर्षसम्मको कैद सजाय र रु  १० हजारदेखि रु ५० हजारसम्मको जरिवाना ताकेको छ ।
    
मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट दाङमा आर्थिक वर्ष २०७७/०७८मा २० वर्षमुनिका २९३ जनाले सुरक्षित गर्भपतन गरेका छन् । तीमध्ये १३२ महिलाले औषधिबाट गर्भपतन गरेको तथा  १६१ जनाले औजारको प्रयोग  गरेको जनाइएको छ ।  बीस वर्षमाथिका दुई हजार ५३ जनाले सुरक्षित गर्भपतन गरेका छन् । तिनमध्ये एक हजार १७२ ले औषधिबाट गर्भपतन गरेको तथा  ८८१ जनाले औजार प्रयोग गरेका छन् । यसरी एक वर्षमा दुई हजार ३४६ जनाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय  दाङले जनाएको छ ।
     
चार वर्षका अवधिमा परिवार नियोजन सङ्घका सम्पर्कमा आई गर्भपतन गराउने दुई हजार ७८६ छन् ।  तिनमध्ये औजारको प्रयोग गर्नेमा एक हजार १९० तथा औषधि प्रयोग गर्ने एक  हजार ५९६ छन् । परिवार नियोजन सङ्घ दाङमा चालु आव २०७७/०७८ मा  ४८७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तिनमध्ये बीस वर्षमुनिका ३५ र २० वर्षमाथिका ४५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएको प्रबन्धक वसन्त खनालले जानकारी दिनुभयो । राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा चार वर्षसम्मका बालक १३ लाख १४ हजार ९५७ तथा बालिका १२ लाख ५३ हजार ६ छन् । (रासस, रञ्जिता अधिकारी)