स्याङ्जा। कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ ।
चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो ।
विद्युत् उत्पादन सुरु गर्न लागिएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए ।
“कालीगण्डकी नदीमा पानीको उच्च बहाव भएकाले जोखिम हुन नदिनका लागि उत्पादन नै बन्द गरेका हौँ,” उहाँले भन्नुभयो, “अहिले नदीमा पानीको सतह घट्दै गएकाले अब सुरुङभित्र रहेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर सुचारु गर्ने तयारी गरेका छौँ ।”
प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरेकाले आज बिहान १०ः०० बजेदेखि उत्पादन सुरु गर्न सकिने भएको उहाँले बताउनुभयो । कालीगण्डकी नदीमा बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो । आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।
चार दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजार डुबानमा परेको छ । सेतीवेणी बजारका २६ घरका मानिसलाई नजिकैको विद्यालयमा राखिएको छ । यसैगरी, आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएर लगेको थियो । रासस








