काठमाडाैँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश गरिएको छ ।
समितिको मंगलवार बसेको बैठकमा समिति सचिव दशरथ धमलाले विधेयकको प्रतिवेदन मस्यौदा तयार पारी समिति सभापति ओजस्वी शेरचनलाई बुझाउनुभएको हो । समितिले दिएको निर्देशन अनुसार प्रतिवेदन तयार पारेको समिति सचिव धमलाले बताउनु भयो । समिति सचिवालयले सम्बन्धित निकाय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी मस्यौदा तयार गरेको उहाँको भनाई छ ।
उहाँले समितिको छलफलका क्रममा उठेका विषय तथा सभापतिबाट निष्कर्षका रूपमा प्रश्तुत भएका निर्णयलाई प्रतिवेदनमा समेटिएको जानकारी दिनुभयो । उहाँले सचिवालयले विधेयकमा एउटा नयाँ परिच्छेद र चारवटा दफा थप गरेको र एउटा दफा हटाएको उहाँले बताउनु भयो ।
उहाँका अनुसार राष्ट्रिय सभाले विधेयकमा गरेका र समितिले स्वीकार गरिसकेका संशोधनहरू भने प्रतिवेदनमा पुनः समावेश गरिएको छैन । तर राष्ट्रिय सभाको संशोधनमाथि समितिले थप परिमार्जन गरेको अवस्थामा भने त्यस्तो परिमार्जनलाई प्रतिवेदनमा समेटिएको छ । सचिवालयले तयार गरेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदन बुधवारको समिति बैठकमा छलफल गरि पारित गर्ने तयारी गरिएको छ । –न्युज एजेन्सी नेपाल








