काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि बाह्य दबाब र आक्रमण भइरहेका बेला पार्टीभित्रैबाट समस्या सिर्जना गर्ने गतिविधि भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिकूल परिस्थितिको सामना गर्न एमाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा केही व्यक्ति पार्टीभित्रै विवाद र समस्या बढाउनेतर्फ लागेको बताए।
उनले पार्टीभित्रका असन्तुष्टि र मतभेद भए पार्टीको आन्तरिक बैठक तथा छलफलमार्फत समाधान गर्नुपर्नेमा सार्वजनिक रूपमा अभिव्यक्ति दिँदा त्यसले पार्टीलाई कमजोर बनाउने धारणा राखे।
‘यतिबेला हामी एकजुट भएर, एकढिक्का भएर यस प्रतिकूलताको सामना गर्न, हामीमाथिको फाँसीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अघि बढ्नुपर्थ्यो,’ ओलीले भने, ‘तर पार्टीभित्रै केही व्यक्ति र तत्वहरू पार्टीभित्रै समस्या सिर्जना गर्न उद्धत भए । समस्याको सिर्जना गरे।’
ओलीले पार्टीकै जिम्मेवार व्यक्तिहरूले सञ्चारमाध्यममार्फत अध्यक्ष हटाउनुपर्ने वा अध्यक्ष असान्दर्भिक भएको जस्ता अभिव्यक्ति दिनु उचित नभएको बताए।
‘तपाईं पार्टीमा हुनुहुन्छ भने पार्टीमा छलफल गर्नुस् न,’ ओलीले भने, ‘बाहिर गएर जगहँसाइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने, यस प्रकारका क्रियाकलाप हुन हुँदैन।’
उनले पार्टीभित्रका समस्या समाधानका लागि आन्तरिक छलफल र संगठनात्मक प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।








