४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो

भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो
फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाली महिला तथा युवतीलाई विभिन्न प्रलोभनमा भारत पुर्‍याई शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले घटनाको छानबिन अघि बढाएको छ।

मन्त्रालयले घटनामा संलग्नता पुष्टि हुने व्यक्ति तथा सञ्जालमाथि कानूनबमोजिम कारबाही गरिने जनाएको छ। असोज ४ गते जारी विज्ञप्तिमार्फत मन्त्रालयले सञ्चारमाध्यममा प्रकाशित खोजमूलक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयसँग आवश्यक समन्वय गरिसकिएको र सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई छानबिनका लागि निर्देशन दिइएको जनाएको हो।

सञ्चारमाध्यममा प्रकाशित विवरणमा नेपाली महिला तथा युवतीलाई झुटा आश्वासन तथा विभिन्न प्रलोभन देखाएर बिचौलियामार्फत भारत लैजाने र शोषणमा पार्ने गरिएको उल्लेख थियो। मन्त्रालयले ती विवरणलाई प्रारम्भिक सूचनाका रूपमा लिएर घटनाको सत्यतथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाइएको जनाएको छ।

छानबिनका क्रममा सम्बन्धित घटना, व्यक्ति, बिचौलिया, संस्था, सीमा नाका, यात्राको माध्यम तथा सम्भावित आपराधिक सञ्जालबारे अनुसन्धान गरिने मन्त्रालयले जनाएको छ। सम्भावित पीडितको पहिचान र संरक्षण, आवश्यक प्रमाण संकलन तथा संलग्न व्यक्तिमाथि अनुसन्धानका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी रोजगारी, विवाह, अध्ययन, वैदेशिक रोजगारी वा मनोरञ्जनका अवसरको प्रलोभनमा महिला, युवती तथा बालबालिकालाई सीमापार लैजाने र शोषण गर्ने गतिविधिमा संलग्नता पुष्टि भए कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

नेपाली नागरिकलाई सीमापार पुर्‍याउँदैमा नेपालको सरोकार समाप्त नहुने उल्लेख गर्दै मन्त्रालयले त्यस्ता कार्यमा संलग्न व्यक्ति कानुनी कारबाहीबाट उम्कन नसक्ने जनाएको छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यस्ता कार्यलाई गम्भीर कसुरका रूपमा परिभाषित गरेको पनि मन्त्रालयले जनाएको छ।

अनुसन्धान र कारबाहीसँगै सम्भावित पीडितको उद्धार, संरक्षण, सुरक्षित घरफिर्ती तथा पुनर्स्थापनालाई पनि प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ। मानव बेचबिखन नियन्त्रणसम्बन्धी राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार काम गर्न सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट आउने अस्वाभाविक रोजगारी, उच्च आम्दानी, विदेश यात्रा, विवाह, मोडलिङ तथा मनोरञ्जनसम्बन्धी आकर्षक प्रस्तावप्रति सतर्क रहनसमेत आग्रह गरेको छ। वैदेशिक रोजगारी, अध्ययन वा यात्रामा जानुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता यकिन गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ।

त्यस्तै, राहदानी, नागरिकता, बैंक विवरण तथा अन्य व्यक्तिगत कागजात अपरिचित व्यक्ति वा बिचौलियालाई सहजै उपलब्ध नगराउन मन्त्रालयले आग्रह गरेको छ। मानव बेचबिखन, जबर्जस्ती वा प्रलोभनमा लैजाने प्रयास तथा सीमापार शोषणसम्बन्धी सूचना तत्काल सम्बन्धित निकायलाई दिनसमेत मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा यस्तो जानकारी नजिकको प्रहरी कार्यालय, सम्बन्धित सरकारी निकाय वा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई उपलब्ध गराउन सकिने उल्लेख छ।