३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य

नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य
अ+ अ-

नर्बेको सुदूर उत्तरमा अवस्थित नोर्डक्याप (नर्बेली भाषामा नूरक्याप) नर्बेली र युरोपेली मुलुकका प्रत्येक व्यक्तिका लागि जीवनको एक सपनाको गन्तव्यस्थल हो । भनिन्छ, उत्तरी नर्बेमा छ महिना दिनरात घाम लाग्छ र छ महिना अन्धकार हुन्छ । त्यही कारण हामीजस्ता नेपालीलाई यहाँ बर्खायाम नै घुम्नका लागि उपयुक्त हुने रहेछ । नोर्डक्याप युरोपको उत्तर तर्फको जमिनको अन्तिम विन्दु पनि हो । यो ठाउँबाट उत्तरतर्फ फर्केर हेर्दा सुदूर क्षितिजसम्म आर्कटिक महासागर (आर्कटिक सर्कल) मात्र देख्न पाइन्छ । जमिनको कतै टुक्रा देखिन्न ।

सौभाग्य नै मान्नुपर्छ, नर्बेको उत्तरी शहर ट्रम्सोमा रहेका छोरी सदिक्षा लामिछाने र ज्वाइँ सूर्य काफ्लेको आतिथ्यमा यसपटक नर्बे घुम्ने सुअवसर प्राप्त भयो । समर सिजन (बर्खायाम) मा नर्बे घुम्न अझ रमाइलो हुने रहेछ किनभने यस सिजनमा मौसम सफा हुने, रातदिन घाम लाग्ने, जताततै हरियाली हुने रहेछ । तर हिउँदका महिनामा नर्बेको अधिकांश उत्तरी भेग अन्धकारमा डुब्ने र हिउँ मात्र पर्ने रहेछ । पर्यटकहरु पनि मिडनाइट सन (मध्यरातको सूर्य) हेर्नकै लागि समर सिजनमा उत्तरी नर्बे पुग्ने रहेछन् ।

समर सिजनको यही मौका छोपेर छोरीज्वाइँको आतिथ्यमा मैले पनि नर्बे घुम्ने अवसर पाएको थिएँ । छोरीज्वाइँ बस्दै गरेको उत्तरी नर्बेको सुन्दर नगर ट्रम्सोको भव्य प्राकृतिक छटाले मन्त्रमुग्ध बनाएकै थियो । यही मेसोमा ट्रम्सोबाट झण्डै ६०० किलोमिटर पूर्वउत्तरमा अवस्थित नोर्डक्याप घुमाउन लैजाने भन्नासाथ मनमा अझ कौतुहल बढेको थियो ।

हामी सात जना दुई वटा कार लिएर जुलाई २४, शुक्रबार साँझपख नोर्डक्यापका लागि ट्रम्सोबाट प्रस्थान गर्यौं । हाम्रो टोलीमा ज्वाइँ सूर्य काफ्ले, मेरा पुराना आत्मीय मित्र टेकबहादुर गिरि, ओस्लोदेखि आउनु भएका शिब बेल्वासे र उहाँकी दिदी, साथी अरुण र उनकी नवविवाहिता पत्नी थियौं । ट्रम्सोबाट अपराह्न करिब ४ बजे खाना¬खाजाका सरसामान समेत बोकेर हामी आल्टा शहर तर्फ लम्कियौं । हामी आल्टा पुग्दा रातको करिब १० बजेको थियो ।

आल्टामा मित्र टेक जी ले पहिल्यै बुक गरेको एयरबिएनबी (भाडाको घर) मा गुगल म्यापको सहारामा ढोकामै पुग्यौं । ढोका खोलेर भित्र हेर्दा तीन वटा बेडरुम, एउटा लिभिङ रुम र किचेन, बाथरुम सबै रहेछ । किचनमा खाना पकाउने भाँडाकुँडा, प्लेट, काँटाचम्चा, डिसवासर (भाँडा धुने), फ्रिज, डाइनिङ टेबल समेत सम्पूर्ण सुविधा उपलब्ध रहेछ ।

म बाहेक अरु सबै जना मिलेर त्यहाँ खाना पकाउने काम भयो, र करिब १२ बजे खाना खायौं । त्यस घरको बार्दलीबाट राति १२ बजे हेर्दा आल्टा शहर उज्यालै देखिन्थ्यो । राति १२ बजे पनि सुदूर क्षितिमा सूर्यको साँझपखको लाली थियो, गोधुली प्रकाश थियो । अर्थात् सूर्य अस्ताएकै थिएन, एकछिन पछि सूर्योदय हुन्छ भन्दै थिए साथीहरु ।

झण्डै ३०० किलोमिटर यात्रा गरेकाले हामी केही थाकेका थियौं । हुनत, चिल्लो सडक र पहाड छेडेर (टनेल) राजमार्ग बनाइएकाले उकालो ओरालो केही थिएन, गाडी सररर गुडेका थिए । सडक निर्माण गर्दा प्राकृतिक सन्तुलन बिग्रेको कतै अनुभव हुन पाएन । तैपनि, थाकेको शरीर भएकाले होला भोलिपल्ट बिहान हामी करिब ८ बजे मात्र उठ्यौं, र बिहानको खाजा (ब्रेकफास्ट) खाएर आल्टा तर्फ लाग्यौं ।

आल्टा शहर सानै छ । तथापि  E-6 नामको राष्ट्रिय सडक मार्गबाट नोर्डक्याप जानेहरु आल्टा पुग्ने गर्दछन् । यहाँ हामी करिब २ घण्टा अल्मलियौं । यस शहर र आसपासका क्षेत्रमा नेपालीहरु पनि अध्ययनका लागि आउने र केही नेपालीको यहीँ बसोबास रहेछ । आल्टाको सिटी सेन्टर निकै रमाइलो रहेछ । स्थानीयबासीको किनमेलको मुख्य ठाउँ यस सेन्टरमा पर्यटक समेतका कारण खचाखच हुने रहेछ । काठमाडौंका पाँच वटा भाटभटेनी बराबरको यो एउटै सिटी सेन्टर रहेछ । रेस्टुराँ, औषधि पसल, लत्ताकपडा, घरायासी समेतका अनेकथरि सामान यही सेन्टरभित्र पाइने रहेछ ।

आल्टाबाट हामी दिउँसो १ बजेतिर उत्तरतर्फ लाग्यौं । त्यहाँबाट उत्तर लाग्दै गएपछि आल्टासम्म देखिएका हरिया रुखहरु साना हुन थाले । पहाडहरु होचा हुन थाले । मसिनो घाँस भएका ठूल्ठूला पाटन देखिए । कतै समुद्र, कतै टनेल हुँदै हामी गन्तव्यतर्फ निरन्तर लाग्यौं । हामी अपराह्न ४ बजेतिर होनिङ्सभाग पुग्यौं । त्यहाँ एउटा बडेमानको झण्डै १० तलाको क्रुज (पानीजहाज) तटमा रोकिराखेको थियो । मित्र टेक जी का अनुसार ओस्लो, बर्गेन, ट्रम्सो तिरबाट यहाँ क्रुजबाट मानिसहरु आउँछन् । फाइभ स्टार होटेल सरहको सुविधा उपलब्ध हुने यो क्रुजयात्राका लागि पहिल्यै अग्रीम टिकट लिनु पर्ने रहेछ ।

होनिङ्सभाग सानो बजार हो । यहाँ मुस्किलले तीन चार सय घर होलान् । यहाँ एउटा सानो एयरपोर्ट पनि रहेछ । नोर्डक्याप आउन चाहनेहरु हवाई मार्गको पनि उपयोग गर्न सक्ने रहेछन् । यस शहरमा झण्डै पाँच वर्षअघि छोरी सदिक्षाले पहिलो पटक फार्मासिस्टको काम पाएको ठाउँ रहेछ । उनी तीन महिना यस सानो, बिरानो तर सुन्दर सहरमा हिउँदका दिनहरुमा बसेर काम गरेको भएकाले पनि मनमा उत्सुकता थियो । हामीले उनले काम गरेको ठाउँ भेट्टायौं । फोटो खिचें ।

होनिङ्सभाग खासमा नोर्डक्यापको प्रवेशद्वार रहेछ । यस ठाउँबाट नोर्डक्याप करिब ३४ किमि टाढा छ, तर पिच सडक साँघुरो र केही घुमाउरो पनि भएकाले त्यहाँ पुग्न करिब एक घण्टा लाग्छ । हामी वरिपरिको दृश्यावलोकन गर्दै अगाडि बढ्यौं । सडकका दायाँदायाँका पाटनमा रेनडियर (बाह्रसिंगा मृग) चरिरहेका देखिन्थे । टेक जी का अनुसार, सामी समुदायको मुख्य बसोबास रहेको उत्तरी नर्बेमा रेनडियर नै उनीहरुको जीविकोपार्जनको एउटा आधार हो ।

उत्तरी नर्बेमा सामी समुदायको स्वामित्वमा कति रेनडियर छन् भन्ने एकिन तथ्याँक नभए पनि छ हजारभन्दा बढी रेनडियर रहेको अनुमान गरिएको छ । सामी समुदायका केही व्यक्तिले यिनै रेनडियरका सिङ, छाला, रौं इत्यादिबाट बनेका सामान पनि उपहारका रुपमा बेच्ने गरेको पाइयो । जंगलमा छाडा छाडिएका देखिए पनि यी रेनडियर सामी समुदायका व्यक्तिबाहेक जोकोहीले शिकार गर्न पाउँदैनन् ।

नोर्डक्याप जाने मार्गका दायाँबायाँ टाढाटाढाबाट आएका पर्यटकहरु ससाना टेन्टमा पनि बसेका थिए । सायद उनीहरु राति त्यतै बस्ने सुरसार गरिरहेका थिए । सडकमा बेलाबेला साइकल यात्री पनि भेटिन्थे । पछि नोर्डक्यापमा भेटिएका कतिपय साइकल यात्रीलाई सोध्दा थाहा भयो, उनीहरु नर्बेको राजधानी ओस्लो र युरोपकै विभिन्न मुलुकबाट दुई तीन महिना लगाएर साइकलमा त्यहाँ पुगेका रहेछन् ।

सामान्यतया, नोर्डक्याप प्रवेशमा अक्टोबरदेखि अप्रिलसम्म सर्वसाधारणलाई रोक लगाइँदो रहेछ । विषम मौसम र निष्पट्ट अँध्यारो हुने भएकाले पनि यहाँ विशेष गाइडको सहायतामा मात्र जाने गरेको टेक जी ले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदका दिनमा यो ठाउँमा जोकोही व्यक्ति आउने कल्पनासम्म गर्न सकिन्न ।

हाम्रो टोली अपराह्न ४ बजेतिर नोर्डक्याप पुग्यो । त्यहाँको पार्किङमा सयौं गाडी, क्याराभान थिए । हामी सबै प्रभुल्लित भयौं । समुद्रको सतहबाट करिब ३०० मिटर अग्लो डाँडा नोर्डक्यापबाट उत्तरतिर आँखाले भ्याएसम्म आर्कटिक अर्थात् पृथ्वीको उत्तरी ध्रुव (उत्तरी गोलार्ध) मा अवस्थित महासागर हेर्यौं । टाढासम्म कतै पनि जमिन थिएन, केबल पानी पानी थियो । हामी त्यसदिन भाग्यमानी थियौं किनभने हामी पुगेको दिन मौसम सफा थियो, घाम लागेको थियो, हावा पनि खासै बेगले चलेको थिएन । अर्थात् त्यहाँको वातावरण शान्त थियो, तर मानिसहरुको कल्याङमल्याङ चर्कैै थियो ।

नोर्डक्यापमा राखिएको पृथ्वी दर्शाउने फलामको ठूलो ग्लोबलाई दायाँबायाँ, अगाडि पछाडि पारेर तस्बिर र भिडियोमा कैद गर्न पर्यटकहरु तँछाडमछाड गरिरहेका थिए । हामी पनि जीवनको यस अवसरलाई छोप्न प्रयासरत थियौं । कतिपय पर्यटक रातभर त्यहीँ बस्नेगरि तयारी गरिरहेका थिए, किनभने उनीहरु मौसमी अनुकूलताका कारण मिडनाइट सन (मध्यरातको सूर्य) को मजा लिन उत्सुक थिए । यहाँबाट मध्यरातको सूर्य खासमा मे १२ देखि जुलाई ३१ सम्म राम्रोसँग देखिन्छ ।

हामी भने त्यहाँ करिब २ घण्टा बिताएर आल्टा फर्कियौं । रात आल्टामै बसेर भोलिपल्ट हामी ट्रम्सो फर्कियौं । तीन दिनको यो यात्रा अविस्मरणीय रह्यो । यो अवसर जुटाउने सबैप्रति नमन ।