काठमाडौं । हिमालय एअरलाइन्सका कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १३ लाख २० हजार ६६६ सहयोग गरेका छन्।
एअरलाइन्सका विभिन्न विभागमा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको कुल रु। १४ लाख ७० हजार ६६६ मध्ये १० प्रतिशत रकम विपद्बाट प्रत्यक्ष प्रभावित हिमालय एअरलाइन्स्का कर्मचारीका परिवारलाई सहयोगस्वरूप उपलब्ध गराइएको छ। बाँकी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
हिमालय एअरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले कर्मचारीहरूले संकलन गरेको रु. १३ लाख २० हजार ६६६ को चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल (गणेश) लाई हस्तान्तरण गर्नुभयो।
एअरलाइन्सका कर्मचारीहरूले आर्थिक सहयोगसँगै लुगाफाटा पनि संकलन गरी काठमाडौं स्कुल अफ ललाई हस्तान्तरण गरेका छन्। उक्त सामग्री विपदबाट प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन प्रयोग गरिने जनाइएको छ।
गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट त्रिशूली करिडोर आसपासका विभिन्न बस्तीमा जनधनको क्षति हुनुका साथै कैयौँ नागरिक विस्थापित भएका थिए। बाढीका कारण घर, सडक, पुललगायत महत्वपूर्ण भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको थियो।
हिमालय एअरलाइन्सले विपद्का समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने जनाएको छ।









