१ आश्विन २०८३, बिहीबार
,
Latest
देउवालाई विदेशबाट खुलापत्र: अब कुर्सी होइन, विरासत रोज्नुहोस् शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल संविधान संशोधनमा सर्वोच्चको फैसला : रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान कार्यान्वयनको क्रममा महत्वपूर्ण उपलब्धि हासिल भएपनि संविधानले परिकल्पना गरेका कानूनी, संस्थागत र संरचनागत आधारहरू अझै पूर्ण हुन नसकेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा बाह्रौँ संविधान दिवस २०८३ का अवसरमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशकः अवसर र चुनौती’ विषयक

कार्यक्रममा बोल्दै दाहालले संविधान कार्यान्वयनको दोस्रो दशकलाई संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन र संस्थागत सुदृढीकरणको दशकका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको हो ।

उहाँले संविधानअनुसार संघमा दोस्रो पटक निर्वाचन भइसकेको तथा प्रदेश र स्थानीय तह दोस्रो कार्यकालको अन्तिम वर्षमा पुगेको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहका संरचना गतिशील रहेको बताउनु भयो ।

समावेशी प्रतिनिधित्वको आधार विस्तार भएको, मौलिक हकको संवैधानिक संरक्षण भइरहेको र संवैधानिक निकाय तथा संघीय, प्रदेश र स्थानीय सभाहरू क्रियाशील रहेको उहाँको भनाइ छ । तर संविधान पूर्ण रूपमा कार्यान्वयन भइसकेको हो कि होइन भन्ने प्रश्नको जवाफ ‘अझै भइसकेको छैन’ भन्ने रहेको दाहालले बताउनु भयो ।

संविधानले व्यवस्था गरेका कतिपय विषय कार्यान्वयनका लागि आवश्यक कानून समयमै बन्न नसकेको तथा बनेका कानूनको प्रभावकारी कार्यान्वयनमा समेत प्रश्न उठिरहेको उहाँले बताउनु भयो । अबको प्राथमिकता संविधानमा के लेखिएको छ भन्ने बहसभन्दा संविधानले दिएका अधिकार र जिम्मेवारी व्यवहारमा कति कार्यान्वयन भए भन्ने विषय हुनुपर्ने उहाँको भनाइ छ ।

दाहालले संविधानअनुसार बन्न बाँकी कानून निर्माण तथा विद्यमान कानूनलाई संविधानअनुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

नागरिकका संवैधानिक अधिकार कार्यान्वयनका लागि कानूनी संयन्त्र मजबुत हुनुपर्ने उनले बताउनु भयो । संघीयता संविधानको महत्वपूर्ण विशेषता भएपनि संविधानमा व्यवस्था गर्दैमा संघीयता पूर्ण रूपमा कार्यान्वयन नहुने दाहालले बताए। संघ, प्रदेश र स्थानीय तहबीच अधिकार, प्राकृतिक स्रोत, कर्मचारी र उत्तरदायित्वको स्पष्ट तथा व्यावहारिक बाँडफाँड आवश्यक रहेको उहाँको भनाइ छ ।

दाहालले भन्नुभयो, ‘देशले संविधान कार्यान्वयनको क्रममा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । संविधानअनुसार संघमा दोस्रो पटक निर्वाचन भइसकेको छ भने प्रदेश र स्थानीय तह दोस्रो कार्यकालको अन्तिम वर्षमा छन्। संघ, प्रदेश र स्थानीय तहका संरचनाहरू गतिशील छन् । समावेशी प्रतिनिधित्वको आधार विस्तार र सुदृढ भएको छ, मौलिक हकहरूको संवैधानिक संरक्षण भइरहेको छ र संवैधानिक निकायहरू क्रियाशील छन् । संघीय संसद, प्रदेश सभा तथा स्थानीय सभाहरूले पनि आफ्नो विधायिकी भूमिका निर्वाह गरिरहेका छन् । तर प्रश्न उठ्छ,के संविधान पूर्ण रूपमा कार्यान्वयन भइसकेको छ? यसको स्पष्ट जवाफ हो । अझै भएको छैन । संविधानले परिकल्पना गरेका कतिपय कानूनी, संस्थागत र संरचनागत आधारहरू अझै पूर्ण भएका छैनन् । संविधानमा व्यवस्था गरिएका सबै विषय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानूनहरू समयमै बन्न सकेका छैनन् । बनेका कतिपय कानूनको प्रभावकारी कार्यान्वयनमा पनि प्रश्न उठिरहेका छन् । त्यसैले अबको प्राथमिकता संविधानमा के लेखिएको छ भन्ने बहस मात्र होइन, संविधानले दिएको अधिकार र जिम्मेवारी व्यवहारमा कति कार्यान्वयन भएका छन् भन्ने हुनुपर्छ । कार्यान्वयन हुन नसकेका विषयमा कारण पहिचान गर्दै गम्भीर संवाद आवश्यक छ । संविधान कार्यान्वयनको दोस्रो दशकमा प्रवेश गर्दै हाम्रो पहिलो चुनौती संविधानबमोजिम बन्न बाँकी कानून निर्माण गर्नु र विद्यमान कानूनलाई संविधानअनुकूल परिमार्जन गर्नु हो । नागरिकलाई संविधानले अधिकार दिएको छ, तर ती अधिकार कार्यान्वयनको पहिलो आधार मजबुत कानुनी संयन्त्र हो । संघीयता संविधानको महत्वपूर्ण विशेषता हो, तर संविधानमा लेखेर मात्र संघीयता कार्यान्वयन हुँदैन । अधिकार संविधानमा सूचीवद्ध गरेर मात्र हस्तान्तरण हुँदैन । स्थानीय सरकार लोकतन्त्रको आधार हो, तर स्थानीय सरकार गठन गरेर मात्र स्थानीय स्वशासन बलियो हुँदैन । त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच अधिकार, प्राकृतिक स्रोत, कर्मचारी र उत्तरदायित्वको स्पष्ट तथा व्यावहारिक बाँडफाँड आवश्यक छ । त्यसैले अबको दशकलाई संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन र संस्थागत सुदृढीकरणको दशकका रूपमा लिनुपर्छ भन्ने मेरो बुझाइ छ ।’

दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछाडि फर्किने नभई लोकतान्त्रिक व्यवस्थालाई अझ परिपक्व, सबल र प्रभावकारी बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनु भयो ।

समय, समाज र जनआकांक्षामा आउने परिवर्तनसँगै संविधान पनि आवश्यकताअनुसार परिमार्जन र संशोधनको विषय बन्नसक्ने बताउनु भयो ।

उहाँले संविधान संशोधन कुनै वर्ग, समुदाय वा दलको स्वार्थमा केन्द्रित हुन नहुनेमा जोड दिनुभयो । संशोधनको बहस संघीयताको मर्मलाई सर्वोपरी राख्दै तीनै तहका सरकारको भुमिका, अधिकार, क्षमता र गरिमा सुदृढ गर्ने दिशामा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

दाहालले जनताका अधिकार थप विस्तार हुने, समावेशी लोकतन्त्र सशक्त बन्ने तथा शासन प्रणालीलाई थप स्थिर र उत्तरदायी बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताउनु भयो । समाजवादउन्मुख संविधानको मार्गचित्रलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग पुग्ने गरी संशोधन आवश्यक रहेको उहाँको भनाइ छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र बहुदलीय प्रतिष्पर्धात्मक लोकतन्त्र संविधानका आधारभुत विशेषता भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘संविधान स्थिरताको आधार हो, तर समय, समाज र जनआकांक्षाको परिवर्तनसँगै यसमा आवश्यक संशोधन र परिमार्जन हुन सक्छ । संविधान संशोधन विगतका उपलब्धिबाट पछाडि फर्कने होइन, लोकतन्त्रलाई अझ परिपक्व, सबल र जनमुखी बनाउने उद्देश्यले हुनुपर्छ । संशोधन कुनै व्यक्ति, वर्ग, समुदाय वा दलको स्वार्थकेन्द्रित नभई राष्ट्रिय हितमा आधारित हुनुपर्छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र बहुदलीय लोकतन्त्रजस्ता उपलब्धिलाई थप संस्थागत गर्दै नागरिकका अधिकार, सुशासन र तीनै तहका सरकारको क्षमता सुदृढ गर्ने दिशामा संशोधन केन्द्रित हुनुपर्छ । संविधान दिवसका अवसरमा संविधानको भावना, लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र जनउत्तरदायी शासनप्रतिको प्रतिवद्धतालाई अझ बलियो बनाउँदै अघि बढौँ भन्ने अपिल गर्दछु ।’

उहाँले संविधान संशोधनको उद्देश्य जनताका अधिकार सुनिश्चित गर्ने, आवश्यकताहरू सम्बोधन गर्ने र नागरिकमा संविधानप्रतिको अपनत्व बढाउने हुनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल