काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व थप प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले भ्रष्टाचारजन्य कसुरको पहिचान, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक, विश्वसनीय, प्रविधिमैत्री तथा नतिजामुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सार्वजनिक निकाय तथा पदाधिकारीमा जवाफदेहिता, नैतिकता र सदाचार प्रवद्र्धन गर्न आयोगले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै कार्यगत स्वायत्तता कायम राखी निष्पक्षता र निर्भीकताका साथ काम गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले आयोगको प्रतिवेदनमा उल्लेख भएका भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रयास, उपलब्धि र सुझावहरू मुलुकमा सुशासन कायम गर्ने महत्वपूर्ण आधार बन्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आयोगले संवैधानिक र कानुनी दायित्व थप प्रभावकारी र कार्यगत स्वायत्तता कायम राखी निष्पक्षता र निर्भीकताका साथ अघि बढ्नुपर्ने ठान्दछु । आयोगले आगामी दिनहरूमा सक्षम, निष्पक्षता प्रभावकारी ढंगबाट काम कारबाही गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
राष्ट्रपति पौडेलले आयोगको प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसदमा पेस हुने र प्रतिवेदनमा उठाइएका विषयमा संसदमा गम्भीर छलफल भई सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बिहीवार शीतल निवासमा आयोजित कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हो ।








