१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभीरमा तत्कालीन बाटो खुले पनि दीर्घकालीन सुरक्षाका लागि काम अघि बढाइने



अ+ अ-

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीर सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आए पनि सडक विभागले त्यसलाई दीर्घकालीन रूपमा सुरक्षित र सञ्चालनयोग्य बनाउने काम अघि बढाउने भएको छ ।

सडक विभागका सिडिइ सुरेश पौडेलका अनुसार अहिले सडक सञ्चालनमा ल्याउनु तत्कालीन समाधान मात्रै हो । कृष्णभीरको जोखिम स्थायी रूपमा न्यूनीकरण गर्न सडकको माथिल्लो भागमा पानी व्यवस्थापन, सम्भावित पहिरो नियन्त्रण तथा तल्लो भागमा त्रिशूली नदीको कटानबाट सडक जोगाउने संरचना निर्माण गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

पौडेलका अनुसार दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो स्लोपबाट पानीको उचित निकास व्यवस्थापन गर्ने, सम्भावित पहिरो नियन्त्रणका संरचना निर्माण गर्ने तथा नदी कटान नियन्त्रणका उपायबारे अध्ययन सुरु भइसकेको छ । आवश्यक परीक्षण, डिजाइन तथा अन्तिम योजना तयार गर्न भने केही समय लाग्ने उहाँको भनाइ छ ।

कृष्णभीरको दीर्घकालीन विकल्पका रूपमा सुरुङ निर्माण गर्ने वा त्रिशूली नदीपारि वैकल्पिक सडक निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको छ । तर वैकल्पिक संरचना निर्माण गर्न समय लाग्ने भएकाले हाल सञ्चालनमा ल्याइएको सडकलाई कम्तीमा तीन वर्ष सुरक्षित रूपमा सञ्चालनयोग्य बनाउने गरी काम गर्नुपर्ने पौडेलले बताउनुभयो ।

उहाँले माथिल्लो स्लोपबाट पानी व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको बताउँदै जुनसुकै बेला स्लोप फेल भएर पहिरो जान सक्ने जोखिम रहेको उल्लेख गर्नुभयो । साना पहिरोका कारण एक–दुई घण्टासम्म सडक अवरुद्ध हुन सक्ने अवस्था न्यूनीकरण गर्ने विषयमा पनि छलफल सुरु भइसकेको उहाँको भनाइ छ ।

यसैबीच, अहिले ग्राभेल गरिएको सडकलाई वर्षा सकिएलगत्तै कालोपत्रे गर्ने तयारी सडक विभागले गरेको छ । कालोपत्रेका लागि अस्फाल्ट वा अन्य उपयुक्त प्रविधि प्रयोग गर्ने विषयमा छलफल भइरहेको पौडेलले जानकारी दिनुभयो । सडक सञ्चालनसँगै ट्राफिक सुरक्षाका थप मापदण्डसमेत लागू गरिने विभागले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काका अनुसार कृष्णभीर सडकखण्ड दुईतर्फी सञ्चालनमा आए पनि माथिबाट पहिरो तथा माटोका अवशेष खस्ने जोखिम भने कायमै छ । वर्षा हुँदा माथिल्लो भागबाट डेब्रिज खस्न सक्ने सम्भावना रहे पनि त्यसलाई तत्काल व्यवस्थापन गरेर सडक लामो समय अवरुद्ध हुन नदिने अवस्था बनाइएको उहाँले बताउनुभयो ।

खड्काका अनुसार कृष्णभीरमा तत्कालका लागि सडक सञ्चालन गर्न आवश्यक काम सम्पन्न भइसकेको छ । करिब ११ दिनको प्रयासपछि सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । सडक निर्माणका क्रममा सोल ड्रेन, ग्रेड कटिङ, सबग्रेड तथा सडक सुरक्षाका मापदण्ड अपनाउनुपर्ने भएकाले काम सम्पन्न गर्न केही समय लागेको उहाँको भनाइ छ ।

अहिले मालवाहक, सार्वजनिक तथा निजी सवारीसाधनसँगै ग्यास बुलेटसमेत सहज रूपमा आवतजावत गरिरहेको खड्काले जानकारी दिनुभयो । माथिबाट डेब्रिज खसे पनि त्यसलाई हटाएर केही समयपछि पुनः सडक सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।

यसैबीच, बाढीबाट पृथ्वीराजमार्गका विभिन्न खण्डमा भएको क्षतिको मूल्यांकन गर्न विश्व बैंकको प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्ने भएको छ । खड्काका अनुसार कृष्णभीरसहित शीतलबजार, पोखरेभीर, पाङ्ग्रे र गलौँदीलगायत क्षेत्रमा बाढीले सडकमा क्षति पुर्‍याएको छ ।

विश्व बैंकको प्राविधिक टोलीले ती क्षेत्रको क्षतिको अवस्था अध्ययन गरी सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउने उपायबारे मूल्यांकन गर्नेछ । निरीक्षणमा सडक विभाग, परामर्शदाता तथा निर्माण व्यवसायीको टोलीसमेत सहभागी हुने खड्काले बताउनुभयो ।




भर्खरै