१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सभामुख



अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपालमा रोजगारी सिर्जना, लगानी विस्तार र आर्थिक अवसर बढाउन राज्यको नीति तथा विकासको मोडलमै पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले नेपाली नागरिक आधारभूत आवश्यकता पूरा गर्नकै लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीलाई विदेश जाने नागरिकको संख्याका रूपमा मात्रै नहेरी नेपालभित्र पर्याप्त अवसर सिर्जना गर्न नसकिएको परिणामका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो । नेपालमा रोजगारी र लगानीको वातावरण निर्माण गर्न सरकारको नीति तथा राज्यको भूमिका प्रभावकारी हुनुपर्ने उहाँको भनाइ थियो ।

निजी क्षेत्रले लगानी गर्न चाहे पनि राज्यको नीतिगत स्पष्टता र सहयोग कमजोर हुँदा आर्थिक गतिविधि विस्तार गर्न कठिन हुने उहाँले बताउनुभयो । नेपाललाई प्राकृतिक स्रोत र सौन्दर्य भएको मुलुकका रूपमा मात्र सीमित नराखी उत्पादन, रोजगारी, लगानी, अध्ययन तथा अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपालको आर्थिक सम्भावनालाई स्वदेशमै उपयोग गर्दै बाह्य मुलुकबाट पुँजी, प्रविधि, ज्ञान तथा जनशक्ति आकर्षित गर्ने नीतितर्फ अघि बढ्नुपर्ने सभामुख अर्यालले बताउनुभयो । देशमा उपलब्ध सम्भावनालाई रोजगारी र आर्थिक अवसरमा रूपान्तरण गर्न नसक्दा युवा तथा श्रमशक्ति विदेशिने क्रम रोक्न कठिन हुने उहाँको भनाइ थियो ।

सभामुख अर्यालले आफूले लामो समयदेखि नेपालमै रोजगारी सिर्जना गर्ने र नेपालीलाई बाध्यतावश विदेश जानुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यका साथ काम गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म यो देशमा करिब ३० वर्षदेखि केही गर्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ र नेपालीहरूलाई बाध्यतावश विदेश जानुपर्ने अवस्थाबाट मुक्त गर्नुपर्छ भन्ने उद्देश्यका साथ काम गर्दै आएको छु । नेपालीहरू विदेश जाने भनेको घुम्न, अध्ययन वा अनुसन्धानका लागि होस्, तर श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न वा परिवारका सदस्यको उपचार गर्नकै लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ ।”

आफूले विभिन्न क्षेत्रमा प्रत्यक्ष रूपमा काम तथा लगानी गरे पनि त्यस क्रममा राज्यको भूमिकाबारे प्रश्न उठेको उहाँले बताउनुभयो । नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने वातावरण राज्यले बनाउन नसके त्यस्तो सरकार र नीति निर्माणका लागि आफूहरू नै अघि बढ्नुपर्ने सोचका साथ राजनीतिमा प्रवेश गरेको उहाँको भनाइ थियो ।

नेपाललाई प्राकृतिक सौन्दर्यका कारण मात्र चिनिने मुलुक नभई विश्वभरका मानिस आएर बस्न, काम गर्न र अवसर सिर्जना गर्न सक्ने देशका रूपमा विकास गर्ने आफ्नो उद्देश्य रहेको उहाँले बताउनुभयो ।

सभामुख अर्यालले लामो समयदेखि देखिएको रोजगारीका लागि विदेशिने बाध्यता, लगानीको कमजोर वातावरण र राज्यको भूमिकासम्बन्धी प्रश्न समाधान नगरी समृद्धिको लक्ष्य हासिल गर्न नसकिने धारणा राख्नुभयो । त्यसका लागि नीति निर्माणकै तहबाट हस्तक्षेप आवश्यक रहेको बताउँदै उहाँले राज्यको नीति निर्माणमा प्रभाव पार्न सकिने बुझेर आफू राजनीतिमा प्रवेश गरेको स्पष्ट पार्नुभयो ।




भर्खरै