२६ भाद्र २०८३, शुक्रबार
,
Latest
पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित न्यूनतम अधिकारबाट वञ्चित मधेशका दृष्टिविहीन अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायसम्बन्धी नेपालको आवाज पर्याप्त हुन सकेको छैन: जलवायु विज्ञ मास्के कुम्भकर्ण हिमालयको मौलिक नाम र सांस्कृतिक पहिचान  नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता भोटेकोशी बाढीको १७औँ दिन : १,३८५ को शव भेटियो, पुनर्निर्माणमा साढे ६ खर्ब लाग्ने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने : न्यूयोर्कमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’ विशेष साइड-इभेन्ट आयोजना… बस र्यापिड ट्रान्जिट (बीआरटी) मोडल कार्यान्वयनका लागि यातायातसम्बन्धी नयाँ ऐन निर्माणको तयारीमा छौँः मन्त्री लम्साल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीसम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सोसम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा २३३ वटामा आचारसंहिता उल्लङ्घन भएका छन् । प्रेस काउन्सिल नेपालले बाढीपछि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचारसंहिताविपरीत २३३ सामग्री सम्प्रेषण भएको भेटिएको हो ।

प्रेस काउन्सिलले सार्वजनिक गरेको सञ्चार अनुगमनसम्बन्धी विवरणअनुसार बाढीसम्बन्धी सामग्रीमा पीडितको संवेदनशील अवस्थालाई उचित ध्यान नदिएको, अपुष्ट तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको, अतिरञ्जित ढङ्गले सामग्री प्रस्तुत गरेको तथा पत्रकारिताका स्थापित मूल्य, मान्यताको पालना नगरेकोलगायत विषयमा आचारसंहिता उल्लङ्घन भएको जनाएको छ ।

अनुगमनका क्रममा सञ्चारमाध्यमसँग सम्बन्धित ९१, गैरसञ्चारमाध्यम १०१ र पत्रकारसँग सम्बन्धित ४१ वटा सामग्री आचारसंहिताभन्दा विपरीत रहेका भनी पहिचान गरिएको विवरणमा उल्लेख छ ।

काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्ने सामग्रीका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आवश्यक सुधार तथा सच्याउन निर्देशन दिएकोसमेत जनाएको छ ।

अनुगमनका क्रममा आचारसंहिताविपरीत देखिएका त्यस्ता सामग्री तत्काल सच्याउन, हटाउन वा आवश्यक सुधार गर्न निर्देशन दिएकामा २०७ निर्देशन पालना भएको र १९ वटा निर्देशनको अझै पालना नभएको पनि काउन्सिलले जनाएको छ । काउन्सिलले सम्बन्धित पक्षलाई फोन, सन्देश तथा पत्राचारमार्फत सामग्रीको प्रकृति हेरी आवश्यक कदम चाल्न निर्देशन दिएको हो ।

भोटेकोशी बाढीका क्रममा उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी सूचना प्रवाह गर्ने क्रममा सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना तीव्र रूपमा फैलिएको तथा कतिपय सामग्रीमा घटनाको संवेदनशीलतालाई बेवास्ता गर्दै सनसनीपूर्ण दृश्य र दाबी प्रस्तुत गरिएको अनुगमनबाट देखिएको छ ।

विपद्का समयमा समाचार तथा सूचना सम्प्रेषण गर्दा पीडितको मानवीय मर्यादा, गोपनीयता, सुरक्षा र संवेदनशीलतालाई उच्च प्राथमिकता दिनुपर्ने काउन्सिलले जनाएको छ । विशेषगरी बाढी तथा पहिरोबाट प्रभावित व्यक्ति, घाइते, मृतक तथा उद्धारको प्रतीक्षामा रहेका नागरिकका तस्बिर तथा दृश्य प्रयोग गर्दा उनीहरूको सम्मान र व्यक्तिगत गोपनीयताको ख्याल गर्नुपर्नेमा काउन्सिलले जोड दिएको छ ।

त्यस्तै, सामाजिक सञ्जालमा प्राप्त भएको सूचना वा श्रव्यदृश्यको स्वतन्त्र र तथ्य पुष्टि नगरी समाचारका रूपमा प्रकाशन तथा प्रसारण गर्दा गलत सूचना फैलिन सक्ने भएकाले तथ्य पुष्टि गरेर मात्र सामग्री सार्वजनिक गर्न सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । भोटेकोशी बाढीका क्रममा उद्धार तथा राहतसम्बन्धी विषयमा सामाजिक सञ्जालमा विभिन्न दाबी र भिडियो सार्वजनिक भएका थिए ।

तीमध्ये कतिपय पुराना दृश्यलाई नयाँ घटनासँग जोडेर प्रस्तुत गरिएको, घटनाको वास्तविक अवस्थाभन्दा फरक सूचना प्रवाह गरिएको तथा पुष्टि नभएका दाबीलाई समाचारको शैलीमा प्रसार गरिएको पाइएको थियो । विपद्को समयमा नागरिकमा त्रास सृजना हुनेगरी अपुष्ट सूचना फैलाउँदा उद्धार तथा राहत कार्यमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले सञ्चारमाध्यमले थप जिम्मेवार र संवेदनशील भूमिका निर्वाह गर्नुपर्ने काउन्सिलले जनाएको छ ।