२६ भाद्र २०८३, शुक्रबार
,
Latest
जलवायु न्यायसम्बन्धी छुट्टै कानुन छैन, तर विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताका आधारमा दाबी गर्न सकिन्छ: विपद् विज्ञ… ग्रिन आर्मीको गतिविधिमाथि प्रश्न, सर्वोच्चमा रिट लागुऔषधसहित १७ जना पक्राउ भोटेकोशी बाढीसम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले भोटेकोशी बाढीमा १ हजार ३८५ जनाको शव फेला, ५ हजार १३० अझै बेपत्ता राष्ट्रसंघ महासभामा प्रधानमन्त्री शाहले जलवायु न्याय र बाढीबाट भएको क्षतिबारे आवाज उठाउने भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानमा सवा २ अर्बभन्दा बढी लाग्ने एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीमा १ हजार ३८५ जनाको शव फेला, ५ हजार १३० अझै बेपत्ता



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १७औँ दिनसम्म १ हजार ३८५ जनाको शव फेला परेको छ भने करिब ५ हजार १३० जना अझै बेपत्ता रहेको सरकारले जनाएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारीअनुसार बाढीपछि हालसम्म १३ हजार ६७६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३२० भन्दा बढी विदेशी नागरिक रहेका छन्। बेपत्ता हुनेमा करिब ६०० विदेशी नागरिक छन्, जो करिब ३५ देशका रहेको मन्त्रालयले जनाएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जनाएको छ। भारत, चीन र दक्षिण कोरियाबाट आएका सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा प्रभावित जलविद्युत् आयोजनालगायतका क्षेत्रमा खोजी गरिरहेका छन्।

संयुक्त अरब इमिरेट्स, मलेसियाको विशेष विपद् सहायता तथा उद्धार टोली र अस्ट्रेलियाको विपद् सहायता तथा प्रतिकार्य टोलीले समेत उद्धार कार्यमा सहयोग गरिरहेका छन्।

बाढीको क्षति र उद्धार कार्यको जटिलतालाई ध्यानमा राख्दै सरकारले उच्च क्षमताका ड्रोन, लिडार प्रणाली, बेलिब्रिज, महामारी रोकथामका सामग्री, डीएनए परीक्षण किट, पानीमुनि प्रयोग हुने ड्रोन र उच्च क्षमताका पम्पलगायत थप उपकरण तथा सामग्रीका लागि अन्तर्राष्ट्रिय साझेदारसँग औपचारिक आग्रह गरेको छ।

सरकारका अनुसार बाढी प्रभावित क्षेत्रमा सडक, विद्युत् र दूरसञ्चार सेवा पुनःस्थापना गर्ने काम पनि जारी छ। गल्छी–त्रिशूली सडकखण्डअन्तर्गत देवीघाटमा तादी खोलामाथि एक्रो पुल निर्माण सम्पन्न भई सार्वजनिक यातायातका लागि खुला गरिएको छ। प्रभावित विभिन्न स्थानमा सडक तथा स्थल सफाइ र अवरोध हटाउने काम भइरहेको मन्त्रालयले जनाएको छ।

बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकनअनुसार विपद्बाट करिब १ अर्ब ८० करोड अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ भने करिब ८८ करोड ३० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको अनुमान गरिएको छ। पुनर्निर्माणका लागि करिब ४ अर्ब ७८ करोड अमेरिकी डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान छ।

त्यसमध्ये आगामी छ महिनाभित्रको अल्पकालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि करिब ५ करोड ७६ लाख ७० हजार अमेरिकी डलर र दीर्घकालीन पुनर्निर्माणका लागि करिब ४ अर्ब ७१ करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ। सरकारले क्षति तथा आवश्यकताको पूर्ण विवरण तयार गर्न विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) समेत अघि बढाएको छ।

बाढीमा फेला परेका शवको आवश्यक न्यायिक तथा फरेन्सिक प्रक्रिया पूरा गरी पहिचान गर्न सहज हुने गरी अस्थायी रूपमा गाडिएको मन्त्रालयले जनाएको छ। नेपाल प्रहरी तथा सम्बन्धित निकायसँगको सहकार्यमा भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीले डीएनए संकलन, परीक्षण र पहिचानको कामलाई तीव्रता दिएका छन्।

यसैबीच, चिनियाँ पक्षको सहजीकरणमा ७६८ नेपाली नागरिक तातोपानी नाकाबाट नेपाल फर्किएका छन्। मन्त्रालयले आवश्यक समन्वय तथा सहयोगका लागि आपत्कालीन नियन्त्रण कक्ष सञ्चालनमा रहेको जनाएको छ।