२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ?



अ+ अ-

पहिरोले घरखेत बगाउँदा बस्ती सारिन्, भूकम्पले घर भत्काउँदा नयाँ ठड्याइन्, तर अहिले त्रिशूलीको बाढीले घरखेतसँगै परिवारका ६ जनालाई बगाएपछि नुवाकोट बेत्रावतीकी ५७ वर्षीया सावित्री तामाङ उभिन सकेकी छैनन् । यो उमेरमा परिवार, घरबार र सम्पत्ति सबै गुमाएकी उनी भन्छिन्– अब जीवन कहाँबाट सुरु गर्ने ?

मनसुनी वर्षाले सिञ्चित हरिया डाँडाकाँडा । छ्याँङ्गै खुलेको आकाश । आँगनमै आइपुगेको पारिलो घाम देखेर नुवाकोटको बेत्रावतीकी सावित्री तामाङ (५७) बिहान ८ बजेतिर घाँस काट्न जंगलतिर जान हतारिइन् । यो भदौ १० गतेको कुरा हो ।features-1719398032.png

फटाफट चिया पकाएर बुढ्यौलीले च्यापेका श्रीमान्को हातमा राखिदिइन् । परिवारका अन्य सदस्यलाई पनि दिइन् । आफूले पनि छिटछिटो खाएर जंगलतिर लागिन्, घाँस काट्न ।

डोको र हँसिया समातेर उनी साढे ८ बजेतिर घरबाट निस्किँदै गर्दा ६ वर्षीय नाति आँगनमा खेल्दै थियो । २ वर्षीया नातिनी निदाएकै थिइन्, ब्युझाइँनन् । श्रीमान् कोठामै बसेर चिया खाँदै थिए । ४५ वर्षकी नन्द सरसफाइमै व्यस्त । ९० वर्षकी सासूआमा आफ्नै कोठामा सुस्ताइरहेकी थिइन् । बुहारी अनलाइनमा चिनियाँ भाषा पढिरहेकी थिइन् । छोरा भने घरमा थिएनन् ।

घाँसको भारी पुर्‍याएर फर्किँदा करिब ९ बजेर २० मिनेटतिर उनले परिवारका ६ जना बसिरहेको घर त्रिशूलीको बाढीले बगाएको देखिन् । बाढीले उनको दुईतले घरसँगै आँगन, कुखुराको खोर, बाटो र नजिकैका छिमेकीका घरहरूलाई एकै झमटमा सोहोरेर लगिसकेको थियो । उनका अनुसार श्रीमान् सेते तामाङ (७०), सासू सेती तामाङ (९०), बुहारी उमा गोले (२६), नाति सियोन तामाङ (६) नातिनी समृका तामाङ (२) र नन्द काली तामाङ (४५) बेपत्ता छन् । आफू घाँस काट्न गएकाले र छोरा सञ्जित काठमाडौंतिर रहेकाले बचेको उनी बताउँछिन् ।

घरभन्दा माथिल्लो थुम्कोमा रहेकी उनी परिवारसहितको घर बगाएको देखेर मुर्छा परिन् । एकैछिन्पछि होस आयो । हस्याङफस्याङ गर्दै घर भएको ठाउँतिर झर्नै लाग्दा त्यहाँ जम्मा भएका गाउँलेले तल झर्न दिएनन् ।

यस्तैमा फेरि अर्को खबर सुनिन्, माइतीतिरको नाताका ८ जना आफन्तलाई पनि बाढीले बगायो । उनका अनुसार ठूली भाउजू शोभा तामाङ (५३), भदा सन्दीप तामाङ (३७), भदाकी छोरी सञ्जिया तामाङ (९), भदा बुहारी सुशीला ब्लोन (३०), कान्छी बहिनीकी छोरी रिसिदा तामाङ (३), दिदी शान्ति ढकाल (६१), भिनाजु नारायण ढकाल (६५) र दिदीकी छोरी कल्पना भट्ट (३३) बाढीमा बेपत्ता छन् ।

त्यो दिन बिहान घाँस काट्न आङिटारको जंगलतिर नउक्लिएको भए आफूलाई पनि बाढीले घरसँगै बगाउँथ्यो भन्छिन् उनी । ८ जनाको परिवारमा ६ जना हराउँदा र २ जना मात्रै जीवित रहँदा कहाँबाट सोच्ने, के सोच्ने, कहाँ जाने, के गर्ने, कसलाई भन्ने वा नभन्ने– रनभुल्लमा छिन् सावित्री ।

लाङटाङ लिरुङ हिमालको उत्तरतिर हिउँसहितको ठूलो पिण्ड फुटेर खस्दा उत्पन्न भएको बाढी ल्हेन्दे खोला, भोटेकोशी हुँदै त्रिशूलीमा मिसियो । जसका कारण  रसुवा र नुवाकोटका नदी किनारामा बस्दै आएका मात्र होइनन्, पासाङ ल्हामु राजमार्गको रसुवागढी—विदुरबीचको सडकमा यात्रारत मानिस पनि आफ्ना सवारीसाधनसहित बाढीमा बगे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भदौ २४ गते बिहान ११ बजेसम्मको तथ्यांकअनुसार बाढीबाट मृत्यु भएका १३ सय ६७ जनाको शव भेटिएको छ । ५ हजार १ सय ३२ जना बेपत्ता छन् । बाढीमा ७ हजार १ सय ५१ जना घाइते भए । बाढीमा घर र आफन्त गुमाएका परिवारका ३ हजार ६ सय २८ जना रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा रहेको प्राधिकरणको तथ्यांक छ ।

त्यसैमध्येकी एक सावित्रीले विदुर नगरपालिका–१० कै गेर्खुटारस्थित सुन्दरी केउरिनी माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिइरहेकी छन् । छोरा सञ्जित भने स–साना छोराछोरी, श्रीमती, वृद्ध बुबा कतै भेटिई पो हाल्छन् कि भन्ने आशामा बाढीले बगर बनाएको घर छेउछाउ खोजबिनमा छन् ।

होल्डिङ सेन्टरको एक कुनामा सधैँ टोलाएर बसिरहेकी सावित्रीलाई घरीघरी एउटै कुराको थकथकी लाग्छ – मोबाइल सँगै लगेको भए परिवार बचाउन पो सकिन्थ्यो कि ! त्यो दिन घाँस काट्न जाँदा उनले मोबाइल घरमै राखेकी थिइन् ।

मोबाइलमा कसैले बाढी आउँदै छ भन्ने सूचना दिन फोन गरेका थिए कि उनलाई लागिरहेको छ । “मोबाइल बोकेको भए बेत्रावती, स्याफ्रुबँेसी र टिमुरेभन्दा माथि भएका आफन्तले मलाई फोन गरेर भाग्न भन्थे होलान्,” सावित्री एकहोरिँदै बोल्छिन्, “म घाँस काट्न छाडेर घर आएर सबैलाई निकाल्थेँ, सबै बाँच्थे होलान् ।”

पहिरो र भूकम्पमा जोगिए, बाढीले लग्यो 

सावित्रीको जीवन सहज रूपमा चलेको हुन्थ्यो भने उनको परिवार बाढीले बगाएको यो त्रिशूली किनारमा आइपुग्ने नै थिएन । जुन ठाउँमा घाँस काट्न जाँदा उनी जोगिएकी थिइन्, त्यही आङिटारको सुरक्षित पाखोतिरै हुन्थ्यो— उनको परिवारको बसोबास ।

२०६१ सालमा आङिटारे डाँडाको घर पहिरोले लग्यो । त्यतिबेला छोरा अढाइ वर्षका मात्र थिए । घर पहिरोमा परेपछि उनको परिवारले अलि तल नयाँ घर बनाएको थियो । त्यो घर पनि २०७२ सालको भूकम्पमा भत्कियो ।

भूकम्प जाँदा उनी छोरासँगै नुवाकोटको साततले मन्दिर दर्शन गर्न गएकी थिइन् । घरमा श्रीमान् टेलिभिजन हेर्दाहेर्दै निदाएका रहेछन् । नन्दले निदाएकै ठाउँबाट तानेर बचाएको सावित्रीले बताइन् । श्रीमान्लाई बाहिर ल्याएपछि टीभी कोठासहित घर नै भासिएको उनी सुनाउँछिन् । “त्यो बेला नन्दले बचाएकी थिइन्, यसपटक त जानुभयो, बाँकी भएका परिवार पनि सबै गए,” यति बोलेर उनी टोलाइन् ।

Sabitri-Tamang-Nuwakot-NIMJN-1788954580.jpg

२०७२ सालको भूकम्पमा घर भत्किए पनि जमिन थियो । जसोतसो आफैंले बालुवा चालिन् । केही कामदार लगाइन् । सरकारले अनुदानमा दिएको तीन किस्ताको ३ लाख रुपैयाँ र थप ५ लाख रुपैयाँ ऋण खोजेर घर बनाउन सुरु गरिन् ।

पैसाको अभावकै कारण २०७२ सालमा भत्किएको घर बनाउन ३ वर्ष लाग्यो । त्यो ३ वर्ष उनको परिवार त्रिपालमै रह्यो । घर ढलान गर्न उनकी दिदी शान्ति ढकालले १० हजार रुपैयाँ लुकाएर दिएकी थिइन् । “त्यो पैसा मैले दिदीलाई तिर्नै पाएको थिइनँ, दिदीलाई नै बाढीले लग्यो, भिनाजु पनि, छोरी पनि । कस्तो भयो, हेर्नु त ?” सावित्रीले डाँको छोडिन् ।

घरबार र आफन्त गुमाएर होल्डिङ सेन्टरमा बसिरहेका अरूका आँखा पनि उनको रुवाइले रसाएका थिए । कोही केही बोल्न सकेनन् । केही बेरपछि विस्तारै उनको रुवाइ कम भयो ।

त्यसपछि फेरि उनले कुरा सुरु गरिन् । पहिरो र भूकम्पबाट जोगिएको परिवार यो बाढीमा भने जोगाउन नसकेको पीडा उनमा थियो । “नातिको पालासम्म टिक्ला भनेर मिहिनेत गरेर बलियो घर बनाएकी थिएँ । तर, केही बाँकी रहेन,” उनले दुःखेसो गरिन् । बाढीले परिवार र घर मात्रै होइन, जग्गाजमिनको पनि नामोनिसान बाँकी नराखेको उनले सुनाइन् ।

सुरु गर्ने कसरी ? 

उनलाई अब के गर्ने थाहा छैन । कहाँ जाने भन्ने पनि सोच्न सकेकी छैनन् । अब कसरी बाँच्ने भन्ने मेसो पनि पाएकी छैनन् । “मलाई थाहा छैन, कहाँबाट फेरि सुरु गर्ने, कहाँ बस्ने ? आफन्तकोमा पनि सधैँ बस्न सक्दिनँ,” हत्केलामा चिउँडो अड्याउँदै बोलिन्, “मेरो यही ठाउँ हो, समाज त यही हो । तर, कसरी सुरु गर्ने, के गर्ने, थाहा छैन ।”

विदुर–१० की सावित्री स्वास्थ्य स्वयंसेविका हुन् । उनलाई आफ्नो कामप्रति असाध्यै लगाव थियो । त्यसमै रमाइरहेकी थिइन् । बाँचुन्जेल स्वास्थ्य स्वयंसेविका भएरै सेवा गर्छु भन्ने सोचेकी थिइन् । अब भने टुंगो छैन, अन्योलमा छिन् ।

परिवारका सदस्य नभेटिएपछि अन्तिम संस्कार गर्ने तयारीमा रहेकी उनले छरछिमेकी र नातेदारले काजकिरिया गर्न सुझाएको बताइन् । “अब परिवारको सदस्य त भेटिँदैनन्, परिवार बितेको ठाउँमा लामा पढाउँछौँ,” सावित्रीले भनिन्, “माइतीघरमा पनि बाआमा पहिल्यै बित्नुभयो । बाँकी रहेका पनि सबै गए । जाने ठाउँ पनि सकियो ।”

सुन्दरी केउरिनी माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका १ सय ५७ जना बाढीपीडितमध्ये ५० जनाले आफ्नो परिवारको सदस्य गुमाएका छन् । यो वडा कार्यालयले भदौ २२ गतेसम्म तयार पारेको तथ्यांक हो ।

परिवार गुमाउने अधिकांश सावित्री जस्तै अन्योलमा छन् । न परिवारका सदस्यको आस मार्न सकेका छन् न त उनीहरूको अन्त्येष्टि गर्न नै ।

“कोही अझै पनि बेपत्ता भएका आफन्तको पर्खाइमा हुनुहुन्छ । कोही दाहसंस्कार गर्ने अवस्थामा हुनुहुन्छ, कोही शोकमा,” विदुर नगरपालिकाबाट व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी प्रवीन प्याकुरेल भन्छन्, “सबै गुमाएका मानिसलाई त केहीको मतलब पनि नहुँदो रहेछ ।”

रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अहिले पनि खोज तथा उद्धारसँगै राहतको काम चलिरहेको छ । बाँचेकालाई सहज बनाउन राहत सामग्री बोकेर विभिन्न संघसंस्थाका मान्छे आएको देखेकी उनी आफूले राहत लिए पनि त्यो सामान राख्ने ठाउँ नै नभएको बताउँछिन् ।

सावित्रीजस्तै अब कसरी अगाडि बढ्ने भन्ने सोच्नसमेत नसकेका नागरिकको जीवनयापनका लागि राज्यले सघाउनुपर्ने स्वास्थ्यकर्मी प्रवीन बताउँछन् । “बाँचेकाहरूलाई सहज बनाउन उनीहरूको आवश्यकता हेरेर भविष्यको योजना बन्नुपर्छ, उनीहरूलाई सोधिनुपर्छ, बुझ्नुपर्छ । कसरी जीवन सहज बनाउन सकिन्छ, त्यो गर्नुपर्छ,” उनी थप्छन्, “उनीहरूको सहज र सुरक्षित भविष्यको योजना राज्यले सुनिश्चित गरेर फेरि बाँच्ने आशा जगाउन सक्नुपर्छ ।”

यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो ।