२२ भाद्र २०८३, सोमबार
,
Latest
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व



फाइल फोटो
अ+ अ-

हेटौँडा। सीमान्तकृत आदिवासी चेपाङ समुदायले आज आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वागी (छोनाम) मनाउँदैछन् ।

विशेषगरी मकवानपुर, चितवन, धादिङ र गोरखाका चेपाङ बस्तीमा यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । न्वागीका अवसरमा बागमती प्रदेश सरकारले आज मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षण तथा सम्मानका लागि प्रदेश सरकारले विसं २०७९ देखि न्वागीका अवसरमा यी तीन जिल्लामा सार्वजनिक बिदा दिँदै आइएको छ ।

नयाँ अन्नबाली भित्र्याएपछि पितृ र भूमिलाई चढाएर मात्र उपभोग गर्ने परम्परासँग न्वागी जोडिएको छ । चेपाङ समुदायमा पितृलाई अर्पण नगरी तथा भूमिको पूजा नगरी नयाँ अन्न, फलफूल र कन्दमूल खान नहुने धार्मिक विश्वास छ । न्वागीका दिन घैया धान, काउनो, गाभा, पिँडालु, घिरौँला र निबुवालगायत नयाँ उत्पादन चढाउने गरिन्छ ।

पर्वका अवसरमा समुदायका झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो बजाउँदै पूजा तथा फलाक्ने र पितृको स्मरण गर्ने धार्मिक विधि सम्पन्न गर्छन् । कतिपय स्थानमा परम्पराअनुसार कुखुराको बलि दिने चलनसमेत छ । पूजा सम्पन्न भएपछि आफन्त तथा छरछिमेकी भेला भएर सामूहिक भोज खाने, नाचगान गर्ने, टीका लगाउने र आशीर्वाद आदानप्रदान गर्ने परम्परा छ ।

चेपाङ भाषामा न्वागीलाई ‘छोनाम’ भनिन्छ भने कतिपय स्थानमा ‘पान्देई घ्यासा’ पनि भनिन्छ । कुल र स्थानअनुसार भदौ सुरु भएदेखि नै झाँक्रीद्वारा पूजा तथा धार्मिक विधि सुरु हुने गरेको नेपाल चेपाङ सङघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताउनुभयो ।

उहाँका अनुसार न्वागी नयाँ अन्न खाने दिन मात्र नभई पितृ र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो । नयाँ बाली पितृलाई नचढाइ खाएमा अनिष्ट हुने जनविश्वास समुदायमा रहेको उहाँले बताउनुभयो ।

न्वागीका दिनलाई चेपाङ समुदायले ‘वारना’ का रूपमा समेत मनाउने गर्छन् । यस दिन काममा ननिस्कने र परिवारका सदस्य घरमै बसेर पूजा, संस्कार तथा भेटघाटमा सहभागी हुने परम्परा छ । वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा विशेष पूजा गरिन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चेपाङ समुदायको जनसङ्ख्या ८४ हजार ३६४ छ । उनीहरूको मुख्य बसोबास मकवानपुर, चितवन, धादिङ र गोरखाका पहाडी क्षेत्रमा रहेको छ । हरेक वर्ष भदौ २२ गते चितवन, मकवानपुर, धादिङ र गोरखामध्ये पालैपालो एक जिल्लामा न्वागी महोत्सव आयोजना गर्ने गरिएको छ ।

न्वागीलाई चेपाङ समुदायको मौलिक संस्कृति, जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र सामाजिक एकता झल्काउने महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । रासस