काठमाडौं: मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रदान गरेको सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरू नन्दकिशोर राठी, मनोज कुमार गोयल, शरद गोयल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
कम्पनीका अनुसार विपद् तथा कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको हो।
मारुती सिमेन्ट्सले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत देश तथा समाजको हितमा आवश्यक सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। विपद्को समयमा पीडित तथा प्रभावित नागरिकसँग हातेमालो गर्नु आफ्नो सामाजिक दायित्व भएको कम्पनीले जनाएको छ।
यसैबीच, कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, विपद्को समयमा उद्धार, राहत तथा पुनर्स्थापनामा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ।









