काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २०० भन्दा बढीको शव फेला परेको छ।
प्रहरीका अनुसार रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५०० विदेशी नागरिकसहित चार हजार २१६ जना अझै सम्पर्कविहीन छन्। बाढीपछि करिब १२ हजार जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावितलाई रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न स्थानमा स्थापना गरिएका ‘होल्डिङ सेन्टर’मा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले बाढीमा परी हराइरहेका व्यक्तिको नदी किनार, जलविद्युत् आयोजना, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
यसैबीच, बाढीपछि प्रभावित क्षेत्रमा विभिन्न रोग फैलिनसक्ने जोखिम रहेकाले स्वास्थ्य सुरक्षामा विशेष सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन्। ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. अमित गौलीले दूषित पानी र अस्वस्थ खानपानका कारण झाडापखालालगायत पेटसम्बन्धी रोग फैलिनसक्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्नसक्ने बताउनुभएको छ।
बाढीका क्रममा लागेका घाउचोटमा सङ्क्रमणको जोखिम हुने भएकाले समयमै उपचार र उचित ड्रेसिङको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ। विपद्का समयमा मधुमेह, उच्च रक्तचाप, दम र क्यान्सरजस्ता दीर्घरोग भएका बिरामी थप जोखिममा पर्ने भएकाले उनीहरूले नियमित औषधि सेवन गर्न पाउने व्यवस्था मिलाउनुपर्ने चिकित्सकको भनाइ छ।
“त्यस अवस्थामा औषधि खाइरहेका बिरामीले नियमितता कायम गर्न नसक्दा र नयाँ सङ्क्रमण थपिँदा जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक छ,” डा. गौलीले भन्नुभएको छ।
चिकित्सकले बाढी प्रभावितको मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान दिन आग्रह गरेका छन्। घरबारविहीन भएका तथा आफन्त गुमाएका नागरिक मानसिक तनावमा पर्नसक्ने भएकाले प्रभावित क्षेत्रमा मनोपरामर्शदाताको परिचालन गरी उनीहरूको आत्मविश्वास बढाउनुपर्ने चिकित्सकको सुझाव छ।
ज्वरो वा सामान्य स्वास्थ्य समस्या देखिँदैमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न चिकित्सकले आग्रह गरेका छन्। प्रभावित क्षेत्रमा जीवनजल, सिटामोल, स्लाइन तथा घाउको ड्रेसिङका सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने र औषधि स्वास्थ्यकर्मीको सल्लाहमा मात्र सेवन गर्नुपर्ने उनीहरूको सुझाव छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।









