१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा



अ+ अ-

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा यातायात पूर्वाधार पुनः सञ्चालन गर्न वाग्मती प्रदेश सरकारले वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम तीव्र पारेको छ।

मुख्यमन्त्री किरण थापा आफैँ फिल्डमा खटिएर रसुवा जाने वैकल्पिक सडक निर्माणको अनुगमन तथा समस्या समाधानमा सक्रिय हुनुभएको छ। उहाँ सोमबार बिहान चोगटे–सरमथली–जीरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माणस्थलमा पुग्नुभएको हो।

मुख्यमन्त्री थापाले डोजरसहित परिचालित प्राविधिक तथा निर्माण टोलीसँग कामको प्रगतिबारे जानकारी लिनुका साथै निर्माणका क्रममा देखिएका अवरोध र समस्याबारे छलफल गर्नुभएको छ। उहाँले प्राविधिक समस्या तत्काल समाधान गर्दै सडक निर्माण तथा स्तरोन्नतिको कामलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ।

बाढीका कारण मुख्य सडक तथा विभिन्न स्थानका पुल र यातायात संरचनामा क्षति पुगेपछि रसुवातर्फको आवागमन प्रभावित भएको छ। सडक सम्पर्क विच्छेद हुँदा स्थानीयवासीको दैनिक आवतजावतसँगै राहत, उद्धार तथा अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या भइरहेको छ।

प्रदेश सरकारले प्रभावित क्षेत्रलाई तत्काल सडक सञ्जालसँग जोड्न वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ। निर्माण भइरहेको सडकलाई थप फराकिलो, सुरक्षित र सहज बनाउने कामसमेत अघि बढाइएको छ।
भदौ १० गतेको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा सडक, पुल, जलविद्युत् आयोजना, घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। बाढीले क्षतिग्रस्त पूर्वाधारका कारण प्रभावित क्षेत्रलाई पुनः सडक सञ्जालसँग जोड्नु अहिले मुख्य चुनौती बनेको छ।

मुख्यमन्त्री थापाले प्रभावित नागरिकको सहज आवतजावत र सुरक्षित यात्रालाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभएको छ। “जनताको सहज यात्रा र सुरक्षित भविष्यका लागि काम निरन्तर जारी छ,” उहाँले भन्नुभएको छ।

प्रदेश सरकारका अनुसार वैकल्पिक सडक छिटो सञ्चालनमा ल्याउन निर्माणस्थलमै प्राविधिक तथा मेसिनरी टोली परिचालन गरिएको छ। सडक सम्पर्क पुनःस्थापित भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्रीको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।