काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट पुगेका थिए। उनले बाढी प्रभावित बस्तीको भौतिक अवस्था तथा बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरी आवश्यक जानकारी लिएका हुन्।
रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय हुँदै आएका छन्। बाढीपछि उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमै पुगेर अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट क्षतिग्रस्त भौतिक संरचना तथा प्रभावित बस्तीको अनुगमन गरेको थियो। टोलीले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे विस्तृत छलफलसमेत गरेको थियो।
सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
स्थलगत निरीक्षण तथा आवश्यक निर्देशन दिएपछि प्रधानमन्त्री शाहसहितको टोली आजै काठमाडौं फर्किएको छ।













