काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडितका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले तीनवटा स्थान तोकेको छ।
सरकारका अनुसार विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। संकलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गरिनेछ।
त्यस्तै, स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिनेछ। ती स्थानमा जम्मा भएका सामग्री पनि आवश्यकताका आधारमा बाढी प्रभावित क्षेत्रमा पठाइनेछ।
बाढीपीडितका लागि राहत सहयोग गर्न चाहने व्यक्ति, संघ–संस्था तथा अन्य दाताले सरकारले तोकेका उक्त तीनवटै स्थानमा सामग्री पुर्याउन सक्नेछन्। त्यसबाहेक इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि राहत सामग्री उपलब्ध गराउन सक्नेछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा राहत सामग्री बुझाउन डब्लुएफपी प्रतिनिधि श्रद्धा भट्टराईलाई ९८४१८७९२२२ मा सम्पर्क गर्न सकिनेछ।
नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेकमा राहत सामग्री उपलब्ध गराउन नेपाली सेनाका आविष्कारलाई ९८५१२३४३२४ तथा धादिङको बैरेनी ब्यारेकमा दिलिप घलेलाई ९८५११५४२२६ मा सम्पर्क गर्न सकिनेछ।
यसैगरी, आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा योगदान गर्न सक्ने सरकारले जनाएको छ।









