काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न मुलुकका पर्यटक बाढीपछि सम्पर्कविहीन भएका हुन्।
बोर्डका अनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्। भारतका १७८ पर्यटकको अवस्था हालसम्म अज्ञात रहेको छ। यस्तै, १२७ नेपाली पर्यटक पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
त्यसैगरी अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक सम्पर्कविहीन छन्।
बोर्डको विवरणअनुसार सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६/६ पर्यटक पनि सम्पर्कविहीन रहेका छन्।
पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीहरूबाट विवरण संकलन गरी पछिल्लो तथ्यांक सार्वजनिक गरेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन पर्यटकको संख्या तथा अवस्थाबारे थप विवरण आउन सक्ने बोर्डले जनाएको छ।









