९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी



अ+ अ-

यमन। यमनको विद्रोही समूह हुथीले सोमवार लाल सागरमा रहेको एक साउदी तेल ट्याङ्करमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।

समूहले साउदी अरेबियासँगको सीमा नजिक साउदी सैन्य बल र एउटा कन्भोयमाथि पनि छुट्टाछुट्टै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारियाले समूहको आधिकारिक टेलिभिजन च्यानल ‘अल–मसिराह’ मार्फत जारी गरेको विज्ञप्तिअनुसार ‘अमजान’ नामक साउदी ट्याङ्करलाई उत्तरी लाल सागरमा प्रहार गरिएको थियो । प्रवक्ता सारियाले सो आक्रमण ‘सटिक र प्रत्यक्ष’ भएको र त्यसका कारण जहाजमा आगलागी भएको दाबी गरेका छन् ।

उनले आक्रमणपछि त्यस क्षेत्रमा रहेका अन्य जहाजहरू सुरक्षित स्थानतर्फ लागेको समेत उल्लेख गरे । उनकाअनुसार यो आक्रमण साउदी जल यातायातमाथि लगाइएको प्रतिवन्धको हिस्सा हो, जसलाई समूहले ‘नाकाबन्दीको बदलामा नाकाबन्दी’ को नीतिका रूपमा व्याख्या गरेको छ ।

यसअघि सोमवार युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेसनले यान्बु शहरबाट करिव ६३ नटिकल माइल पश्चिममा एउटा ट्याङ्करमा ‘अज्ञात वस्तु’ ले प्रहार गरेको जानकारी दिएको थियो । यद्यपि उसले जहाजको पहिचान खुलाएको छैन र आक्रमणको जिम्मेवारी कसैलाई तोकेको छैन ।

सारियाले यमनको दक्षिण–पूर्वी तेल सम्पन्न प्रान्त हद्रामौतमा साउदी सैन्य कन्भोयलाई लक्षित गरी आक्रमण गरिएको दाबी समेत गरे । साउदी सीमाबाट यमन प्रवेश गरेका हतियार बोकेका १० भन्दा बढी सैन्य ट्रकहरू ध्वस्त पारिएको वा जलाइएको हुथीको दाबी छ ।

यसैगरी, उत्तरी अल–जौफ प्रान्तमा साउदी सेनाको उपस्थितिलाई लक्षित गरी गरिएको अर्को कारबाहीमा कमान्डर र अधिकारीसहित दर्जनौँको मृत्यु वा घाइते भएको र हतियार भण्डारहरू नष्ट गरिएको प्रवक्ता सारियाले बताए । यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन र साउदी अधिकारीहरूले पनि यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

गत जुलाई २० मा हुथी समूहले साउदीसँग सम्बन्धित सामुन्द्रिक यातायातमा प्रतिवन्धको घोषणा गरेयता यस क्षेत्रमा तनाव थप बढेको छ ।

पछिल्लो समय यमन सरकार र हुथी विद्रोहीबिच एक–अर्काका नियन्त्रित क्षेत्रहरूमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण तीव्र पारिएका छन् ।

सन् २०१४ को अन्त्यतिर हुथी समूहले राजधानी साना कब्जा गरेसँगै यमन गृहयुद्धमा फसेको थियो । त्यसको एक वर्षपछि साउदी नेतृत्वको सैन्य गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा त्यहाँ सैन्य हस्तक्षेप शुरु गरेको थियो, जुन द्वन्द्व अझै जारी छ ।

सिन्ह्वा/न्युज एजेन्सी नेपाल