१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड



अ+ अ-

काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिइनेभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आधुनिक राजधानी निर्माणका लागि उपत्यकामा दिनानुदिन बढ्दै गएको ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम् प्रयोग गरिने बताइएको हो ।

केही दिन अगाडि मात्र महाशाखामा सरुवा भएर आउनुभएका महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आफ्नो कार्यकालमा ट्राफिक समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधानमा तदारुकता देखाउने बताए । “सरोकारवाला निकायसँग सहकार्य गर्दै व्यवहारमा विनम्रता, कानून कार्यान्वयनमा कडाइ गरिनेछ”, उनले भने ।

ट्राफिक नियमको पालना आम नागरिकको चाहना रहेको भन्दै सबैको सहकार्य आवश्यक रहेको उनको भनाई थियो । फिक नियमको पालना आम नागरिकको चाहना रहेको भन्दै सबैको सहकार्य आवश्यक रहेको उनको भनाई थियो । महाशाखा प्रमुख ढकालले चाँडो नै उपत्यकाका हरेक चोकमा ट्राफिक बत्ती जडान गरिने बताए ।

“प्रहरी सङ्गठन प्रमुखको चाहनाअनुसार सम्बन्धित निकायसँगको सहकार्यमा छिट्टै उपत्यकामा ट्राफिक बत्ती जडान गर्नेछौँ,” उनले भने । विगतमा भएका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी नयाँ कार्यक्रमलाई महाशाखाले अगाडि सार्ने उनको भनाई थियो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनका क्रममा देखिएको पार्किङ अभाव, ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति, साना पुराना र बढी धुवाँ फाल्ने सवारी साधनलाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गरेर समस्याको समाधान गरिने महाशाखा प्रमुख ढकालले बताए ।

काठमाडौँ उपत्यकामा हाल दुई हजार १४ किलोमिटर सडकमा झण्डै १० लाख सवारी साधन ओहोरदोहोर गर्दै आइरहेका छन् । एक ट्राफिक प्रहरीले १.५ किलोमिटर सडक तथा ९०० सवारी साधनको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।