काठमाडौं । राजधानीमा सम्पन्न १९औँ संस्करणको ‘मिस नेवाः नेपाल ११४६’ को उपाधि ललितपुर पाटनकी तिशा शाक्यले जितेकी छन् ।
फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शाक्यले मुख्य उपाधि हात पारेकी हुन् । उपाधिसँगै उनले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
तिशाले मुख्य उपाधिसँगै गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जितिन् । उक्त उपाधिका लागि उनले थप १० हजार रुपैयाँ प्राप्त गरिन् ।
प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप र जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए । फस्ट रनर्सअप सारिकाले ५० हजार तथा सेकेन्ड रनर्सअप जेसिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा विभिन्न विधामा समेत विजेता घोषणा गरिएको थियो ।
सबनम शाक्य मिस ट्यालेन्ट घोषित हुँदा हिमानी प्रधान फस्ट रनर्सअप र करुणा चक्रधर सेकेन्ड रनर्सअप भए । करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भए । सोही विधामा सारिका महर्जन फस्ट रनर्सअप र दृष्टि महर्जन सेकेन्ड रनर्सअप बने ।
दुर्गा देउलाले मिस डिसिप्लिन, हिमानी प्रधानले मिस पब्लिक च्वाइस तथा प्रिस्टिन अवालेले बेस्ट ड्रेसको उपाधि जिते । कञ्चनजंघा अगरबत्ती मिस कल्चरको उपाधि नगद १० हजार रुपैयाँसहित शिक्षा महर्जनले हात पारिन् भने बेलाभिटा मिस पर्सनालिटीको उपाधि निश्ला महर्जनले जितिन् । उनले पनि १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
त्यस्तै, श्री केश बेस्ट हेयरको उपाधि नगद १० हजार रुपैयाँसहित कलशा अवालेले जितिन् । बेस्ट स्किन दृष्टि महर्जन, मिस फोटोजेनिक सारिका महर्जन, मिस स्माइल अनुष्का नाकर्मी र मिस चार्मिङ सोनिया महर्जन घोषित भए । मिस फ्रेन्डसिपको उपाधि रेजिना बज्राचार्यले प्राप्त गरिन् ।
नमुना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्रिन्सिपल तथा फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर प्रमुख निर्णायक रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्मण महर्जन, नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्वअध्यक्ष अनिल स्थापित, सञ्चारकर्मी तथा समाजसेवी रोहन श्रेष्ठ, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी सहसंस्थापक तथा निर्देशक स्वरूपा श्रेष्ठ र नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी सचिव प्रा. दिव्यलक्ष्मी बज्राचार्य निर्णायक रहेका थिए ।
फाइट फर लाइफ नेपालकी वरिष्ठ सल्लाहकार तथा नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी उपाध्यक्ष प्रा. डा. विमला शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न विधामार्फत प्रतियोगीहरूको प्रतिभा, व्यक्तित्व, सांस्कृतिक पहिचान र सामाजिक चेतनालाई सम्मान गरिएको थियो । आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवा समुदायको भाषा, संस्कृति, कला र सामाजिक चेतनाको प्रवद्र्धन गर्ने उद्देश्यले मिस नेवाः नेपाल आयोजना हुँदै आएको बताइन् ।
उनका अनुसार प्रतियोगितामा सौन्दर्यसँगै प्रतियोगीहरूको प्रतिभा, व्यक्तित्व, अनुशासन, नेपालभाषा, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वका विभिन्न पक्षलाई मूल्यांकन गरिँदै आएको छ ।
प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न भएको थियो । मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सोसियल वेलफेयर एम्बासडर चिफ तिमिला महर्जनले सह–संयोजन गरेका थिए भने मिस नेवाः सकिना महर्जन र कृषा महर्जनले संयोजन गरेका थिए ।










