काठमाडौँ। उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ वा धरपकड गर्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले आज उक्त कार्य नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । आदेशमा भनिएको छ, “मिति २०८३÷०४÷२७ मा प्रकाशित समाचारका विषयमा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राख्नेलगायतका कार्य नगर्नू, नगराउनू ।”
आदेशमा प्रकाशित समाचारका विषयमा प्रेस काउन्सिलमा उजुरी परी कारबाहीयुक्त अवस्थामा रहेको भन्ने उल्लेख भएको र उक्त उजुरीको टुङ्गो नलागेको अवस्था हुँदा एवं नेपालको संविधानको धारा १७ मा प्रत्याभूत विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं धारा १९ मा सञ्चारको हक समेत प्रत्याभूत गरेको उल्लेख छ । यसअघि, यही भदौ १ गते पत्रकार श्रेष्ठलाई सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो।











