काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना कल्चरल सेन्टर नेपालको सहकार्यमा १८७औँ विश्व फोटोग्राफी दिवस तथा चाइना कल्चरल सेन्टर नेपालको १०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित ‘थ्रु द आइज अफ नेपाली फोटो जर्नालिस्ट्स–चाइना’ फोटो प्रदर्शनी सम्पन्न भएको छ ।

प्रदर्शनीको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै चाइना कल्चरल सेन्टर नेपालका उपनिर्देशक लिउ झानपिङले नेपाली फोटो पत्रकारहरूले चीन भ्रमणका क्रममा खिचेका तस्बिरमार्फत चीनको भौगोलिक बनावट, प्राकृतिक सौन्दर्य, व्यापार, धर्म, संस्कृति, सम्पदा तथा विकासलाई नेपाली दर्शकमाझ प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै यस्ता कार्यक्रमले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो ।
नेपाल चीन ‘फ्रेन्डसीप फोरम’ का अध्यक्ष डा.कल्याणराज शर्माले फोटोग्राफीले नेपाल र चीनबीचको मित्रता, आपसी समझदारी तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।उहाँले भन्नुभयो “नेपाली फोटो पत्रकारहरूले क्यामेरामार्फत देखेको चीनको संस्कृति, कला, प्रकृति, सम्पदा, विकास तथा जनजीवनलाई तस्बिरमार्फत प्रस्तुत गरेका छन्।”
एनएफपीजे नेपालका अध्यक्ष प्रदीप राज वन्तले फोटोग्राफीले नेपाल र चीनबीचको मित्रता, आपसी समझदारी तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपाली फोटो पत्रकारहरूले चीन भ्रमणका क्रममा क्यामेरामार्फत देखेका चीनका संस्कृति, कला, प्रकृति, सम्पदा, विकास तथा जनजीवनलाई तस्बिरमार्फत प्रस्तुत गरेको बताउनुभयो ।

कार्यक्रमका मुख्य अतिथि नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले नेपाल र चीनका तस्बिरहरूलाई एउटै प्रदर्शनीमार्फत प्रस्तुत गर्नु सकारात्मक सन्देश भएको बताउनुभयो । यस्ता कार्यक्रमले विभिन्न देशबीचको आपसी सम्बन्ध, मित्रता तथा सांस्कृतिक आदान–प्रदानलाई थप बलियो बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

त्यसैगरी, नेपाल पर्यटन बोर्डका अफिस एक्टिङ डाइरेक्टर सुनील शर्माले नेपाल र चीनका फोटो पत्रकारबीचको यस्तो सहकार्यले दुई देशबीच पर्यटन तथा व्यावसायिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । तस्बिरका माध्यमबाट चीनका पर्यटकीय गन्तव्य तथा सांस्कृतिक पहिचानलाई नेपालमा चिनाउने अवसर प्राप्त भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा मुख्य अतिथि चाइना सेन्टर टेलिभिजनका मुख्य रिर्पोटर छाङ युएले नेपाल र चीनका फोटो पत्रकार तथा सञ्चारकर्मीबीचको सहकार्यले दुई देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनीमा चीनका तस्बिर प्रस्तुत गर्ने नेपाली फोटो पत्रकारहरूलाई धन्यवाद दिँदै उहाँले उनीहरूको मेहनत र सिर्जनशीलतामार्फत चीनलाई नेपाली फोटो पत्रकारहरूको दृष्टिकोणबाट बुझ्ने अवसर प्राप्त भएको बताउनुभयो ।

प्रदर्शनी अवलोकन गर्न सर्वसाधारण, सञ्चारकर्मी, फोटो पत्रकार, फोटोग्राफर, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनीमा राखिएका चीनका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा विकाससँग सम्बन्धित तस्बिरहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए ।
अध्यक्ष वन्तले आगामी दिनमा पनि फोटोग्राफीलाई माध्यम बनाएर नेपाल, चीन, बंगलादेशलगायत विभिन्न देशका फोटो पत्रकारबीच सहकार्य तथा सांस्कृतिक सम्बन्धलाई थप विस्तार गर्ने एनएफपीजे नेपालको प्रतिबद्धता रहेको बताउनुभयो ।











