काठमाडौँ। दश वटा बैंकिङ कसुर तथा दुई वटा चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
ललितपुर महानगरपालिका-१० बालकुमारी बस्ने सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका-६ घर भएका ३३ वर्षीय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँको फैसलाले उक्त मुद्दाहरूमा रु एक करोड ५८ लाख ५४ हजार ६३० जरिवाना र १६ दिन कैद सजाय ठहर भई फरार रहेका निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर-१० बालकुमारीबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको प्रहरीले जनाएको छ । रासस











