काभ्रेपलाञ्चोक। जिल्ला काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका –०९ काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट बिल बिजक नभएका ११ किलो ६८२ ग्राम चाँदीका विभिन्न गरगहना तथा तयारी सामान बरामद गरिएको छ ।
शुक्रबार करिब १०:३० बजे अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमाण्डमा खटिएको टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा जिल्ला मोरङ लेटाङ नगरपालिका –०६ का करिब ३६ वर्षीय पदमबहादुर विकले चलाएको को १ च ८६६२ नम्बरको सुमो गाडी रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मोरङ उर्लाबारी नगरपालिका –०६ बस्ने अन्दाजी ४४ वर्षीय खगेन्द्र गजमेरले ल्याएको कार्टुनमा बिल बिजक नभएका चाँदीका विभिन्न गरगहना तथा तयारी सामान फेला परेको हो ।
सामानको बिल तथा कागजात माग गर्दा देखाउन नसकेपछि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सुमो गाडी, चालक वि.क. र सामान ल्याउने गजमेरलाई भन्सार कार्यालय गौचरण, काठमाडौं पठाइएको छ ।
बरामद सामानको नजिकैको मान्यता प्राप्त तराजुमा तौल गर्दा जम्मा ११.६८२ किलो तौल रहेको र अन्दाजी मूल्य ४७ लाख रुपैयाँ रहेको छ ।
बरामद सामानमा कल्ली, जन्तर, जन्तर माला, विभिन्न प्रकारका ब्रासलेट, पोते माला, ढुङ्गी, बुलाकी, टप, औँठी, झुम्का, शिरबन्दी, बल माला, कानमा लगाउने रिङ, चुरा, पाउजु र खड्कुलो लगायत रहेका छन् ।











