वीरगन्ज । (नेस) विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापकसहित ६ जनालाई १ लाख घूस रकम लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका–३१ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बेल्वा प्रसौनीका प्रधानाध्यापक, सहायक प्रधानाध्यापकसहित ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले रंगेहात पक्राउ गरेको हो ।
करारमा विद्यालयमा शिक्षक भर्ना गर्न १ लाख रकम घूस लिँंदै गर्दा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ लिंकरोडस्थित शिवा आँखा अस्पतालको पछाडिको गजुरेल गल्लीमा रहेको चिया पसलबाट पक्राउ गरिएको अख्तियारको टोलीमा सहभागी सदस्यहरूले बताए। पक्राउ पर्नेहरूमा श्री नेरा आधारभूत विद्यालय बेल्वा प्रसौनीका प्रअ. सचिन्द्रकुमार कापर, बारा परवानीपुर गाउँपालिका–१ निवासी सहायक प्रअ मनिर मिया, जितपुर सिमरा नगरपालिका–१० का शिक्षक सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय वीरगन्ज–३१ बेल्वाकै इलियास मियाँ अंसारी र जमिल मिया रहेका छन्।

अर्को विद्यालय व्यवस्थापन समिति सदस्य सकिना खातुनका श्रीमान् पनि करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै घूस रकम बुझ्न आउने टोलीमा सहभागी भएको फेला परेको टोलीका सदस्यहरूले जानकारी दिए । विद्यालयले गणित शिक्षकका लागि करारमा नियुक्त गर्न विज्ञापन निकालेको थियो तर अनुदानको कोटामा समेत नियुक्त गर्न एक जनासँग १ लाख घूस रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको आयोग हेटौंडाका अधिकृत नरबहादुर चन्दले बताए ।
पक्राउ परेका ६ जनालाई नै थप अनुसन्धान र कारबाहीका लागि अहिले नै अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडामा लग्ने तयारी भइरहेको अख्तियारको क्षेत्रीय कार्यालयका सूचना अधिकारी वेदकुमार राईले बताए । , समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










