काठमाडौंः शनिबार राति दुई फरक क्लबका खेलहरु फुटबलप्रेमीहरुका माझ निकै चर्चामा थिए ।
एउटा, स्टार खेलाडीले भरिएको बार्सिलोनामा १६ वर्षे ठिटोको जादुयी खेल तथा दोस्रो, निकै विवादबीच पेरिस पुगेका ब्राजिली स्टार खेलाडी नेइमारको बाइसिकल किक ।
बार्सिलोनामा लियोनेल मेस्सी, लुइस सुवारेज जस्ता हस्ती खेलाडी छन् तर शनिबार रातिको खेलमा गिनी बिसाउका १६ वर्षे फातीले सुन्दर गोल गरेर सबैको मन जिते । घाइते भएका कारण मेस्सीले यो खेल पनि खेल्न सकेनन् ।
फातीले पहिलो हाफको दोस्रो मिनेटमै गोल गरेका थिए । लुइस सुवारेजको २ गोलको मद्दतले अन्ततः बार्सिलोनाले भ्यालेन्सियामाथि ५–२ को भारी गोल अन्तरले जित निकाल्यो ।
अर्कोतर्फ पेरिस सेन्ट जर्माइनबाट बार्सिलोना क्लबमा आबद्ध हुने नहुने हल्ला र सम्भावनाबीच अमिलो मन बनाएर फेरि फ्रान्स पुगेका ब्राजिली फर्वार्ड नेइमारले खेलको अन्तिम इन्जुरी समयमा गोल गरेर आफू सर्वश्रेष्ठ खेलाडी रहेको प्रमाणित गरेरै छाडे ।
दर्शक दिर्घाबाट पटकपटक उनीविरुद्ध हुटिङ भए पनि खेलको ९१औं मिनेटमा उनको बाइसिकल किकले काम गरेको थियो । यही एक गोलका मद्दतले पेरिसले स्ट्रासबर्गलाई ० का विरुद्ध १ गोलले पराजित गरेको थियो । खेलपछि प्रतिक्रिया दिँदै नेइमारले पेरिसका समर्थकले गरेको हुटिङलाई आफूले सामान्य रुपमा लिएको र पेरिसका समर्थकलाई दुःखी बनाएकाले नै हुटिङ गरेको बताए ।