रियाद। साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको दुई ठूला तेल प्रशोधन स्थलमा ड्रोन आक्रमण भएको छ । साउदी सरकारीको स्थानीय मिडियाका अनुसार दुई प्रशोधन स्थलमा भीषण आगलागी भएको हो । संसारकै सबैभन्दा विशाल तेल प्रशोधन स्थलमा आगलागी भएको भिडियोमा आगोको लप्का र धुवाँ देखिएको छ ।
दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगा लागे पनि त्यसलाई नियन्त्रणमा लिइएको जनाइएको छ । इरान निकट यमनका विद्रोही हुथी समूहका एक प्रवक्ताले सो आक्रणका लागि एउटा ड्रोन प्रयोग गरेको बताएका थिए । बेरुतमा रहेको हुथी समूहको अल मसिरा टिभीमा ती प्रवत्ताले थप आक्रमण हुन सक्ने बताए । आक्रमण कसले ग¥यो भन्नेबारे साउदी अरबले बोलेको छैन ।
साउदी प्रेस एजेन्सीका अनुसार औद्योगिक सुरक्षा बलको टिमले स्थानीय समयअनुसार बिहान चार बजेदेखि नै आगो निभाउन सुरु गरेका थिए । साउदीको पूर्वी प्रान्त दहरानबाट ६० किलोमिटर दक्षिण पश्चिममा बकिक रहेको छ । त्यहाँबाट २०० किलोमिटर टाढा सुरैस छ । बकिकमा तेल प्रशोधन हुन्छ । जहाँ प्रतिदिन ७० लाख ब्यारल काचो तेल उत्पादन हुन्छ । यो विश्वको सबैभन्दा ठूलो कच्चा तेलको स्ट्याबिलाइजेसन प्लान्ट हो ।
सन् २००६ मा बकिकमा अलकायदाको आत्मघाती आक्रमणलाई साउदी सुरक्षा बलले विफल बनाइदिएको थियो । खुरैसमा २००९ बाट तेल प्रशोधन सुरु गरिएको हो । यो देशको दोस्रो ठूलो प्लान्ट हो । सो प्लान्टमा प्रतिदिन १५ लाख ब्यारेल कच्चा तेल उत्पादन हुने दाबी गरिएको छ । २० अर्ब ब्यारेल बढी तेल रिजर्भ छ । विश्व तेल बजार सप्ताहन्तरका कारण बन्द छ । जसका कारण तेलको मूल्यमा तत्काल असर नपर्ने आशंका गरिएको छ ।
राजा सलमानका छोरा राजकुमार मोहम्मद बिन सलमानको आर्थिक सुधारको नीतिअनुसार देशको अर्थ व्यवस्थाको तेलमाथिको निर्भरतालाई कम गर्न अरामकोको छिट्टै आईपीओ लन्च गर्ने तयारी रहेको थियो ।
हुथी आक्रमणको पछाडि कसको हात ?
अघिल्लो महिना सयबाह प्राकृतिक ग्याँस क्षेत्रमा पनि ड्रोन आक्रमण भएको थियो । हुथी विद्रोहीमाथि त्यसको आरोप लगाइएको थियो । त्यसबाहेक मेमा अन्य तेल कम्पनीलाई पनि निसाना बनाइएको थियो । हुथी विद्रोहीलाई इरानको सहयोग प्राप्त हुने बताइएको छ । हुथी विद्रोही यमन सरकार र साउदीको नेतृत्वमा रहेका सैनिक बलसँग लडिरहेको छ । साउदी अरबले आफ्नो नेतृत्वमा छिमेकी देशका सेनासँग हुथी विद्रोहीविरुद्ध लडिरहेको छ ।
साउदी नेतृत्वमा रहेको सैनिक गठबन्धनले हरेक दिनजसो यमनमा हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण गरिरहेको हुन्छ । हुथी विद्रोहीले पनि साउदीमाथि मिसाइल प्रहार गरिरहेको समाचार आइरहेका छन् । साउदी र इरानको बढ्दो प्रतिद्वन्द्वका कारण पनि यी क्षेत्रमा तनाव सिर्जना हुने गरेको बताइन्छ ।
गत जुन र जुलाईमा खाडीमा तेल ट्यांकरमाथि भएको आक्रमणको साउदी अरब र अमेरिकाले इरानलाई दोषी देखाए । रानले यो आरोप अस्वीकार गरेको छ । मे महिनामा चार तेल ट्यांकरमाथि आक्रमण भएको थियो । जसमध्ये दुई ट्यांकरमा साउदीको झन्डा थियो । यो आक्रमण संयुक्त अरब अमिरातको जल क्षेत्र गल्फ अफ ओमानमा भएको थियो ।
अमेरिकाले तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सो आक्रमणका लागि इरानलाई दोषी देखाएका थिए । तेहरानले सो आरोपलाई अस्वीकार गर्दै आएको छ । अमेरिकाको एक ड्रोनलाई झारेदेखि इरान र अमेरिकाबीच तनाव सिर्जना भएको थियो । त्यसपछि अमेरिकाले साउदीमा सेना तैनाथ गर्ने घोषणा गरेको थियो ।
अरामको साउदीको सान
अघिल्लो वर्ष अरामकोको कमाई १११ अरब डलर रहेको थियो । २०१८ मा अरामकोले साउदी सरकारलाई १६० अरब डलर रकम दिएको थियो । अरामकोले तेलबाटभन्दा पनि अन्य उत्पादनबाट आम्दानी गरेको दाबी गरिएको छ । अरामकोसँग विश्वका ठूलो मानिएको तेल क्षेत्र छन् । अरामको तेल कम्पनीको पाँच प्रतिशत सेयर बेच्ने योजना थियो ।
यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ हुने बताइएको थियो । अरामकोको आईपीओ मोहम्मद विन सलमाको भिजन २०३० कार्यक्रमको एक कार्यक्रमका रूपमा लिइएको छ । जसका कारण साउदीले तेलमाथि निर्भर रहेको अर्थ व्यवस्थालाई कम गर्दै लैजानेछ ।
यो कम्पनीको स्थापना अमेरिका तेल कम्पनीले गरेको थियो । अरबी–अमेरिकी आयल कम्पनीलाई साउदीले १९७० को दशकमा राष्ट्रियकरण गरेको थियो । यो एकदेखि डेढ ट्रिलियन डलरको कम्पनी रहेको बताइएको छ । राजकुमार सलमान भने यसलाई दुई ट्रिलियन डलरको कम्पनी बनाउन चाहन्थे ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।