३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा

राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा
अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन संशोधनका सम्बन्धमा संघीय संसद्को अर्थ समितिमा भएको छलफलमा सांसदहरूले राष्ट्र बैंकको संरचनागत सुधार, डेपुटी गभर्नरको संख्या र सञ्चालक समितिको स्वायत्तताका विषयमा फरक–फरक धारणा व्यक्त गरेका छन् ।

विशेषगरी डेपुटी गभर्नरको संख्या बढाउने वा नबढाउने तथा राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवको भूमिकालाई लिएर सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरूबीच मतभेद देखिएको हो ।

मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले राष्ट्र बैंकको कार्यक्षेत्र र जिम्मेवारी विस्तार भएकाले हाल दुई जना रहेको डेपुटी गभर्नरको संख्या बढाएर तीन जना बनाउनुपर्ने प्रस्ताव गर्नुभयो ।

उहाँले मौद्रिक नीतिसँगै बैंकिङ नियमन तथा सुपरिवेक्षण, वित्तीय स्थायित्व, विदेशी विनिमय, डिजिटल बैंकिङ र भुक्तानी प्रणालीजस्ता क्षेत्रमा राष्ट्र बैंकको जिम्मेवारी बढेकाले कार्यबोझ व्यवस्थापन गर्न पदाधिकारीको संख्या थप गरी स्पष्ट कार्यविभाजन गर्नुपर्ने बताउनुभयो ।

राणाका अनुसार तीनमध्ये एक डेपुटी गभर्नरलाई मौद्रिक नीति, वित्तीय नीति तथा अनुसन्धान, दोस्रोलाई बैंकिङ नियमन तथा सुपरिवेक्षण र तेस्रोलाई वित्तीय स्थायित्व, डिजिटल वित्त तथा भुक्तानी प्रणालीको जिम्मेवारी दिन सकिन्छ ।

उहाँले तीनमध्ये एक जना डेपुटी गभर्नर बाह्य विज्ञबाट नियुक्त गर्ने व्यवस्था गरिए निजी क्षेत्रको अनुभव र बुझाइ भएको व्यक्ति छनोट गर्नुपर्ने बताउनुभयो । यसले राष्ट्र बैंक र निजी क्षेत्रबीचको समन्वय थप प्रभावकारी हुने उहाँको भनाइ थियो ।

डेपुटी गभर्नरको संख्या थप्नु पद वृद्धि मात्र नभई विशेषज्ञतामा आधारित जिम्मेवारी बाँडफाँट, स्पष्ट कार्यविभाजन र जवाफदेहिता सुनिश्चित गर्ने कदम भएको राणाले बताउनुभयो । महिला सहभागिताका विषयमा उहाँले संख्या तोक्नुभन्दा योग्यता र दक्षताका आधारमा नेतृत्व तहमा महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।

यता, प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले डेपुटी गभर्नरको संख्या बढाउन नहुने बताउनुभयो । संख्या बढाउँदा संस्थाभित्र गुटबन्दी, कार्यगत टकराव र क्षेत्राधिकारको विवाद बढ्न सक्ने उहाँको तर्क थियो ।

गिरीले डेपुटी गभर्नरको संख्या दुईबाट तीन पुर्‍याउँदा माथिल्लो तहका अधिकारीबीच ‘लविइङ’ बढ्न सक्ने र त्यसले गभर्नरलाई काम गर्न थप कठिन हुने बताउनुभयो । डिजिटल युगमा तल्लो तहका निकायलाई थप बलियो बनाउन सकिने भए पनि डेपुटी गभर्नरको संख्या थप्न आवश्यक नरहेको उहाँको भनाइ थियो ।

उहाँले अर्थ मन्त्रालयका सचिवलाई राष्ट्र बैंकको सञ्चालक समितिमा आमन्त्रित सदस्यका रूपमा मात्र राख्ने प्रस्तावको समेत विरोध गर्नुभयो । सरकार र राष्ट्र बैंकबीचको समन्वयका लागि अर्थ सचिवलाई पदेन सदस्यकै रूपमा राख्नुपर्ने उहाँले बताउनुभयो ।

सञ्चालक समितिमा महिला सहभागिताका विषयमा गिरीले निश्चित संख्या तोक्नुभन्दा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले राष्ट्र बैंकको सञ्चालक समितिको संरचना र सदस्यहरूको योग्यतामा व्यापक परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्र बैंक ऐनको दफा २० मा सञ्चालकको योग्यतासम्बन्धी व्यवस्थामा रहेको वाणिज्य कानुनमा स्नातक हुनुपर्ने प्रावधान हटाउन सुझाव दिनुभयो । राष्ट्र बैंकलाई कानुनी सहयोग आवश्यक परे पनि सञ्चालक समितिमा अनिवार्य रूपमा वाणिज्य कानुनकै विज्ञ राख्नुपर्ने आवश्यकता नरहेको उहाँको तर्क थियो ।

तामाङले समयको आवश्यकताअनुसार सञ्चालक समितिमा डिजिटल बैंकिङ तथा डिजिटल वित्त र कृषि क्षेत्रका विज्ञलाई समावेश गर्नुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा लगानी प्रवद्र्धन र विकास आवश्यक रहेकाले बोर्डमा कृषि विज्ञको उपस्थिति महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

सञ्चालकका लागि प्रस्तावित १० वर्षको कार्यअनुभवको अवधि पनि व्यवहारिक नभएको भन्दै उहाँले त्यसलाई घटाएर सात वर्ष कायम गर्न सुझाव दिनुभयो ।

तामाङले अर्थ सचिवलाई राष्ट्र बैंकको सञ्चालक समितिको अनिवार्य सदस्य बनाउनुको सट्टा पाँच सदस्यीय मौद्रिक नीति समिति गठन गर्नुपर्ने प्रस्ताव गर्नुभयो । उहाँका अनुसार उक्त समितिमा सरकारबाट तीन जना र राष्ट्र बैंकबाट दुई जना प्रतिनिधि रहने व्यवस्था गर्न सकिन्छ । यसबाट मौद्रिक नीतिमा सरकारको सहभागिता सुनिश्चित हुनुका साथै अर्थ सचिवमाथिको अतिरिक्त जिम्मेवारीसमेत कम हुने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले भने राष्ट्र बैंकको सञ्चालक समितिमा महिलाको अनिवार्य प्रतिनिधित्वसँगै डेपुटी गभर्नरको संख्या तीन जना बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले राष्ट्र बैंकको सात सदस्यीय सञ्चालक समिति उपयुक्त हुने र त्यसमा कम्तीमा एक जना महिला सदस्यको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । यस विषयमा संशोधनकर्ता सदस्यहरूबीच लगभग सहमति भइसकेको उहाँको भनाइ थियो ।

बुढाले गभर्नर र सञ्चालक समितिका सदस्यहरूको योग्यता समान हुन नहुने बताउँदै राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवको प्रतिनिधित्व पनि आवश्यक नरहेको धारणा राख्नुभयो । राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार हुनुका साथै सरकारमाथि निगरानीसमेत राख्नुपर्ने स्वायत्त निकाय भएकाले नीतिगत स्वतन्त्रताका लागि अर्थ सचिव सञ्चालक समितिमा रहन नहुने उहाँको तर्क थियो ।

नेकपा एमालेका सांसद प्रा. डा. पुष्पराज कँडेलले भने डेपुटी गभर्नरको संख्या तीन जना बनाउन नहुने बताउनुभयो । संख्या बढाउँदा उनीहरूबीच कार्यगत टकराव र असमझदारी बढ्न सक्ने भन्दै उहाँले हालकै दुई जना डेपुटी गभर्नरको व्यवस्था उपयुक्त रहेको धारणा राख्नुभयो ।

कँडेलले सञ्चालक समितिमा अर्थ सचिवको उपस्थितिले हालसम्म मौद्रिक नीतिको स्वतन्त्रतामा कुनै अवरोध सिर्जना नगरेको बताउनुभयो । अर्थ सचिवकै कारण नीतिगत समस्या उत्पन्न भएको आफूले नसुनेको भन्दै यस विषयमा धेरै चिन्ता गर्न आवश्यक नरहेको उहाँको भनाइ थियो ।

गभर्नर तथा सञ्चालक समितिका सदस्यहरूको योग्यताका विषयमा उहाँले शैक्षिक योग्यता स्नातकोत्तर नै पर्याप्त हुने बताउँदै त्यसलाई थप बढाउनुभन्दा कार्यअनुभवको अवधिमा आवश्यक परिमार्जन गर्न सकिने सुझाव दिनुभयो ।

कँडेलले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा सदस्य संख्या कम हुँदा शक्ति सीमित प्रवद्र्धकहरूमा केन्द्रित भएको बताउनुभयो । बैंकहरूको सञ्चालक समितिमा सार्वजनिक प्रतिनिधित्व कम हुँदा ‘चेक एन्ड ब्यालेन्स’ कमजोर भएको उहाँको विश्लेषण थियो ।

उहाँले हालको बैंकिङ संकटको एउटा कारण प्रवद्र्धकहरूको इच्छाअनुसार बैंक सञ्चालन हुनु पनि रहेको दाबी गर्नुभयो । बैंक तथा वित्तीय संस्थामा व्यावसायिक सञ्चालकको संख्या बढाउनुपर्नेमा जोड दिँदै उहाँले हाल एक जना मात्र व्यावसायिक सञ्चालक राख्ने व्यवस्था प्रभावकारी नभएको बताउनुभयो ।

भारतको उदाहरण दिँदै कँडेलले कम्तीमा दुई जना व्यावसायिक सञ्चालक राख्ने व्यवस्था गरिए उनीहरूबीच आपसी छलफलबाट स्वतन्त्र र निष्पक्ष राय आउने वातावरण बन्न सक्ने धारणा राख्नुभयो ।

बैठकमा सांसदहरूले राष्ट्र बैंकको स्वायत्तता, पदाधिकारीको योग्यता, डेपुटी गभर्नरको संख्या, सञ्चालक समितिको संरचना तथा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा व्यावसायिक प्रतिनिधित्वलगायत विषयमा फरक–फरक सुझाव दिएका छन् ।

– न्युज एजेन्सी नेपाल