३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

राष्ट्रको समृद्धि र पूर्वाधार विकास दक्ष इन्जिनियरको भूमिकामा निर्भर : मन्त्री श्रेष्ठ

राष्ट्रको समृद्धि र पूर्वाधार विकास दक्ष इन्जिनियरको भूमिकामा निर्भर : मन्त्री श्रेष्ठ
अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको भूमिकामा निर्भर रहने बताउनुभएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालय जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आयोजित नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुआत नभई राष्ट्र निर्माणको अभियानमा आफूलाई समर्पित गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गर्नुभयो ।
उहाँले अब केवल प्राविधिक जनशक्ति मात्र नभई राष्ट्रसेवकको भूमिकामा प्रवेश गरेको उल्लेख गर्दै प्रत्येक निर्णय, प्राविधिक सुझाव, हस्ताक्षर र कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले कुनै पनि राष्ट्रको विकास, सभ्यता र समृद्धिको इतिहास इन्जिनियरहरूको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको बताउनुभयो । सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलाशय, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार, औद्योगिक संरचना तथा आधुनिक सहरहरूको निर्माण इन्जिनियरहरूको दूरदृष्टि र क्षमताको परिणाम भएको उहाँको भनाइ थियो ।

उहाँले इन्जिनियरिङलाई केवल गणित र विज्ञानको प्रयोगका रूपमा नभई समस्यालाई समाधानमा रूपान्तरण गर्ने सिर्जनात्मक क्षमता भएको क्षेत्रका रूपमा व्याख्या गर्नुभयो । सफल इन्जिनियरले संरचना मात्र निर्माण नगरी अवसर, विश्वास र भविष्य निर्माण गर्ने भएकाले उनीहरूको भूमिका राष्ट्र विकासमा अत्यन्त महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले नेपाल अहिले ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जाको प्रवद्र्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार, जलस्रोतको समुचित उपयोग तथा जलवायु परिवर्तन अनुकूल पूर्वाधार निर्माणको नयाँ चरणमा रहेको बताउँदै यी महत्वाकांक्षी लक्ष्यहरू नीति र बजेटले मात्र नभई दक्ष, प्रतिबद्ध र इमानदार प्राविधिक जनशक्तिको योगदानबाट मात्र पूरा हुने स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रसेवामा ज्ञानसँगै चरित्रको पनि उत्तिकै महत्व रहेको उल्लेख गर्दै सरकारी सेवामा प्राविधिक दक्षताभन्दा पनि नैतिक साहस कहिलेकाहीँ अझ महत्वपूर्ण बन्ने बताउनुभयो । सहज र सहीमध्ये कुनै एक रोज्नुपर्ने अवस्था आएमा सही बाटो रोज्ने साहस नै सच्चा राष्ट्रसेवकको पहिचान हुने उहाँको भनाइ थियो ।
इन्जिनियरको सबैभन्दा ठूलो सम्पत्ति प्रमाणपत्र नभई समाजले गर्ने विश्वास भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पारदर्शिता, उत्तरदायित्व, निष्पक्षता र सार्वजनिक हितलाई कार्यसंस्कृतिको केन्द्रमा राख्न सबैलाई आग्रह गर्नुभयो । जनताको सरकारप्रतिको विश्वास राष्ट्रसेवकको इमानदार व्यवहारबाट निर्माण हुने भएकाले प्रत्येक कर्मचारीले उच्च नैतिक आचरण कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले विश्वभर तीव्र गतिमा विकसित भइरहेको प्रविधिले इन्जिनियरिङको स्वरूप परिवर्तन गरिरहेको उल्लेख गर्दै निरन्तर अध्ययन, अनुसन्धान र नयाँ प्रविधिको आत्मसात् नगरी भविष्यका चुनौती सामना गर्न नसकिने बताउनुभयो। आज प्राप्त ज्ञानलाई नियमित रूपमा अद्यावधिक गर्दै नवप्रवर्तनमुखी सोच विकास गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

नेपालका स्रोत सीमित भए पनि सोच र सिर्जनशीलता सीमित हुन नहुने उल्लेख गर्दै उहाँले स्थानीय ज्ञान, परम्परागत सीप र आधुनिक प्रविधिको प्रभावकारी संयोजनमार्फत भौगोलिक चुनौतीलाई विकासको अवसरमा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। कम लागतमा उच्च गुणस्तरका पूर्वाधार निर्माण, जलवायु परिवर्तनअनुकूल डिजाइन, हरित ऊर्जा, ऊर्जा दक्षता, डिजिटल प्रविधि र दिगोपनलाई विकासको आधार बनाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।

पूर्वाधार निर्माणमा गुणस्तरप्रति कुनै सम्झौता गर्न नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले डिजाइनदेखि कार्यान्वयन, सुपरिवेक्षणदेखि परीक्षणसम्म प्रत्येक चरणमा उच्च गुणस्तर कायम गर्न निर्देशन दिनुभयो। सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले प्राविधिक मापदण्ड र व्यावसायिक नैतिकतालाई कडाइका साथ पालना गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले देशले नयाँ पुस्ताका इन्जिनियरहरूबाट केवल प्राविधिक दक्षता मात्र नभई नवीन सोच, सकारात्मक ऊर्जा, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको उल्लेख गर्नुभयो ।

सम्बोधनको अन्त्यमा मन्त्री श्रेष्ठले भोलिको समृद्ध नेपाल केवल संसद् वा मन्त्रालयले मात्र निर्माण नगर्ने, हजारौँ इमानदार, दक्ष र समर्पित राष्ट्रसेवकहरूको संयुक्त योगदानबाट मात्र निर्माण हुने विश्वास व्यक्त गर्दै राष्ट्रसेवाको यात्रामा समर्पण, इमानदारी र उत्कृष्ट कार्यसम्पादनका साथ अघि बढ्न नवप्रवेशी इन्जिनियरहरूलाई प्रेरित गर्नुभयो। साथै तालिम सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रहितलाई सर्वोपरि राखेर जिम्मेवारी निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो ।