१४ आश्विन २०८१, सोमबार
,
Latest
फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु धादिङका प्रहरी प्रमुख पनि प्रधान कार्यालय तानिए बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब ट्रकको डाली छोपेर गाईगोरु ओसार्न नपाइने



अ+ अ-

झापा । झापा प्रहरीले ट्रकको डाली छोपेर गाईगोरु ओसार्न प्रतिबन्ध लगाएको छ । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौँदेखि चलिरहेको गाईगोरुको तस्करी धन्दा रोक्न प्रहरीले यस्तो विशेष योजना अघि बढाएको हो ।

झापाको प्रहरीले मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रबाट गाईगोरुलाई ठूला ट्रकमा डाली छोपेर ओसारपसार गर्न र सिधैँ सीमावर्ती बजारमा लैजान बन्देज लगाएको हो । सीमाका बजारमा बिक्री गर्ने बहानामा खुला सीमाको फाइदा उठाउँदै गाईगोरु सिधैँ भारत पुर्याउने पहिल्यैदेखि चलेको तस्करी गतिविधि रोक्न त्यस्तो बन्देज लगाउनुपरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ठूला गाडीमा ल्याइएका गाईगोरुलाई दमक पशुहाटमा उतारेर साना गाडीमार्फत मात्र झापाका अरु बजारमा लैजान दिने व्यवस्था गरिएको बताए। गाईगोरु बोक्ने साना गाडीसमेत डाली खुला भएको हुनुपर्ने नियम लगाइएको छ । दमकलाई झापाको सबैभन्दा ठूलो पशुबजार मानिन्छ । त्यहाँबाट त्रिपालले डाली छोपिएका ठूला ट्रकमा गाईगोरु लोड गरेर खुला सिमाना कटाउँदै भारत तस्करी हुने गरेको स्थानीयवासीको भनाइ छ ।

तस्करीमा संलग्न व्यक्तिहरुले झापाको ज्यामिरगढी, भद्रपुर, पृथ्वीनगर, टाघनडुब्बा र गौरीगञ्ज सीमा क्षेत्रबाट गाईगोरु भारतको नक्सलबाडी, खोरीबारी, गलगलिया, कादोगाउँ र डिगल बैंक पुर्याउने गरेका छन् । स्थानीय बजारबाट लुकाइछिपाइ ल्याइएका गाईगोरुलाई चरनमा लैजाने बहाना गरी सीमावर्ती गाउँको सेल्टरमा थुपार्ने र प्रहरी प्रशासनको आँखा छलेर सीमापार गराउने तस्करी धन्दा अब रोकिने अपेक्षा गरिएको छ ।

गन्तव्य गलत बताएर ओसारपसार गरेको पत्ता लागेमा गाईगोरुलाई पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फ लैजान पूर्णतः रोक लगाउन जिल्लाभरिका प्रहरी कार्यालयमा जिल्ला प्रहरी कार्यालय झापाले सर्कुलर पठाएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार २०७६ वैशाखदेखि भदौसम्मको पाँच महीना अवधिमा प्रहरीले १४८ गाईगोरु भारत तस्करी हुनलागेको अवस्थामा नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । नियन्त्रणमा लिइएकामध्ये २९ गाईलाई भद्रपुर गौशालामा संरक्षणका लागि बुझाइएको प्रहरीको भनाइ छ ।