३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल
अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग एसिया–प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा सञ्चार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, नेपालमा सञ्चारसम्बन्धी कानुनी सुधार तथा नेपालमा आयोजना हुन लागेको एआईबिडीको २४औँ सम्मेलनका विषयमा छलफल भएको छ ।

भेटका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सञ्चार क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान तथा यस्ता सम्मेलनले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा आयोजना हुने एआईबिडीको सम्मेलनले सञ्चार क्षेत्रका समसामयिक चुनौती र अवसरबारे बहस गर्ने अवसर प्रदान गर्नुका साथै सरकारले अघि बढाइरहेको सञ्चार कानुन सुधार प्रक्रियालाई समेत उपयोगी पृष्ठपोषण गर्ने बताउनुभयो ।

“एक दशकअघिको सञ्चार क्षेत्र अहिले निकै परिवर्तन भइसकेको छ, आगामी दिनमा अझ नयाँ आयाम थपिँदै जानेछन् । त्यसैले सरकारले सञ्चार क्षेत्रका लागि नयाँ कानुन निर्माण गर्ने र पुराना कानुन संशोधन गर्ने काम अघि बढाइरहेको सन्दर्भमा नेपालमा हुने सम्मेलनबाट प्राप्त सुझाव नीतिनिर्माणमा उपयोगी हुने विश्वास लिएका छौँ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो ।

उहाँले नेपालमा सामुदायिक रेडियोले सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो । रेडियो र टेलिभिजनजस्ता विद्युतीय सञ्चार माध्यमले लोकतन्त्र प्रवद्र्धन, नागरिक सहभागिता वृद्धि तथा उत्तरदायी शासन प्रणाली निर्माणमा प्रभावकारी भूमिका खेल्दै आएको उहाँको भनाइ थियो ।

सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रले अहिले आर्थिक दिगोपन, प्रविधिगत रूपान्तरण, खस्कँदो विश्वसनीयतालगायतका चुनौती सामना गरिरहेको उल्लेख गर्दै ती चुनौती समाधानका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

नागरिक पत्रकारिता (सिटिजन जर्नलिज्म) को विस्तार र डिजिटल माध्यमको तीव्र विकाससँगै मुख्यधारका सञ्चारमाध्यमको विश्वसनीयता, व्यावसायिकता र दिगोपनबारे थप गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता रहेको उहाँले औँल्याउनुभयो ।

नेपालमा आयोजना हुने एआईबिडीको २४औँ सम्मेलन सफल बनाउन सरकार आयोजक संस्थासँग आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न तयार रहेको पनि सञ्चारमन्त्री तिमिल्सिनाले बताउनुभयो ।

यस अवसरमा एआईबिडीकी प्रमुख कार्यकारी अधिकृत फिलोमेना ज्ञानप्रगासमले दक्षिण एसियामा रेडियो अझै पनि प्रभावकारी सञ्चार माध्यमका रूपमा रहेको बताउनुभयो । विशेषगरी नेपालको सामुदायिक रेडियो अभियानले ठूलो जनसमुदायसम्म सूचना पु¥याउन उल्लेखनीय भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।

उहाँले मिडिया क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै रेडियो र टेलिभिजनले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सूचना प्रणाली, जलवायु परिवर्तन, मानव अधिकार तथा समसामयिक सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाइरहेको बताउनुभयो । विपद्को समयमा पूर्वसूचना तथा विश्वसनीय जानकारी प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा विद्युतीय सञ्चार माध्यमको भूमिका अझै पनि महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

एआईबिडीले अन्तरसरकारी संस्थाका रूपमा सदस्य राष्ट्रबीच प्रसारण क्षेत्रको अनुभव, नीति तथा प्रविधि आदानप्रदानमा क्रियाशील रहेको जानकारी दिँदै उहाँले नेपालमा हुने सम्मेलनले विद्युतीय सञ्चार माध्यमको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अनुभवबीच ज्ञान आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)का अध्यक्ष अर्जुन गिरीलगायतका पदाधिकारीले नेपालमा सामुदायिक रेडियोले सामाजिक मुद्दा उठाउने, सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउने तथा स्थानीय तहमा सूचना प्रवाह गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँहरूले डिजिटल तथा नयाँ सञ्चार माध्यमको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सामुदायिक रेडियोले कानुनी, नीतिगत तथा प्रशासनिक जटिलता भोगिरहेको उल्लेख गर्दै तीनै तहका सरकारसँग काम गर्नुपर्ने वर्तमान संरचनामा आवश्यक कानुनी सहजीकरण गर्न आग्रह गर्नुभयो । विशेषगरी विपद्को समयमा सामुदायिक रेडियोलाई राज्यबाट संरक्षण र सहजीकरणको व्यवस्था गर्नुपर्ने अकोरावको भनाई थियो ।

अकोराबका पदाधिकारीहरूले दक्षिण एसियामा सामुदायिक रेडियो अभियानको नेतृत्वदायी भूमिका नेपालले निर्वाह गर्दै आएको उल्लेख गर्दै सन् २०१२ मा पनि नेपालमा एआईबिडीको यस्तै प्रकृतिको कार्यक्रम सफलतापूर्वक आयोजना भएको स्मरण गराएका थिए ।

उक्त भेटमा आगामी आगामी अगष्ट २३ देखि २५ सम्म काठमाडौँमा आयोजना हुने एआईबिडीको २४औँ सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका विभिन्न मुलुकका प्रसारण क्षेत्रका नीति निर्माता, सञ्चार विज्ञ, प्रसारक संस्था तथा सञ्चारकर्मीहरूको सहभागिता रहने आयोजक अकोरावले जनाएको छ ।