१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवस : हातहातमा झण्डा, मनमनमा संविधान



अ+ अ-

काठमाडौं । संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा देशभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

हजारौँको बलिदानपछि सशस्त्र स ङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो । विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्को युगको प्रारम्भ भएको दिन पनि हो ।

संविधान दिवसलाई यसपटक पृथक बनाउने उद्देश्यअनुरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित मुलुकभरका कार्यक्रम झण्डामय बन्न पुगेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमात्रै होइन, हरेक सरकारी कार्यालय, संस्थान, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारण हातहातमा झण्डा बोकी झण्डा अङ्कित टिसर्ट लगाएर दिवसमा सरिक भए । यसपटक सरकारले कार्यविधि परिवर्तन गरेर घरघरमा समेत झण्डा राख्न पाउने व्यवस्था गरेपछि यसको रौनक थप बढेको छ ।

संविधान दिवसका अवसरमा राजधानीको टुँडिडखेलमा सहभागी नेपाल बैंकका कर्मचारीले ‘हाम्रो सरकार, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै समावेशी संविधान जारी भएको सुखद अवसरमा खुशियाली साटे ।

राष्ट्रको गौरव राष्ट्रिय झण्डा अङ्कित सेतो टिसर्ट लगाउनुभएका उहाँहरुको हातहातमा झण्डा थियो । जनप्रतिनिधिद्वारा जारी मुलुकको पहिलो संविधानलाई मनमस्तिष्कमा राखेर उहाँहरु झण्डा फहराउँदै नाचगानमा व्यस्त हुनुभयो ।

यसैगरी आ–आफ्ना समूहमा झण्डा फहराएर विभिन्न सङ्घसंस्थाका प्रतिनिधि दिवसमा सहभागी भए । राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागितामा टुँडिखेलमा आयोजित विशेष समारोह चल्दै गर्दा पछिल्लो भागमा विभिन्न जातजातिको झाँकीसहित नाचगान गरेर खुशियाली मनाउनेको ठूलो भीड थियो ।

टुँडिखेलको चौर सर्वसाधारणदेखि सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले भरिभराउ थियो । सबैले हातहातमा राष्ट्रिय झण्डा फहराएका थिए । अधिकांश सहभागीले झण्डा अङ्कित टिसर्ट लगाएका थिए । संविधान जारी भएको खुशी त छँदै थियो, त्यसमाथि कार्यक्रम झण्डामय भएकामा रौनक थप बढेको थियो ।

एक बैंकका कर्मचारी शैलजा शाहलाई यसपटकको संविधान दिवस खास लाग्यो । “विगतमा क्यालेन्डरमा मात्रै सीमित थियो, यसपालि साँच्चै नै दिवस आए झैँ भयो, झण्डा बोकेर आउँदा छुट्टै उत्साह भयो”, शाहले भन्नुभयो । यसपटक झण्डा मात्रै भएकाले आगामी वर्ष राष्ट्रिय पोशाकमा सरिक हुन पाइयो भने दिवसको महत्व अझै बढ्ने भन्दै उहाँले सरकारलाई सुझावसमेत दिनुभयो ।

सरकाले यसपटक ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नारा तय गरेको थियो । उक्त नारालाई चरितार्थ गर्दै आज घरघरबाट झण्डा बोकेर सरकारी कर्मचारी तथा सङ्घसंस्थाका प्रतिनिधि दिवसको खुशियालीमा रमाए । सर्वसाधारणको स्वतःफूर्त सहभागिता थियो ।

विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित मौलिक वेषभूषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । सांस्कृतिक संस्थानले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सांस्कृतिक झाँकी प्रदर्शन गरेको थियो । सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्मा समावेशी संविधानअनुसार सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी झाँकी ल्याएको बताउनुभयो ।

टुँडिखेलमा कतै नौमती बाजा, कतै लाखे नाच, कतै सारङ्गीको धुन त कतै नेवारी समुदायका विभिन्न झाँकी र नृत्य प्रस्तुत भएका थिए । जुनसुकै कार्यक्रममा पनि सम्मानका साथ झण्डाको प्रयोगले संविधान दिवस थप उल्लासमय भएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुँदा तलबाट झण्डा फहराएर स्वागत गरिएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल स्काउटबाट कवाज प्रदर्शन भएको थियो । विभिन्न क्षेत्रका जातजातिको वेषभूषासहितको झाँकी पनि प्रदर्शन गरिएको थियो ।

दिवसका अवसरमा नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्र, मौलिक संस्कृति, परम्परा तथा वन्यजन्तुको झलकसहित टुँडिखेलमा प्रदर्शन गरिएको थियो । उक्त अभियानमा भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य आफैँ सक्रिय हुनुहुन्थ्यो । यहाँ कृषि, पशुका उन्नत बीउ तथा उत्पादनका बारेमासमेत प्रदर्शन गरिएको थियो ।