१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण सुनिश्चित रहेकाे प्रधानमन्त्रीको भनाइ



अ+ अ-

काठमाडाैंः चीनका राष्ट्रपति सी चिनफिङ नेपालको औपचारिक भ्रमणका लागि आउने पक्का भएको प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलका शीर्ष तहका नेताहरुलाई जानकारी गराएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भ्रमणको मिति र दिनका विषयमा छलफल चलिरहेको जानकारी गराएकाे बैठकमा सहभागी एक नेताले बताए । भ्रमणमा नेपालले मुख्य रुपमा रेल निर्माणको विषयलाई उच्च प्राथमिकतामा राख्ने भए पनि एजेन्डाहरु अझै तय भइसकेका छैनन् । प्रधानमन्त्रीले राष्ट्रपति सीको भ्रमणका बारेमा पार्टीभित्र एजेन्डा नै बनाएर छलफल गर्ने बताएका थिए ।

राष्ट्रपति सी दशैं लगतै भारत हुँदै नेपाल आउने कार्यक्रम छ । सी भारत-चीन सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । भारतबाट सोझै नेपाल आउने गरी नेपालले तयारी गरेको हो । यसअघि नै उपप्रधानमन्त्री इश्वर पोखरेलले चिनियाँ राष्ट्रपति नेपाल भ्रमण निश्चित भइसकेको काठमाडौंको टोखामा आयोजित एक कार्यक्रममा बताएका थिए ।

दुबै देशका परराष्ट्र मन्त्रालयले अद्यापी भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरेका छैनन् । तर १४ अक्टोेबर अर्थात २७ असोजमा आउनेछन् र, भोलिपल्ट फर्किने स्रोतको दाबी छ ।

राष्ट्रपति सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली सोमबार नेपाल आउँदैछ । टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग ‘सी जिनपिङ थप’बारे समेत छलफल गर्ने कार्यक्रम छ ।

सरकारले भने सीको भ्रमणका क्रममा गर्न सकिने सम्झौताहरुका लागि गृहकार्य थालेको छ ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा छलफल भएको काठमाडौं केरुङ रेल, मदन भण्डारी विश्वविद्यालय लगायतका विषयलाई टुंग्याउने सरकारको प्रयास छ ।

स्रोतका अनुसार सीको भ्रमणका क्रममा रेलको डीपीआर गर्ने सम्झौता हुनसक्छ । तर, लगानीबारे अहिलेसम्म टुंगो लागेको छैन ।