१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव सेवा आश्रममा फलफूल वितरण



अ+ अ-

पोखरा । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रममा फलफूल वितरण गरियो । आश्रममा आकाशलाई छानो बनाएर कठिन परिस्थितिमा वर्षौँदेखि सडकमा बस्दै आएका मनोरोगी र सेवकसेविका गरी कूल ९६ जनाले आश्रय लिँदै आएका छन् ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सो आश्रममा आश्रितलाई फलफूल वितरण गर्दै नेपालमा अब कोही पनि मानिस भोकै र अनाथ हुनुपर्ने अवस्था नरहने व्यवस्था संविधानमै रहेको बताए ।

उनले परिवारबाट अपहेलित वा पीडित भई तथा छिन्नभिन्न भएका व्यक्तिको सामाजिक उत्तरदायित्व राज्यले लिनुपर्नेमा जोड दिए । मानव सेवा आश्रमका अध्यक्ष होमनाथ शर्माले मुलुकको विभिन्न स्थानमा सञ्चालित आश्रमले हाल ८०० भन्दा बढी मानिसलाई सेवा प्रदान गरिरहेको जानकारी दिए ।

उनले सडकमा बेवारिसे अवस्थामा भेटिएका त्यस्ता किसिमका मानिसको उद्धार गरी धेरैलाई पारिवारिक पुनर्मिलनसमेत गराइएको बताउँदै यस कार्यमा तीन वटै सरकार जिम्मेवार हुनुपर्ने विचार राखे । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० स्थित विष्णुकुमारी गुरुङले बुबाको स्मृतिमा उक्त आश्रमलाई रु नौ हजार नगद प्रदान गरेका थिए ।