१० श्रावण २०८३, आईतवार
,
Latest
नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल



अ+ अ-

काठमाडाैँ । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पाइएको छ । वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

सौराहा, पटिहानी, जगत्पुर, मेघौलीलगायत प्रमुख पर्यटकीय क्षेत्रमा विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढेको व्यवसायीहरूले बताएका छन् । आन्तरिक पर्यटकसँगै चिनियाँ र भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा पनि बढेको उनीहरूको कथन छ । क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव महेश खनालका अनुसार वर्षायाममा सामान्यतया पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटकको हिस्सा करिब ३० प्रतिशत रहने गरे पनि यस वर्ष समग्र होटलको अकुपेन्सी करिब ५० प्रतिशत पुगेको छ ।

उहाँका अनुसार सातामा दुई दिन बिदा लागू भएपछि गत वर्षको यही अवधिको तुलनामा आन्तरिक पर्यटक करिब २५ प्रतिशतले बढेका छन् । विद्यालय तथा कलेजमा समेत बिदा परेकाले आन्तरिक पर्यटन थप चलायमान भएको उहाँले बताउनुभयो । भारतीय पर्यटकको सङ्ख्या पनि बढ्दो क्रममा रहेको उहाँले जानकारी दिनुभयो । सडक पूर्वाधारका कारण अपेक्षाअनुसार पर्यटक भित्रिन नसकेको उल्लेख गर्दै आउन चाहेका केही आन्तरिक तथा विदेशी पर्यटक अन्य गन्तव्यतर्फ गएको उहाँको भनाइ छ । पोखरालगायत पहाडी गन्तव्यमा भारतीय पर्यटकको आगमन उल्लेख्य रहेको उहाँले बताउनुभयो ।

केही वर्षअघिसम्म वर्षायाममा सौराहाका कतिपय होटल बन्द हुने अवस्था रहे पनि पछिल्ला वर्षमा होटल व्यवसाय विस्तार भएसँगै वर्षायामलाई लक्षित गरी बजार प्रवद्र्धनसमेत गर्न थालिएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका पूर्वअध्यक्ष तथा होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेले सातामा दुई दिनको बिदाले पर्यटन क्षेत्र प्रत्यक्ष रूपमा लाभान्वित भएको बताउनुभयो । उहाँका अनुसार दुई दिनमध्ये एक दिन पर्यटकको चाप कम भए पनि अर्को दिन उल्लेख्य वृद्धि हुने गरेको छ । केही दिनअघि भारतको कोलकाता भ्रमणका क्रममा त्यहाँका पर्यटन व्यवसायीले नेपाललाई यस वर्ष आकर्षक गन्तव्यका रूपमा लिन थालेको जानकारी दिएका उहाँले बताउनुभयो ।

भारतीय सरकारले विदेशी मुद्रा सञ्चिति बढाउने नीति अवलम्बन गरेको, मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्य गन्तव्यप्रति आकर्षण घटेको तथा थाइल्यान्डले भिसा प्रक्रियामा कडाइ गरेकाले भारतीय पर्यटकले नेपाल रोज्न थालेका उहाँको विश्लेषण छ । यसको प्रभाव सौराहामा पनि परेको उहाँले बताउनुभयो । सडकलगायत भौतिक पूर्वाधार भएमा अझ धेरै पर्यटक आकर्षित हुने उहाँको ठम्म्याइ छ । क्षेत्रीय होटल सङ्घ चितवनका पूर्वअध्यक्ष दीपक भट्टराईले पनि दुईदिने बिदाका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष पर्यटक बढेका बताउनुभयो । दुई दिन बिदा हुँदो आन्तरिक पर्यटकको आगमन बढेको उहाँको अनुभव छ ।

दुईदिने सार्वजनिक बिदाको प्रभाव जिल्लाका अन्य पर्यटकीय गन्तव्यमा पनि परेको छ । पटिहानीस्थित होटल जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले गत वर्षको तुलनामा यस वर्ष पर्यटक बढेका र त्यसको प्रमुख कारण दुईदिने बिदा भएको बताउनुभयो । सौराहामा हाल १४१ होटल सञ्चालनमा छन् । पश्चिम चितवनका पटिहानी, जगतपुर र मेघौलीमा पनि सुविधासम्पन्न होटल छन् । यिनको दैनिक १० हजार पर्यटकलाई सेवा गर्नसक्ने क्षमता छ । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु हेर्न जीप सफारी, हात्ती सफारी, डुङ्गा सयर गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । रासस