४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ

विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति

विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति
अ+ अ-

मानव जीवन केवल व्यक्तिगत इच्छा, आकांक्षा र उपलब्धिको यात्रा मात्र होइन; यो प्रकृतिले निर्माण गरेको एउटा निरन्तर जीवनचक्र पनि हो। जन्म, हुर्काइ, प्रेम, सम्बन्ध, परिवार र सन्तान हुँदै एक पुस्ताबाट अर्को पुस्तामा जीवनको निरन्तरता कायम रहन्छ। मानिसले आफ्नो जीवनशैली, सोच र सामाजिक संरचना परिवर्तन गर्दै लगे पनि प्रकृतिका केही आधारभूत नियम भने उस्तै रहन्छन्। त्यसमध्ये विवाह र सन्तान उत्पत्तिलाई पनि मानव जीवनको एउटा महत्वपूर्ण पक्षका रूपमा हेर्न सकिन्छ।

हाम्रो नेपाली समाजमा विवाहलाई अत्यन्तै ठूलो र गहिरो महत्वका साथ हेरिन्छ। जीवनभर साथ दिने जीवनसाथीको खोजीमा हामी धेरै आशावादी, महत्वाकांक्षी र कहिलेकाहीँ अवास्तविकसमेत बन्न पुग्छौँ। यही अत्यधिक अपेक्षा र कल्पनाले गर्दा कतिपय मानिसले वास्तविक जीवनभन्दा परको ‘राजकुमार वा राजकुमारी’ को खोजीमा आफ्नो अमूल्य समय खर्च गरिरहेका हुन्छन्। उमेर क्रमशः ढल्किँदै जान्छ र पछि गएर त्यही निर्णयप्रति पश्चात्ताप तथा थकथकी हुन थाल्छ।

तर यथार्थ के हो भने, न त विवाहप्रतिको अत्यधिक उत्साह र अवास्तविक अपेक्षा नै सही हो, न त जीवनको उत्तरार्धमा हुने पश्चात्ताप र पछुतो नै उचित हो। जीवनलाई अत्यधिक आदर्शवादी कल्पनामा बाँध्नु र त्यसैको खोजीमा प्राकृतिक तथा सामाजिक जीवनका अवसरहरू गुमाउनु दुवै पक्षबाट सोच्नुपर्ने विषय हुन्।

प्रकृतिको आफ्नै एउटा निरन्तर चक्र छ। सम्पूर्ण प्राणी जगत्मा एउटा पुस्ताबाट अर्को पुस्तामा जीवनको निरन्तरता कायम रहन्छ। मानव जातिमा पनि विवाह, परिवार र सन्तान जन्माउने प्रक्रियाले यही जीवनचक्रलाई निरन्तरता दिन्छ। त्यसैले विवाहलाई केवल सामाजिक परम्परा, मनोरञ्जन, व्यक्तिगत आवश्यकता वा शारीरिक सम्बन्धको माध्यमका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। यो मानव जीवनको सामाजिक, भावनात्मक र जैविक निरन्तरतासँग जोडिएको विषय पनि हो।

समस्या यहाँनेर देखिन्छ कि, हामी केटा होऔँ वा केटी, ‘दुःख जति म आफैँ भोग्छु, पहिले आर्थिक रूपमा स्थापित हुन्छु र त्यसपछि विवाह गरेर ल्याउने वा जाने व्यक्तिले सुख मात्र पाओस्’ भन्ने सोच राख्न थाल्छौँ। आर्थिक स्थायित्व, जिम्मेवारी र सुरक्षित भविष्यको चाहना स्वाभाविक हो। तर जीवन पूर्ण रूपमा व्यवस्थित भएपछि मात्र विवाह गर्ने सोच राख्दा कहिलेकाहीँ समय नै हातबाट फुत्किन सक्छ। जीवनमा सबै कुरा कहिल्यै पूर्ण रूपमा तयार हुँदैनन्; धेरै कुरा सँगसँगै निर्माण हुँदै जाने प्रक्रिया हुन्।

यही अत्यधिक सोच र पूर्णताको खोजीका कारण कतिपय मानिसले विवाहका लागि उपयुक्त समय गुमाइरहेका छन्। कतिपयको विवाह नै हुन सक्दैन। उमेरमा विवाह नहुनुलाई समाजमा ‘महान त्याग’, परिवारप्रतिको समर्पण वा आदर्शको आवरणले जति नै ढाकछोप गरे पनि, जीवनको कुनै मोडमा ‘मेरो जीवनचक्र अधुरै रह्यो कि?’ भन्ने प्रश्नले मानिसलाई भित्रभित्रै दुःखी बनाउन सक्छ।

अर्काको जीवनसँग आफ्नो जीवन तुलना गर्ने क्रममा प्रकृतिले दिएको अवसर र जिम्मेवारीलाई बेवास्ता गर्दा क्षणिक रूपमा आफूलाई सान्त्वना दिन सकिएला। त्यागको एउटा काल्पनिक पदक आफैँले आफैँलाई भिराएर चित्त बुझाउन पनि सकिएला। तर यदि संसारका सबै मानिसले यही बाटो रोजे भने मानव जीवनको निरन्तरता कसरी कायम रहला? यहाँको आशय धेरै सन्तान जन्माएर जनसङ्ख्या वृद्धि गर्नुपर्छ भन्ने होइन। बरु जिम्मेवार र योजनाबद्ध रूपमा एउटा परिवारले कम्तीमा एक सन्तान जन्माउँदा पनि पुस्तान्तरण र जनसङ्ख्याको सन्तुलनमा योगदान पुग्न सक्छ भन्ने विचार हो।

तर विवाह र सन्तान उत्पत्तिलाई केवल ‘अनिवार्य’ भनेर प्रस्तुत गर्दा व्यक्तिगत स्वतन्त्रता, परिस्थितिजन्य विविधता र जीवनका फरक प्राथमिकतालाई पनि बेवास्ता गर्नु हुँदैन। विवाह गर्ने वा नगर्ने, सन्तान जन्माउने वा नजन्माउने निर्णय प्रत्येक व्यक्तिको व्यक्तिगत अधिकार र जिम्मेवारीसँग पनि जोडिएको हुन्छ। त्यसैले यो विषयलाई सामाजिक दबाबका रूपमा होइन, जीवन, प्रकृति, परिवार र व्यक्तिगत छनोटबीचको सन्तुलनका रूपमा बुझ्नु आवश्यक छ।

आज मानव जीवनमा अप्राकृतिक जीवनशैली र उपभोगवादी सोच यति धेरै हाबी हुँदै गएको छ कि मानव जाति प्रकृतिसँगको सन्तुलनबाट क्रमशः टाढिँदै गएको देखिन्छ। पृथ्वीको तापक्रम बढिरहेको छ, वातावरणीय संकट गहिरिँदै गएको छ र मानवीय संवेदनासमेत कमजोर हुँदै गएको अनुभूति हुन्छ। मानिसले प्रकृतिमाथि विजय प्राप्त गर्न खोजिरहेको भए पनि अन्ततः प्रकृतिसँगको असन्तुलनकै परिणाम उसले भोगिरहेको छ।

त्यसैले अहिलेको आवश्यकता प्रकृतिसँग पौँठेजोरी खेल्नु होइन, प्रकृतिको नियम र मानव जीवनका आधारभूत आवश्यकतालाई विवेकपूर्ण ढङ्गले बुझ्नु हो। विवाहलाई केवल सामाजिक दबाबको विषय बनाउनु पनि उचित होइन र अवास्तविक अपेक्षा, अत्यधिक महत्वाकांक्षा वा पूर्णताको खोजीका कारण जीवनका स्वाभाविक अवसरहरूलाई सधैँ पछाडि धकेलिरहनु पनि उचित नहुन सक्छ।

अन्ततः जीवन भनेको पूर्णता खोज्दै बिताउने यात्रा मात्र होइन; यो अपूर्णताबीच पनि सम्बन्ध निर्माण गर्दै, जिम्मेवारी बहन गर्दै र आउने पुस्ताका लागि जीवनको निरन्तरता सुनिश्चित गर्दै अघि बढ्ने प्रक्रिया हो। विवाह र सन्तान उत्पत्तिका विषयमा निर्णय गर्दा व्यक्तिगत स्वतन्त्रता, आर्थिक अवस्था, मानसिक तयारी र सामाजिक जिम्मेवारी सबैलाई सन्तुलित रूपमा हेर्नुपर्छ। प्रकृतिको नियमलाई बुझ्नु र त्यससँग सामञ्जस्य कायम गर्नु नै मानव जीवनको दीर्घकालीन कल्याणतर्फको एउटा महत्वपूर्ण कदम हुन सक्छ।

(हाल पोर्तुगलमा रहनुभएका अधिकारी पेशाले स्वास्थय कर्मी हुुन्)