१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री डा. तिमिल्सिना

कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री डा. तिमिल्सिना
अ अ+ अ-

काठमाडौँ ।  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कमजोर सञ्चार माध्यमले सरकार र सार्वजनिक निकायलाई प्रभावकारी ढङ्गले प्रश्न गर्न नसक्ने तथा समाजप्रति आफ्नो उत्तरदायित्वसमेत पूरा गर्न नसक्ने भएकाले सञ्चार क्षेत्रलाई व्यावसायिक, जिम्मेवार र सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयमा आज अनलाइन टिभी पत्रकार सङ्घ, नेपालसँग भएको छलफलमा सञ्चारमन्त्री तिमिल्सिनाले स्वतन्त्र, उत्तरदायी र विश्वसनीय पत्रकारिताले मात्रै सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन सक्ने उल्लेख गर्दै सरकार नियन्त्रणमुखी पत्रकारितामा विश्वास नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै सरकारले सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा सहजीकरण गर्ने नीति लिएको बताउनुभयो । तर विद्यमान ऐन, कानुन, विधि–विधान र पत्रकार आचारसंहिताभन्दा बाहिर गएर सञ्चालित हुने सञ्चार माध्यममाथि भने कानुनअनुसार कडाइका साथ कारबाही गरिने उहाँको स्पष्ट भनाइ थियो ।

“गैरजिम्मेवार सामग्री, गालीबेइज्जती, अश्लील तथा भ्रामक सामग्री प्रकाशन तथा प्रसारण, गोपनीयताको हक उल्लङ्घन, गलत नियतका साथ सूचना सम्प्रेषण जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न नियामक निकायलाई अझ प्रभावकारी बनाइनेछ,” सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो ।

उहाँले पत्रकारिता आफैंमा ठूलो सामाजिक उत्तरदायित्व बोकेको क्षेत्र भएकाले पत्रकारहरूले सत्य, तथ्य र सार्वजनिक हितलाई केन्द्रमा राखेर जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्र सुधार भए लोकतन्त्र बलियो हुने र त्यसबाट अन्ततः राष्ट्रले लाभ लिन सक्ने उहाँको भनाइ थियो ।

सञ्चारमन्त्री तिमिल्सिनाले पछिल्ला वर्षमा अनलाइन पत्रकारिताको तीव्र विस्तारले सूचना प्रवाहलाई सहज र प्रभावकारी बनाएको भए पनि यही क्षेत्रमा सबैभन्दा बढी विकृति, अव्यवस्था र गैरव्यावसायिक अभ्यास देखिएको उल्लेख गर्नुभयो । त्यसैले सञ्चार माध्यममा पत्रकार आचारसंहिता पूर्ण रूपमा लागू गराउने, स्वनियमनको संस्कृतिलाई संस्थागत गर्ने तथा जिम्मेवार पत्रकारिताको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

हजारौँ संख्यामा कमजोर र गैरजिम्मेवार सञ्चार माध्यम रहनुभन्दा सीमित सङ्ख्यामा भए पनि व्यावसायिक, विश्वसनीय र प्रभावकारी सञ्चार संस्था हुनु मुलुकका लागि बढी लाभदायी हुने सञ्चारमन्त्री तिमिल्सिनाले बताउनुभयो । गुणस्तरीय पत्रकारिता र दिगो व्यवसायिकताको विकास नै सञ्चार क्षेत्रको भविष्य भएको उहाँको भनाइ थियो ।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले डिजिटल साक्षरता अभिवृद्धिका लागि राष्ट्रियस्तरमा विभिन्न कार्यक्रम अघि बढाउन लागेको बताउनुहुँदै प्रविधिको विकाससँगै आमनागरिकलाई सही र गलत सूचनाबीच फरक छुट्याउन सक्ने क्षमता विकास गर्नु पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयकको मस्यौदा छिट्टै सार्वजनिक गरी सरोकारवालासँग सुझाव लिइने पनि सञ्चारमन्त्री तिमिल्सिनाले बताउनुभयोे । अहिले सञ्चार क्षेत्रमा देखिएका समस्या, चुनौती र सुधारका आवश्यकतालाई ती विधेयकमार्फत सम्बोधन गरिने उहाँको भनाइ थियो ।

दर्ताबिनै सञ्चालन भइरहेका सञ्चार माध्यमलाई तत्काल कानुनी प्रक्रियाअनुसार दर्ता हुने व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न मन्त्रालयले यसअघि नै सूचना तथा प्रशारण विभागलाई निर्देशन दिइसकेको छ । तोकिएको समयभित्र दर्ता हुन नआउने सञ्चार माध्यमलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भनिएको छ ।

प्रेस काउन्सिल नेपालसँग पनि सञ्चार माध्यमको प्रभावकारी अनुगमन, आचारसंहिता कार्यान्वयन तथा नियामकीय व्यवस्था सुदृढ गर्ने विषयमा मन्त्रालयले निरन्तर छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

छलफलमा अनलाइन टिभी पत्रकार सङ्घ, नेपालले अनलाइनमा आधारित मल्टिमिडिया पत्रकारितालाई स्पष्ट कानुनी आधारसहित व्यवस्थित गर्नुपर्ने माग राखेको थियो । सङ्घले इन्टरनेटमा सञ्चालन हुने अनलाइन टेलिभिजनलाई व्यवस्थित गर्न सूचीकृत गर्ने व्यवस्था लागू गर्न, कम्पनीमार्फत सञ्चालित अनलाइन टिभीलाई प्रेस काउन्सिलमा अभिलेखीकरण गर्न, डिजिटल साक्षरतासम्बन्धी राष्ट्रिय अभियान सञ्चालन गर्न तथा सञ्चार माध्यमका लागि कल्याणकारी कोष स्थापना गर्न सरकारसँग आग्रह गरेको छ ।

त्यसैगरी पत्रकार र ‘कन्टेन्ट क्रियटर’बीच स्पष्ट कानुनी विभाजन गर्न, पत्रकारका लागि लाइसेन्स प्रणाली कार्यान्वयन गर्न, पत्रकारको सुरक्षा सुनिश्चित गर्न, बीमासम्बन्धी व्यवस्थाको मागसमेत सङ्घले राखेको छ ।

सङ्घका प्रतिनिधिहरूले नेपालमा अनलाइनमा आधारित मल्टिमिडिया पत्रकारिता नयाँ मूलधारको सञ्चार माध्यमका रूपमा तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा यसलाई राज्यका सम्बन्धित निकायको स्पष्ट क्षेत्राधिकारभित्र ल्याई व्यवस्थित नियमन, उत्तरदायित्व र व्यावसायिकताको आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।