६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै



अ+ अ-

नेपालगञ्ज। बाँकेको दुर्गम मानिने र स्वास्थ्य सेवाको न्यून पहुँच रहेको नरैनापुर गाउँपालिकामा बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको छ ।

केही समयअघिसम्म घरमै सुत्केरी गराउने महिला अहिले गाउँमै स्थापना गरिएका बर्थिङ सेन्टरमा पुगेर सुत्केरी सेवा लिन थालेको गाउँपालिकाले जनाएको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले केही वर्षपहिलेसम्म नरैनापुरका अधिकांश महिलाले घरमै सुत्केरी गराउँदै आएकोमा अस्पताल जानुपर्दा सीमापारि भारतका अस्पताल वा नेपालगञ्जस्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

उहाँले गणतन्त्र स्थापनापछि दुर्गम र पिछडिएको नरैनापुरमा कालोपत्रे सडक र विद्युत्सँगै स्वास्थ्य सेवाको पहुँच पनि बढेर बर्थिङ सेन्टरहरू सञ्चालन गरिएपछि महिला ती सेन्टरमा पुग्न थालेको उल्लेख गर्नुभयो ।

एम्बुलेन्ससमेत नरहेको सो पालिकामा अहिले विभिन्न वडामा स्वास्थ्य केन्द्र तथा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन् । “कुनै बेला प्रसूति सेवाका लागि करिब ५० किलोमिटर टाढा नेपालगञ्जका अस्पताल पुग्नुपर्ने बाध्यता थियो तर अहिले त वडावडामै सञ्चालन गरिएका बर्थिङ सेन्टरमा सुत्केरी सेवा उपलब्ध छ”, उहाँले भन्नुभयो ।

नरैनापुर गाउँपालिकामा सञ्चालनमा ल्याइएका बर्थिङ सेन्टरमार्फत चालु आर्थिक वर्ष २०८२/०८३ मा एक हजार १५१ जना महिलाले सुरक्षित सुत्केरी सेवा पाएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा एक हजार १२३ जना महिलाले सुरक्षित सुत्केरी सेवा लिएकोमा चालु आर्थिक वर्षमा सो सङ्ख्यामा वृद्धि भएको छ ।

स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले घरमै अधिकांश सुत्केरी गराउने र अस्पताल जान नमान्नेहरूले पछिल्लो समय धमाधम बर्थिङ सेन्टरमा पुगेर सेवा लिन थालेको बताउनुभयो । उहाँले नरैनापुरको वडा नम्बर १ देखि ६ सम्मका छ वटा बर्थिङ सेन्टरमा चौबीसै घण्टा सञ्चालन भइरहेको प्रसूति सेवाबाट सो क्षेत्रका महिला लाभान्वित भइरहेको जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख शाहका अनुसार प्रशिक्षित जनशक्ति र निःशुल्क एम्बुलेन्स सेवामार्फत सुरक्षित सुत्केरी सेवा दिइँदै आएको छ । उहाँले तालिमप्राप्त जनशक्तिबाट चौबीसै घण्टा प्रसूति सेवा दिएको उल्लेख गर्दै बर्थिङ सेन्टरसम्म ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको बताउनुभयो ।

नरैनापुरमा चालु आवमा वडा नम्बर १ मा १८६, वडा नम्बर २ मा १७४, वडा नम्बर ३ मा १०१, वडा नम्बर ४ मा २५४, वडा नम्बर ५ मा २८६ र वडा नम्बर ६ मा १५३ जना महिलाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ । रासस