अस्टिन/ टेक्सास। करिब एक वर्षदेखि दुई समूहमा विभाजित रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको १५औँ वार्षिक साधारण सभा एकताको घोषणासहित सुरु भए पनि कुनै ठोस निष्कर्षबिना सम्पन्न भएको छ।
गत जुलाई १८ मा टेक्सासको अस्टिनमा आयोजित साधारण सभाको उद्घाटन दुई समूहका अध्यक्षद्वय सत्येन्द्र साह र विकास उप्रेतीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गर्दै गरेका थिए।
उद्घाटनअघि दुवै पक्षबीच लामो छलफलपछि जुलाई १६ मा १६ बुँदे सहमति प्रस्ताव तयार पारिएको थियो, जसमा दुवै अध्यक्ष र साक्षीहरूको हस्ताक्षर रहेको जनाइएको थियो।
उक्त प्रस्तावको ११ नम्बर बुँदामा दुवै अध्यक्षको हस्ताक्षरपछि सम्बन्धित कार्यसमितिबाट अनुमोदन गराई वैधानिक प्रक्रियाका लागि विधान समितिमार्फत साधारण सभामा प्रस्तुत गर्ने व्यवस्था उल्लेख गरिएको थियो।
जुलाई १९ मा भएको बन्द सत्रमा सोही सहमति प्रस्तावमाथि छलफल हुँदा १६ बुँदामध्ये १४ बुँदामा प्रतिनिधिहरूले चर्को विरोध जनाएका थिए। प्रस्तावको विरोध हुने अनुमानका बीच १२ नम्बर बुँदामा सहमतिको अवज्ञा, उल्लङ्घन वा कार्यान्वयनमा अवरोध गर्ने सदस्यको पद संयुक्त कार्यसमितिको निर्णयअनुसार स्वतः खारेज हुने व्यवस्था पनि समावेश गरिएको थियो।
सहमति प्रस्तावको पहिलो बुँदामा दुवै कार्यसमितिले एकअर्काको अस्तित्व र वैधानिकता स्वीकार गर्ने तथा विरोधाभासी गतिविधि, अभिव्यक्ति र प्रचारप्रसार नगर्ने उल्लेख थियो। तर बन्द सत्रमा प्रस्ताव अस्वीकार भएपछि दुवै अध्यक्षले अघि सारेको एकताको प्रयास सफल हुन सकेन।
साधारण सभा कुनै साझा निष्कर्षमा नपुगी टुंगिएपछि एनआरएनए अमेरिकामा एकता प्रयास तत्कालका लागि असफल भएको आकलन गरिएको छ। समाचार तयार पार्दासम्म दुवै समितिले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।
यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा एनआरएनए अमेरिकाका उपाध्यक्ष सुरेन्द्र लौडारीले घटनाबारे छिट्टै आधिकारिक प्रेस विज्ञप्ति सार्वजनिक गरिने जानकारी दिएका छन्।











