काठमाडाैँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘प्रि–आईपीओ’का नाममा अवैध कारोबार गर्ने कम्पनीहरुमाथी कारबाही हुने बताउनुभएको छ ।
बुधवार अर्थ समितिको बैठकमा ‘प्रि–आईपीओ’का सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले त्यस्तो गतिविधिमा संलग्न कम्पनी वा व्यक्तिमाथि कारबाही गर्ने बताउनुभएको हो । राज्यले अवैध कारोबारलाई वैधानिकता दिन नसक्ने उहाँको भनाई छ । अध्यक्ष भट्टले योग्य कम्पनीलाई पुँजी बजारमार्फत वित्तीय पहुँच विस्तार गर्न बोर्डले विभिन्न योजना अघि बढाएको जानकारी दिनुभयो । स्टार्टअपदेखि मध्यम तथा अन्य योग्य उद्योगलाई पुँजी बजारमा प्रवेश गराउने व्यवस्था विकास भइरहेको उहाँको भनाई छ ।
उहाँकाअनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आउने कम्पनीहरूले उच्च पारदर्शिता, कडा मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको सुशासन पूरा गर्नुपर्नेछ । उहाँले सर्वसाधारण लगानीकर्ताको हित संरक्षणका लागि मूल्य निर्धारण प्रक्रियालाई पनि प्रतिस्पर्धात्मक र पारदर्शी बनाइने उहाँले बताउनु भयो । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत संस्थागत लगानीकर्ताको सहभागिता बढाएर मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
पुँजी बजारलाई केवल सेयर कारोबारमा सीमित नराखी ऋणपत्र, डेरिभेटिभ उपकरण तथा कमोडिटी फ्युचर्सतर्फ पनि विस्तार गर्ने तयारी पनि भइरहेको उहाँले बताउनु भयो ।











