९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने



अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको विचार र सिद्धान्त सामाजिक लोकतन्त्र भएको स्पष्ट पार्नुभएको छ ।

रास्वपा महाधिवेशन अन्तर्गत आज भएको बन्दसत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्दै रास्वपाको सिद्धान्त सामाजिक लोकतन्त्र भएको बताउनु भएको हो ।

प्रतिवेदनमा भनिएको छ ‘हामी परम्परागत बापन्थी वा दक्षिणपन्थी होइनौं र जानिबुझी त्यो राजनीतिक ध्रुवीकरणमा पनि सीमित छैनौं । कुनै पनि कठोर वैचारिक चौघेरालाई होइन, हामी व्यवहारिक, विवेकसम्मत, आवश्यकता र यथार्थतामा आधारित दृष्टिकोणलाई प्राथमिकता दिन्छौं, पुराना वैचारिक ढाँचाहरुले मानव समाजलाई दिएको ऐतिहासिक योगदान, अनुभव र सकारात्मक अभ्यासलाई हामी सम्मान गर्छौं, तर तिनलाई व्यवहारिक उपयोगिता र सामाजिक न्यायको तुलोमा जोख्छौं।’

प्रतिवेदनमा लोकतन्त्रलाई ‘नेतातन्त्रले चपाइरहेको’ र नेतातन्त्रलाई ‘बिचौलियाले नचाइरहेको’ टिप्पणी गर्दै रास्वपाले प्रणाली सुधार, पुन: संरचना र शुद्धीकरणको लक्ष्यसहित राजनीतिक यात्रा सुरु गरेको उल्लेख गरिएको छ।

तस्बिर : चन्द्रकला क्षेत्री/रासस