काठमाडौं: उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तामा शुभकामना आदानप्रदान पश्चात नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण संवाद भएको थियो । उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र रुसी महासंघबीच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रही आएकोप्रति सन्तोष व्यक्त गर्नुभयो । उहाँले यसै वर्ष दुई राष्ट्रबीच कूटनीतिक सम्बन्धको ७०औं वर्ष पूरा हुँदै गरेको प्रसंग उल्लेख गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटूट बन्धनमा आधारित सम्बन्धलाई नेपालले सगौरव स्मरण गर्न चाहेको बताउनुभयो ।
उपराष्ट्रपति यादवले नेपाललाई सोभियत संघ कालदेखि मानव संसाधन विकास, पर्यटन, औद्योगिक तथा यातायात पूर्वाधारका क्षेत्रमा रुसले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो । ‘पछिल्लो समयमा दुई राष्ट्रबीच बढ्दो सांस्कृतिक तथा जनस्तरको आदानप्रदानप्रति नेपालले प्रसन्नता व्यक्त गर्दछ ’ उहाँले भन्नुभयो, ‘ आगामी दिनहरूमा नेपाल–रुस द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिँदै हाम्रो सम्बन्ध अझ सुदृढ हुने विश्वास लिएको छु ।’भेटका क्रममा उपराष्ट्रपति यादवले रुसी महासंघको राष्ट्रिय दिवसको अवसरमा मैत्रीपूर्ण रुसी जनताको सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो ।
महामहिम राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने बताउनुभयो । उहाँले रुस नेपाललाई जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल सरकारबाट अनुरोधसहित सूची प्राप्त भएमा वीरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखाना लगायतका औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालन योग्य बनाउन रुसी पक्ष तयार रहेको समेत बताउनुभयो ।










